अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभए त्यसलाई ‘समाप्त’ गरिदिन सक्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफललाई मंगलबार सम्बोधन गर्दै उनले इरानलाई आणविक हतियार बनाउन नदिने बताएका हुन् ।

ट्रम्पले आफूले पद सम्हालेपछि इरानसँग वार्ता गर्दै आणविक कार्यक्रम अन्त्य र आतंकवादलाई समर्थन रोक्ने सर्तमा पूर्ण आर्थिक सहकार्यको प्रस्ताव गरेको तर इरानले अस्वीकार गरेको बताए ।
इरानले व्यावसायिक पानीजहाजमाथिका आक्रमण रोक्ने, आणविक महत्वाकांक्षा त्याग्ने र आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म सबै राष्ट्रले उसलाई पूर्ण आर्थिक रूपमा अलग गर्नुपर्ने उनले बताए ।
‘म इरानलाई आणविक हतियार राख्न दिनेछैनँ,’ उनले भने । सम्झौता भए इरानले पहिलेभन्दा राम्रो देश पुनर्निर्माण गर्न सक्ने तर सम्झौता नभए ‘इस्लामिक गणतन्त्रलाई समाप्त’ गर्ने विकल्प रहेको उनले बताए ।
इरानले अमेरिकामा हुने नोभेम्बरको मध्यावधि निर्वाचनको परिणाम पर्खिरहेको ट्रम्पको दाबी थियो । तर आफू राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नरहेको र मध्यावधि निर्वाचनको परिणामले इरानसम्बन्धी आफ्नो नीतिमा परिवर्तन नल्याउने उनले बताए ।
ट्रम्पले गाजाको युद्धबारे आफ्नो प्रशासनको पहलपछि युद्ध अन्त्य भएको र बाँकी सबै बन्धकलाई जीवित तथा मृत अवस्थामा घर फर्काइएको दाबी गरे । युक्रेन युद्ध पनि अपेक्षा गरिएभन्दा छिटो समाधान हुने उनको भनाइ थियो । रुस र युक्रेन दुवै पक्षसँग आफ्नो प्रशासनले काम गरिरहेको उनले बताए ।
सम्बोधनका क्रममा ट्रम्पले पछिल्लो १२ महिनामा अमेरिकाले आफ्नो सेनामा अहिलेसम्मकै बढी रकम लगानी गरेको दाबी गरे । उनका अनुसार यस कार्यकालमा सैन्य लगानी १.५ ट्रिलियन डलर पुग्नेछ ।
भेनेजुएलासँग अमेरिकाले ६५ अर्ब ब्यारेल तेलसम्बन्धी ‘सबैभन्दा ठूलो’ सम्झौता गरेको पनि ट्रम्पले दाबी गरे । उनका अनुसार यसबाट दुवै देशलाई फाइदा पुग्नेछ र विश्वभर ऊर्जाको लागत घटाउन सहयोग पुग्नेछ ।
क्युबाको कम्युनिस्ट सरकारको आलोचना गर्दै ट्रम्पले त्यहाँ ‘मौलिक परिवर्तन’ आवश्यक रहेको बताए । उनले क्युबालाई ‘असफल राज्य’ भन्दै त्यो सरकार पतन हुने दाबी गरे । ट्रम्पले यी धारणा राखिरहँदा क्युबाली प्रतिनिधिमण्डल सभाकक्षबाट बाहिरिएको थियो ।
ग्रिनल्यान्डका विषयमा ट्रम्पले डेनमार्क र ग्रिनल्यान्डसँग भएको भनिएको सम्झौताले अमेरिकालाई त्यहाँ ठूलो सैन्य उपस्थिति विस्तार गर्ने अवसर दिने बताए । दुई ठूला सैन्य आधार निर्माणले अमेरिका, युरोप र नेटोको सुरक्षा बलियो बनाउने उनको दाबी थियो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को आलोचना गर्दै ट्रम्पले त्यसलाई ‘नियन्त्रणबाहिरको आपराधिक संस्था’ को संज्ञा दिए । अमेरिकाले आईसीसीको अधिकार क्षेत्र स्वीकार नगर्ने बताउँदै उनले सदस्य राष्ट्रलाई पनि उक्त संस्थाबाट बाहिरिन आग्रह गरे ।
कृत्रिम बौद्धिकता (एआई) को विकासमा नियन्त्रण लगाउने प्रयासको पनि ट्रम्पले विरोध गरे । उनले एआईलाई ‘सुपर इन्टेलिजेन्स’ भन्नुपर्ने धारणा राख्दै अमेरिकाले यसको विकासलाई नियन्त्रण गर्नुको सट्टा प्रोत्साहन गर्ने बताए ।





