विश्वका ठूला र कुनै समय अत्यन्त आकर्षक मानिएका शहरहरू—लन्डन, पेरिस, न्युयोर्क, सान फ्रान्सिस्को, टोरन्टो, सिड्नी, एम्स्टर्डमजस्ता शहरमा “शहरको आफ्नोपन हराउँदै गएको” भन्ने बहस बढिरहेको छ। यो केवल मानिस शहर छाड्ने विषय होइन, शहर महँगो हुँदै जानु, स्थानीय समुदाय विस्थापित हुनु र शहरको मौलिक चरित्र परिवर्तन हुनु यसको केन्द्रमा छ।

किन ठूला शहरहरूको आकर्षण घट्दैछ ? ठूला शहरमा रोजगारी र अवसर बढे पनि आवासको आपूर्ति त्यसअनुसार बढ्न सकेको छैन। परिणामतः मध्यम वर्गका परिवार शहरको केन्द्रबाट बाहिरिन बाध्य हुन्छन्। शहरमा काम गर्ने मानिस नै शहरमा बस्न नसक्ने अवस्था सिर्जना हुन्छ। भाडा मात्र होइन—खाना, यातायात, स्वास्थ्य, बालबालिकाको शिक्षा, बीमा र करसमेत महँगिँदा उच्च आम्दानी भएका मानिसले पनि “यहाँ बस्नुको मूल्य के हो ?” भनेर सोच्न थालेका छन्।
कुनै शहरमा नयाँ लगानी, पर्यटक र उच्च आय भएका मानिस बढ्दै जाँदा पुराना बासिन्दा बाहिरिनुपर्ने अवस्था आउन सक्छ। यसले शहरको स्थानीय संस्कृति, बोली, पसल, रेस्टुरेन्ट र सामुदायिक सम्बन्ध कमजोर बनाउँछ। केही प्रसिद्ध शहरका ऐतिहासिक क्षेत्रहरू स्थानीय मानिसका लागि भन्दा पर्यटक र लगानीकर्ताका लागि डिजाइन हुन थालेका छन्। स्थानीय किराना पसलको ठाउँमा महँगा ब्रान्ड, स्थानीय रेस्टुरेन्टको ठाउँमा पर्यटकमुखी व्यवसाय र घरको ठाउँमा छोटो अवधिको भाडा आउने प्रवृत्ति बढ्छ।
अपराध वास्तविक रूपमा बढेको होस् वा मानिसमा असुरक्षाको भावना बढेको होस्, यसले शहरको आकर्षणमा ठूलो प्रभाव पार्छ। विशेषगरी चोरी, लागुऔषध, सार्वजनिक स्थानमा हिंसा तथा असामाजिक व्यवहारका दृश्यले परिवार र व्यवसायलाई उपनगरतर्फ धकेल्न सक्छ। ठूला शहरमा दैनिक लामो यात्रा, ट्राफिक जाम, सार्वजनिक यातायातको भीड र पार्किङको समस्या जीवनको गुणस्तरसँग जोडिन्छ। मानिसले “ठूलो शहरको अवसर” भन्दा “शान्त र सहज जीवन” रोज्न थाल्छन्। पहिले कार्यालय नजिकै बस्नुपर्ने मानिस अब हप्तामा केही दिन मात्र कार्यालय जान्छन्। त्यसैले महँगो महानगरमा बस्नुपर्ने आर्थिक कारण कमजोर भएको छ।
पहिले राम्रो जागिरका लागि लन्डन, न्युयोर्क वा सान फ्रान्सिस्को जानुपर्थ्यो। अहिले धेरै काम इन्टरनेटबाट गर्न सकिन्छ। परिणामतः मानिसले कम खर्च हुने शहर वा देश रोज्न सक्छन्। त्यसको प्रभाव स्वरुप मानिसहरु ठुला शहरमा बसेर होईन की राम्रा स्थानमा बसेर ठुला काम गर्न थालेका छन ।
ठूला शहरहरू सधैं आप्रवासनका केन्द्र रहेका छन। यसले अर्थतन्त्र र संस्कृतिलाई समृद्ध बनाएको पनि छ। तर अत्यधिक तीव्र जनसंख्या परिवर्तन हुँदा आवास, विद्यालय, स्वास्थ्य सेवा र पूर्वाधारमा दबाब पर्न सक्छ। त्यसले पुराना र नयाँ दुवै समुदायमा असन्तुष्टि जन्माउन सक्छ।
शहरको “आत्मा” ठूला भवनले होइन, स्थानीय पसल, क्याफे, पुस्तक पसल, पब, बजार, कलाकार र समुदायले बनाउँछन्। जब ती व्यवसाय महँगो भाडाका कारण बन्द हुन्छन्, शहर भौतिक रूपमा उस्तै देखिए पनि उसको मौलिकता हराउँदै जान्छ। उच्च कर, व्यवसाय सञ्चालनको महँगो लागत र जटिल नियमले केही कम्पनी तथा उच्च आय भएका व्यक्तिलाई अर्को राज्य वा देशतर्फ आकर्षित गर्न सक्छ। यसको प्रभाव रोजगारी र स्थानीय अर्थतन्त्रमा पनि पर्न सक्छ।
पहिले ठूलो शहर भन्नासाथ करिअर, प्रतिष्ठा, संस्कृति, स्वतन्त्रता र सफलता सम्झिन्थ्यो। अहिले धेरै मानिसका लागि सफल जीवनको अर्थ बदलिएको छ—ठूलो घर, कम खर्च, प्रकृतिको नजिक, सुरक्षित समुदाय र परिवारसँग बढी समय हुन्थ्यो। लन्डन, न्युयोर्क वा पेरिसजस्ता शहरसँग अझै पनि विश्वस्तरीय विश्वविद्यालय, वित्तीय केन्द्र, कला–संस्कृति, अन्तर्राष्ट्रिय रोजगारी, पर्यटन र राजनीतिक प्रभाव छ। समस्या चाहिँ यस्तो हुन सक्छ कि शहर आर्थिक रूपमा शक्तिशाली हुँदै जाँदा त्यहाँ बस्ने सामान्य मानिसका लागि जीवन कठिन हुँदै जान्छ। “शहर धनी हुँदै जान्छ, तर शहरका मानिस गरिब हुँदै जान्छन् भने शहरको आकर्षण विस्तारै हराउन थाल्छ।”
आगामी दशकमा विश्वका महानगरहरूबीच प्रतिस्पर्धा “कहाँ बढी पैसा कमाउन सकिन्छ” भन्नेमा मात्र हुनेछैन। “कहाँ राम्रो जीवन बाँच्न सकिन्छ ?”
यही परिवर्तनले लन्डन, न्युयोर्क, सान फ्रान्सिस्को, पेरिस, टोरन्टो, सिड्नी लगायतका महानगरको भविष्य निर्धारण गर्न सक्छ।
बढ्दो आप्रवासनको प्रभाव केही शहरमा देखिन्छ, तर “शहरको आकर्षण हराउनुको मुख्य कारण आप्रवासन हो” भन्ने निष्कर्ष तथ्यगत रूपमा धेरै सरल हुन्छ। वास्तविकता अझ जटिल छ। लन्डनको उदाहरण हेर्दा बेलायतमा पछिल्लो वर्ष अन्तर्राष्ट्रिय घटेर १ लाख ७१ हजारमा आएको छ, जबकि २०२३ मा यो ९ लाख ४४ हजारसम्म पुगेको थियो। त्यसैले अहिले लन्डन वा बेलायतका समस्यालाई केवल “बढ्दो आप्रवासन” भनेर व्याख्या गर्नु उचित हुँदैन।
तर आप्रवासनले आवास, सार्वजनिक सेवा, यातायात र शहरको जनसांख्यिक संरचनामा थप दबाब सिर्जना गर्न सक्छ। त्यसैले सही प्रश्न हो—आप्रवासन आफैं समस्या हो कि त्यसलाई व्यवस्थापन गर्न नसक्ने शहरी नीति समस्या हो ? लन्डन, न्युयोर्क, टोरन्टो, सिड्नी, पेरिस र एम्स्टर्डमको विशेषता नै तिनको अन्तर्राष्ट्रिय चरित्र हो। आप्रवासीले नयाँ भाषा, खाना, व्यवसाय, कला र संस्कृति ल्याउँछन्। त्यसैले आप्रवासनले शहरको आकर्षण घटाउने मात्र होइन, बढाउने पनि गर्छ। तर जनसंख्याको परिवर्तन अत्यन्त तीव्र भयो र पुरानो समुदाय विस्थापित हुँदै गयो भने शहरको सामाजिक स्मृति कमजोर हुन सक्छ।





