अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा शनिबार सुरु भएको छ।

सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता प्रमुख अतिथि डा.नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गरे। सम्मेलनको उद्घाटन गर्दै लम्सालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली भाषी साहित्यकारहरूको अन्तर्राष्ट्रिय संसदका रूपमा रहेका बताए।
नेपालको सिमाना भन्दा बाहिर लेखिने नेपाली साहित्यलाई अलग राखेर नेपाली साहित्य पुरा नहुने लम्सालको भनाइ थियो। उद्घाटन मन्तव्यमा लम्सालले नेपालको सिमाना भन्दा बाहिर रहेका स्रष्टाहरूले लेखिने साहित्यलाई अलग राखेर नेपाली भाषा र साहित्य अधुरो रहने बताए। सम्मेलनमा मदन पुरस्कार विजेता लम्साल, डा. निलम कार्की निहारिका, समालोचक महेश पौडेल र आचार्य राजनलाई सम्मान गरिएको थियो।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा सम्मेलन संयोजक अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले गरेका थिए।
तीन दिनसम्म चल्ने सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका लगायत दर्जन बढी महत्वपूर्ण सेसन तथा छलफलमा विभिन्न साहित्यकार, लेखक, पत्रकारले नेपाली डायस्पोरामा फैलिदो नेपाली साहित्यका विषयमा विमर्श पनि हुँदैछ। सम्मेलन सोमबारसम्म चल्नेछ।





