अमेरिकी सरकारले नेपाललाई ६ वटा हेलिकोप्टर अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव पठाएको छ । समाचार श्रोतका अनुसार नेपाल सरकारले अमेरिकी सरकारद्धारा गरिएको प्रस्तावको सट्टामा एक ठुलो विमान माग्ने प्रस्ताव अगाडी बढाएको बताइएको छ । अमेरिकी सरकाद्धारा गरिएको सहयोग प्रस्ताव नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउने प्रस्ताव गरेको छ वटा हेलिकप्टरको सट्टा आफ्नो आवश्यकताअनुसार भारी उठान क्षमताका भएको ठुलो एक विमान माग गर्ने तयारी गरेको बताइएको छ ।
अमेरिकाले आफ्नो मिलिटरी फाईनान्सिड कार्यक्रमअन्तर्गत नेपाललाई रोटरी विङ क्षमताका हेलिकप्टर सहयोग गर्ने योजना अघि सारेको थियो। सन् २०२४ अगस्टमा नेपाल भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्रालयका उप–सचिव रिचर्ड आर बर्माले नेपालका लागि १० करोड अमेरिकी डलर अर्थात करिब १५ अर्ब रुपैयाँ बराबरको सहायता गर्ने घोषणा गरेका थिए।

तर हाल नेपालले उक्त प्रस्तावलाई पुनः मूल्यांकन गर्दै आफ्ना प्राथमिकताअनुसार वैकल्पिक सहयोग माग्ने तयारी गरेको सरकारी अधिकारीहरूले जनाएका छन्। अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा छ वटा हेलिकप्टर तथा ट्विन इन्जिन रोटरी विङ विमान उपलब्ध गराउने प्रस्ताव गरिएको थियो। ती विमानहरू विशेष गरी आकस्मिक उद्धार, आगलागी नियन्त्रण, रात्रीकालीन सञ्चालन तथा ड्रोन आधारित आपतकालीन कार्यका लागि उपयोगी हुने उल्लेख गरिएको थियो। तर परराष्ट्र, रक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय र नेपाली सेनाबीच भएको छलफलपछि नेपालले आफ्नो आवश्यकताअनुसार भारी उठान क्षमताका विमान माग गर्ने निर्णयतर्फ अघि बढेको स्रोतले जनाएका छन्।
“हाल हाम्रो प्राथमिकता हेलिकप्टर होइन,” परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, “हामीलाई निर्माण सामग्री—जस्तै स्टिल, कंक्रिट, काठ तथा अन्य भारी सामान—दुर्गम क्षेत्रमा ढुवानी गर्न सकिने भारी उठान क्षमताका विमान आवश्यक छन्।” अधिकारीका अनुसार नेपालले अमेरिकालाई औपचारिक रूपमा आफ्नो आवश्यकताअनुसार वैकल्पिक प्रस्ताव पठाउने तयारी गरेको छ। यसैबीच, नेपाली सेनाका प्रमुख तथा केही मन्त्री र सचिवबीच पछिल्ला हप्तामा छलफल भएको र नेपालले अमेरिकाको प्राथमिकता भित्र रहेर पनि आफ्नो आवश्यकता मिल्ने समाधान खोज्ने प्रयास भइरहेको बताइएको छ।
यस प्रस्ताव परिवर्तनको अर्को कारण हेलिकप्टरहरूको उच्च मर्मत खर्च, इन्धन खर्च, स्पेयर पार्ट्स र तालिम लागत पनि रहेको बताइएको छ। त्यहि सहयोगबाट प्राप्त हेलिकोप्टरको पाईलत तथा मर्मत तालिमसमेत समावेस हुने छ । रक्षा मन्त्रालयका प्रवक्ता मनोज कुमार आचार्यले दिएको जानकारी अनुसार परराष्ट्र मन्त्रालय, नेपाली सेना र अमेरिकी दूतावासबीच पत्राचार भइरहेको मात्र आफूलाई जानकारी रहेको बताएका छन्। यसअघि पनि अमेरिकाले नेपाललाई विभिन्न प्रकारका हेलिकप्टर तथा स्काई ट्रक विमान उपलब्ध गराइसकेको छ, जसले नेपाली सेनाको हवाई क्षमतामा विस्तार गरेको छ। यस सहयोगबाट नेपाली सेनाको क्षमता बृद्धिमा विस्तार हुने बताइएको छ ।




