‘काल’ शब्दले समय बुझाउँछ । यसले मरण/नियति पनि बुझाउँछ । तर, कतै ‘सपनाको कालबाटो’ भनिएको छ भने त्यसले बहुअर्थ राख्दोरहेछ । एउटा अर्थ हो – सपनाको अफ्ठ्यारो उडान । अर्को हो– सपनाको अवसान हुने बाटो ।
सपना जन्मिएन भने अवसानको सम्भावना नै हुँदैन । जब जन्मिन्छ र हुर्किने गलत बाटो समात्छ, त्यहीँ आउँछ सपनाको असामयिक वा अनपेक्षित अन्त्य ।
डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’ उघार्न खोज्दा धेरैलाई लाग्न सक्छ – यसमा सम्भवतः त्यस्तै सपना छन् र तिनले अनेकौं भुमरी, सङ्कट भोगेका छन् । शीर्षकले सङ्केत गरेझैं ती सपनाले कुन बबण्डर भोगे ? झाङ्गिए कि त्यत्तिकै टुङ्गिए ? जवाफ खोज्न किताबको प्रयोगमूलक अन्त्यसम्म पर्खिनुपर्ने रहेछ ।
शीर्षकमा आएको पहिलो शब्द हो ‘डङ्की’ । सामान्यतया ‘डङ्की’ वा ‘डङ्की रुट’ भन्नासाथ प्रवासनका निम्ति अपनाइने अवैध र खतरापूर्ण बाटो बुझिन्छ । त्यो शब्द अमेरिका (संयुक्त राज्य अमेरिका) सँग जोडिएर आयो भने आँखाअघि एउटै तस्बिर आउँछ, त्यो हो दक्षिण र मध्य अमेरिकी देशहरू हुँदै अमेरिका छिर्ने ‘तल्लो बाटो’ ।
नेपाली साहित्यमा तल्लो बाटोका कथा लेखिन थालेको धेरै भएको छैन । कृष्ण धराबासीको ‘तल्लो बाटो’ र पदम विश्वकर्माको ‘पाताल’ केही वर्ष यताकै कृति हुन् । तिनले मूलतः आप्रवसानको त्यही जोखिमपूर्ण बाटो र त्यसले पुर्याउने अझ अफ्ठ्यारो गन्तव्यको कथा बोलेका छन् ।
तर कथा न हुन्, एकदुई कृतिमा ती सकिदैनन् । जति नयाँ कृति; उति नयाँ पात्र, कथ्य, शैली र कथा–शृङ्खला । डा. गिरीको यो आख्यान तल्लो बाटोको पीडा तौलिने नयाँ शैलीको अर्को कथा–शृङ्खला हो । यसमा कथा, त्यसले बोकेका आयाम र आयतन पनि नयाँ छन् ।
सबैभन्दा उल्लेख्य पक्ष– यो किताबमा आख्यानमा यात्रा छ र यात्रामा आख्यान । आधाभन्दा बढी अंश नियात्राजस्तो लाग्छ । इलामको सलकपुरबाट शुरु भएको यात्रा भारत, रुस, स्पेन, सिङ्गापुर, इथियोपिया, ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होण्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिकाको बल्टिमोर आइपुग्छ र उत्कर्ष भेट्छ ।
त्यसैले धेरै ठाउँ लाग्छ – पाठक उपन्यास हैन, यात्रा–संस्मरण पढिरहेका छन् । कथामा नियात्राको स्वाद हाबी छ र त्यो मीठो लाग्छ । नियात्रामा झैं यसमा ठाउँ, परिवेशका विस्तृत र आधिकारिक विवरण आउँछन् । त्यसलाई पात्रहरूका अनुभूतिले अझ सुरुचिपूर्ण बनाएका छन् ।
पाठकहरूले अनुमान गर्न सक्ने अर्को कुरा हो, पर्यावरणीय पारिस्थितिकीसँग उपन्यासकारको गहिरो सम्बन्ध छ । वनजङ्गलका कुरा आउनासाथ उनी प्रकृतिसँग छुट्टै लगाव देखाउँछन्, तिनका विशेषताको बयान गर्छन् । उपन्यासमै कतै लेखिएको छ, ‘जीवनका अफ्ठ्यारा बाटाहरूमा कहिलेकाहीँ प्रकृतिले रुखको जरा बनेर अडेस दिंदोरै’छ ।’
यस्तै कुरा पढ्दै जाँदा लाग्छ, वनजङ्गल र त्यहाँ आश्रित जीवजीवात्माको पनि आख्यान हो यो ।
तर मूलकथा मान्छेकै हो, मान्छेका सपनाको हो । तीन ‘प’ अर्थात् पशुपति, पार्वती र प्राचीको सानो परिवेशबाट उदाएको एउटा सपना उठ्दै, झाङ्गिदै, बग्दै, तैरिंदै थुप्रै देश, मुकाम पुगेको छ र थुप्रै तगारा, ऐठनमा ठोक्किएको छ । ठोक्किदा पीडा हुन्छ, त्यो स्वाभाविक हो । तर, पीडाको आयतन आख्यानभरि फैलिंदै, फिँजारिदै गएको छ र कतै कतै पाठकलाई हल्लाउने गरी झनै हृदयविदारक बनेको छ ।
कथामा कोलम्बिया र पनामाबीच ‘डेरियन ग्याप’ नामको भूभाग आउँछ । ऊष्ण घनाजङ्गल र दलदल । पशुपतिको टोलीलाई त्यो बाटो काट्न सात दिन लाग्छ । अकल्पनीय पीडा र त्रासदीको त्यो यात्रा उपन्यासभरिमै सबैभन्दा कष्टकर छ । पात्रहरूले त्यसलाई ‘नर्कको यात्रा’ भनेका छन् । उपन्यासकारको भाषामा ‘अँध्यारो छाया’ ।
दोस्रो त्रासद घटनास्थलका रूपमा आउँछ मेक्सिकोको रेलको छत । चढ्न पनि सकस, उत्रिन पनि गाह्रो । सङ्कट झुल्किरहन्छन् र हाम्फालेर हातखुट्टा दर्फर्याउनैपर्ने बाध्यता आइरहन्छन् । कसैका घुँडा फुट्छन्, कसैका दाँत भाँचिन्छन् । तैपनि, गन्तव्य भेट्ने निश्चितता हुँदैन ।
तेस्रो त्रासदस्थल हो अमेरिकाभित्रको मरुभूमि । यी त्रासदीका अघि अरुतिरका हत्कडी, वियोग, मन भाँचिने/मुटु पोल्ने सन्दर्भहरूसमेत झिनामसिना लाग्छन् ।
बीचबीचमा सम्बन्ध, आत्मीयताका उज्याला झिल्काझिल्कीहरू पनि आउँछन् । डेरियनग्यापमै भेटिएका भेनेजुयलाका आमाछोरी मारिया र इजाबेलासँगको सहयात्रा, मारिया र पशुपतिबीचको आत्मीयता, उनीहरूको निकटतामाथि अन्य सहयात्रीको छेडछाडले कथालाई वेलावेला रोमाञ्चक मोडमा पुर्याउँछन् ।
त्यसअघि बाटोमै भेटिएका पात्रहरूको एउटा छोटो वार्तालापलाई यहाँ तानौं । एकजनाको सोधाइ छ, ‘तपाईको आधा प्लेट खाना त हाँसिरहेको छ त ?’
अर्कोको जवाफ आउँछ, ‘धेरै मीठो भएर ।’ मूलकथामा यी र यस्ता झिल्काझिल्की कर्कलाको पातको पानीझैं लाग्छन् । देखिन्छन्, तुरुन्तै बिलाउँछन् । केही पात्र बाटैमा हराउँछन् । केहीलाई बाटैमा खाल्डो खनेर पत्करले छोपछाप पार्नुपर्ने भयानक स्थिति आउँछ ।
अनेकौं हण्डरठक्कर र महिनौंको त्रासद यात्रापछि अमेरिका टेक्न पाएका पात्रहरूले आफूले सुनिआएको ‘ड्रिमल्याण्ड’ भेटे त ? कथाले यसको पनि जवाफ खोजेको छ ।
मूल पात्र ‘पस्पते’ले डायरीमा टिपेको केही वर्ष यताकै घटनाक्रम उपन्यासको मूल कथानक हो । त्यसपछि सन् २०३९ सम्म पुगेको पूरक कथा उपन्यासको ‘क्लाइमेक्स’ हो । त्यही बीचमा आउने हुन् ‘बुइनस नोचेस पस्पते’, ‘चिच्याउने एक थुँगा चाहना’, ‘क्याराभान है जी’, ‘बाटोको मद्धिम उज्यालो’, ‘अवैध आगमन, वैध सपना’, ‘शङ्ख र साइरन’ ‘सलकपुरमा झुल्केको स्वप्नभूमि’ जस्ता कथांश ।
उपन्यासको रचनागर्भ केलाउँदै डा. चन्द्र गिरीले भनेका छन्, ‘लेख्दै जाँदा धेरै ठाउँमा आफ्नै जीवनयात्रा र कथासँग मुठभेड गरें । कथा दिल्ली पुग्दा म पनि दिल्ली पुगें । यसअघि ब्राजिलदेखि मेक्सिकोसम्मका भूमिहरूमा म भौंतारिइसकेको थिएँ । कोलम्बियाको पहाड, पनामाको घाँटी, कोस्टारिकाको तट अनि मेक्सिकोको सिमाना भएर मेरा पाइला गुज्रिसकेका थिए ।’
कथा–उत्खनन, अनुसन्धानमा भेटिने यो तहको समर्पण पनि राम्रो कृतिको आधारभूमि हो । लेखक अमेरिकी सरकारको उच्च ओहोदामा कार्यरत वरिष्ठ वैज्ञानिक हुन् । आफ्नो क्षेत्रमा उनी ‘फादर अफ म्याङ्ग्रोभ–म्यापिङ’का रूपमा विख्यात छन् । साहित्यिक कृतिका रूपमा आत्मकथा र नियात्रासङ्ग्रह सार्वजनिक गरिसकेका डा. गिरीको आख्यानमा पहिलो ‘इनिङ’ हो ‘डङ्की, सपनाको कालबाटो’ । यो पदार्पण पहिलो प्रयासमै लोभलाग्दो बनेको छ । म्याड्रिडको एउटा अनपेक्षित धक्काबाट शुरु गर्ने र ‘फ्ल्यासब्याक’मा अमेरिकी सपना हुर्किदै गरेको इलामको कथा जोड्ने प्रयास पाठकलाई तानिरहने एउटा बठ्याइँ हो । यो र यस्तै बठ्याइँले कथावाचनलाई रोचक बनाएका छन् ।
यात्राख्यान (यात्रा र आख्यान) को सघन प्रयोगका कारण पनि यो कृति समकालीन आख्यानहरूभन्दा अलि फरक लाग्न सक्छ । मूल पात्रले नेपालभित्रै अमेरिकी सपना बुन्दै गरेका सन्दर्भहरू कतै कतै आवश्यकताभन्दा अलि बढी नै आएका छन् र अमेरिका भित्रिएपछिका प्रक्रियागत विवरण अपेक्षाभन्दा अलि कम । कथावाचन अझ बढी औपन्यासिक भइदिएको भए हुन्थ्यो भन्ने पनि कतिपय पाठकलाई लाग्न सक्छ । तर, मेरो बुझाइमा प्रयोगधर्मी लेखकले पाठकीय अपेक्षामा मात्रै बाँधिनु हुँदैन । कथालाई बाँध्ने, फुकाउने, बटार्ने, खुम्च्याउने र नयाँ शैलीमा पस्किने लेखकीय स्वतन्त्रताका कुरा हुन् ।
लेखकहरूले साहित्यका परम्परागत सीमा, संरचनामा बस्नैपर्ने बाध्यता पनि हुँदैन । कलम र त्यसलाई दौडाउने बाटो आफैंले निर्धारण गर्ने हो । स्थापित अभ्यासका अवयवहरू भत्काउने र बाहिर निस्कने हिम्मतले कहिलेकाहीँ राम्रै स्याब्बासी पाउँछ । आख्यानकारले त्यस्तै केही नयाँ अभ्यास गरेका छन्, तिनलाई हौस्याउनैपर्छ ।
उपन्यास लेखिसकेपछि लेखक कथाको आधारभूमि इलाम, सलकपुर पुगेका छन् र त्यहाँको सुन्तला चाखेका छन् । तपाईलाई अमेरिकादेखि नेपालसम्मका यस्तै परिवेश चाख्ने रहर छ भने यो उपन्यास निर्धक्क पल्टाउनुभए हुन्छ । त्यहाँ डेरियन–ग्यापको दारुण कथामात्रै होइन, सलकपुरे सुन्तलाको सुगन्ध पनि भेटिनेछ ।
@पेशल पोख्रेलको फेसबुकबाट





