अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका लागि चीन पुगेका छन्। चीनको राजधानी बेइजिङमा उनलाई उपराष्ट्रपति हान झेङले स्वागत गरे। उनी चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतामध्ये हुन्। यसअघि सन् २०१७ मा ट्रम्प चीन भ्रमणमा जाँदा तल्लो तहका नेताले स्वागत गरेका थिए। यसपटक उच्च तहका नेता स्वागतमा पठाइएकाले चीनले यो भ्रमणलाई विशेष महत्व दिइएको विश्लेषण गरिएको छ।
ह्वाइट हाउसका अनुसार चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङले ट्रम्पको सम्मानमा स्टेट डिनर आयोजना गर्नेछन् । चीनमा यस्तो स्टेट डिनरलाई ठूलो कूटनीतिक सम्मानको रूपमा हेरिन्छ ।

यस्ता कार्यक्रम सामान्यतया बेइजिङको ग्रेट हल अफ द पिपलमा आयोजना गरिन्छ, जहाँ चीनको उच्च नेतृत्वले विदेशी अतिथिको स्वागत गर्छ । यसमा दुवै देशका उच्च अधिकारी, व्यवसायी प्रतिनिधि र विशेष अतिथिहरू सहभागी हुने गर्छन् ।
कूटनीतिक विशेषज्ञहरूका अनुसार कुनै विदेशी नेताको लागि चीनले जति ठूलो औपचारिक स्वागत गर्छ, त्यसलाई सम्बन्धको महत्वको संकेतका रुपमा हेरिन्छ । स्टेट डिनरमार्फत् अमेरिकासँगको सम्बन्धलाई रणनीतिकस्तरमा महत्व दिइरहेको सन्देश चीनले दिन खोजेको कूटनीतिज्ञहरूले बताएका छन्।
ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ को चीन भ्रमणका बेला पनि राष्ट्रपति सीले विशेष स्वागत कार्यक्रम राखेका थिए ।




