सरकारले गैर आवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा दिने तयारी गरेको छ । यसका निम्ति अध्यागमनसम्बन्धी कानुनलाई संशोधन गरिँदैछ ।
गृह मन्त्रालयले तयार पारेको अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा ४ मा अध्यागमन अधिकृतले भिसा जारी गर्न सक्ने प्रावधान छ । जसअन्तर्गत गैरआवासीय नेपाली भिसा जारी गर्ने विषय समावेश छ । प्रस्ताविक विधेयकअनुसार सरकारले १७ प्रकारका भिसा जारी गर्ने तयारी स्वरुप कानुन संशोधन गरिएको बताइएको छ । हालसम्म विभिन्न १७ प्रकारका भिसाहरु जारी गर्ने गरिएको मा अर्को एक थप गर्दै गैरआवासिय नेपालीका लागि १० बर्षे भिषा गैरआवासिय भिषा दिने उल्लेख छ ।

यसमै गैर आवासीय नेपाली भिसाबारे थप प्रावधान राखिएको छ । विधेयकको दफा ४ को उपदफा २ मा भनिएको छ, ‘नेपालमा बसोबास गर्न आउने देहायका व्यक्ति र निजको परिवारलाई दश वर्षसम्मको निःशुल्क गैर आवासीय नेपाली भिसा उपलब्ध हुनेछ ।’ प्रस्तावित प्रावधान अनुसार गैर आवासीय नेपाली नागरिकता प्राप्त वा गैरआवासीय परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिकले गैर आवासीय नेपाली भिसा प्राप्त गर्न सक्नेछन् ।
यहाँनेर स्पष्टीकरण छ । गैर आवासीय नेपाली नागरिकको सन्दर्भमा स्पष्टीकरण खण्डमा भनिएको छ, ‘यस उपदफाको प्रयोजनको लागि परिवार भन्नाले पति, पत्नी, बुबा, आमा, छोरा छोरी, बाजे बज्यै र सासू वा ससुरा सम्झनु पर्छ ।’ यी लगायतका प्रावधानसहितको विधेयक गृहमन्त्रालयले तयार पारेको हो । गृहमन्त्रालयले विधेयकको मस्यौदा तयार पारेर यसउपर सर्वसाधारणसँग राय माग गरेको छ ।
गृहमन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न र नेपाली नागरिकको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित गर्न प्रचलित ऐनमा आवश्यक संशोधन गर्न लागिएको हो । जसअनुसार कुनै विदेशीलाई नेपालमा प्रवेश वा उपस्थिति हुन दिने वा नदिने वा नेपालबाट प्रस्थान गर्न दिने वा नदिने सम्बन्धी सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित रहनेछ ।
कुनै विदेशी नेपालभित्र प्रवेश गर्न वा नेपालमा बस्न सम्बन्धित मुलुकको राहदानी र नेपालको भिसा लिएको हुनु पर्नेछ । नेपाल सरकारले कुनै मुलुकका नागरिकलाई नेपाल सरकार र त्यस्तो मुलुकबीच भएको सम्झौताका आधारमा नेपालभित्र प्रवेश गर्न वा बस्न दिन सक्नेछ र त्यसरी नेपालभित्र प्रवेश गर्दा वा बस्दा तोकिए बमोजिमका कागजात पेस गर्नु पर्नेछ । साथै, कुनै विदेशीलाई अध्यागमन अधिकृतले नेपालको भिसा दिन वा नेपालभित्र प्रवेश गर्न नेपालको अध्यागमन जाँच बिन्दुमा नै इन्कार गर्न पनि सक्नेछ । राहदानी, भिसा वा यात्रासम्बन्धी कागजात शंकास्पद देखिएको वा वैध नरहेको अवस्थामा यस्तो कार्य गर्न सक्ने प्रावधान राखिएको छ ।





