विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको २३औं संस्करण नेपाली समयअनुसार शुक्रबार बिहानदेखि सुरु हुँदैछ। विश्वकप इतिहासमै पहिलोपटक तीन देशको १६ सहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिनासहित ४८ राष्ट्रको सहभागिता छ।

करिब एक महिना चल्ने विश्वकपमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। छनोट चरणको यात्रा पार गरेर युरोपका १६, एसियाका ९, अफ्रिकाका १०, तीन आयोजक देशसहित उत्तरी अमेरिका, क्यारेबियन र मध्यअमेरिकाका ६, दक्षिण अमेरिकाका ६ र ओसियानाका एक गरी ४८ देशले विश्वकपको २३औं सस्करण खेल्दै छन्।
विश्वकपको उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछ। जहाँ विश्व चर्चित सेलेब्रेटी क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्। उत्तर अमेरिकाका तीन राष्ट्रमा पहिलोपटक हुन लागेको विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ जोडिने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलोपटक तीन फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागिएको हो।
बिहीबार राति मोक्सिकोस्थित मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुन लागेकाले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागिएको हो। विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबलप्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्। मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलअघि विभिन्न चर्चित तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिनेछन्। आयोजक राष्ट्रको प्रतिनिधित्व गर्दै अलेक्जान्द्रो फर्नान्डिजले मेक्सिकोको राष्ट्रिय गान गाउनेछन् भने टाइलाले दक्षिण अफ्रिकाको राष्ट्रगान गाउनेछिन्।
उद्घाटन समारोहमा फिफा विश्वकप २०२६ की विशेषदूत सलमा हायेक पिनाउल्टले समर्थकहरूलाई स्वागत गर्नेछिन्। उनले विश्व फुटबलको यो मञ्चमा फुटबलको एकताको सन्देश प्रवाह गर्नेछिन्। त्यसपछि रयान कास्त्रो र जे बाल्विनले आफ्नो सांगीतिक प्रस्तुति पस्किने छन्। उनीहरूसँगै साकिरा, जो बेलिन्डा, बनाए राय, ड्यानी ओसन, लिला डाउन्स, लस एञ्जल्स, अजुरेस, मानालगायतले मेक्सिको सिटी रंगशालामा धुम मच्चाउने छन्। मेक्सिको सिटीको उद्घाटन समारोहमा फुटबल, संगीत र सांस्कृतिक उत्सवको जोजोल्यमान हुने विश्वास गरिएको छ।यस्तै शुक्रबार बिहान अमेरिकाको लस एन्जलसमा उद्घाटन समारोह हुनेछ। जहाँ क्याटी पेरी, फुचुरे, अनित्ता, लिसा, रेमा र टाइलाले प्रस्तुत दिनेछन्। ९० मिनेटको उद्घाटन समारोहले विश्वकपको असाधारण स्तरलाई प्रदर्शन गर्ने फिफाले जनाएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यहाँ हुने उद्घाटन समारोहले अमेरिकाको सांस्कृतिक विविधता, विभिन्न आप्रवासी समुदायको जीवन्तता र त्यसले संगीत, मनोरञ्जन र संस्कृतिमा परेको प्रभावलाई उजागर गर्नुका साथै विश्वभरका मानिसलाई एकताबद्ध गर्न संगीतको शक्तिलाई प्रदर्शित गरिने बताए। यस्तै, क्यानडामा शुक्रबार हुने उद्घाटन समारोहमा अलानिस मोरिसेट, एलेस्सिया कारा, एलिएना, जेस्सी रेयेज, माइकल बबल, नोरा फतेही, सन्जोए, भेगेड्रिम र विलियम प्रिन्सले प्रस्तुति दिनेछन्।
विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता FIFA विश्वकपको २३औँ संस्करण सन् २०२६ मा नयाँ स्वरूप, नयाँ संरचना र नयाँ कीर्तिमानसहित आयोजना हुँदैछ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई FIFA ले इतिहासकै सबैभन्दा ठूलो विश्वकपका रूपमा वर्णन गरेको छ।
यस संस्करणको सबैभन्दा ठूलो विशेषता भनेको सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याइनु हो। पहिलो पटक ४८ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्, जसले प्रतियोगितालाई अझ बढी समावेशी र विश्वव्यापी बनाएको छ।
टोली संख्या बढेसँगै खेलहरूको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। कतार विश्वकप २०२२ मा ६४ खेल भएकोमा यसपटक कुल १०४ खेल हुनेछन्। प्रतियोगिता ३९ दिनसम्म सञ्चालन हुनेछ, जुन अघिल्ला संस्करणहरूको तुलनामा लामो अवधि हो।
नयाँ ढाँचाअनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा चार टोली रहनेछन्। समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट आठ तेस्रो स्थानका टोली गरी ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। यसपटक पहिलो पटक ‘राउन्ड अफ ३२’ समावेश गरिएको छ, जसले उपाधिको यात्रालाई अझ चुनौतीपूर्ण बनाएको छ।
विश्वकप इतिहासमै पहिलो पटक तीन देशले संयुक्त रूपमा आयोजना गरिरहेको प्रतियोगिता १६ विभिन्न शहरमा खेलाइँदैछ। उद्घाटन खेल मेक्सिको सिटीको प्रसिद्ध Estadio Azteca मा हुनेछ भने फाइनल जुलाई १९ मा न्युयोर्क–न्युजर्सीस्थित MetLife Stadium मा आयोजना गरिनेछ।
मेक्सिकोले यससँगै विश्वकप तीन पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्ने ऐतिहासिक कीर्तिमान पनि बनाएको छ। यसअघि उसले सन् १९७० र १९८६ मा विश्वकप आयोजना गरिसकेको थियो। FIFA का अध्यक्ष Gianni Infantino ले यो संस्करणलाई “१०४ वटा सुपर बाउल बराबरको विश्वव्यापी उत्सव” भन्दै विश्व फुटबलको नयाँ युगको सुरुआत भएको बताएका छन्।
विशेषज्ञहरूका अनुसार टोली संख्या वृद्धि भएपछि एशिया, अफ्रिका, उत्तर अमेरिका तथा ओसियानियाका राष्ट्रहरूले पहिलेभन्दा बढी अवसर पाएका छन्। यसले विश्व फुटबलमा नयाँ राष्ट्रहरूको उदय र प्रतिस्पर्धात्मकता बढाउने अपेक्षा गरिएको छ। यसरी २३औँ विश्वकप केवल एउटा फुटबल प्रतियोगिता मात्र नभई विश्व खेलकुद इतिहासकै सबैभन्दा ठूलो बहुराष्ट्रिय खेल महोत्सवका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।





