नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ। सन् १९५६ सेप्टेम्बर १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएका नेपाल र जापानले सन् २०२६ लाई सम्बन्धको सात दशक पूरा भएको विशेष वर्षका रूपमा मनाइरहेका छन्। दुवै देशबीचको सम्बन्ध भने कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा धेरै अघिदेखि रहँदै आएको थियो। जापानी बौद्ध भिक्षु एकाइ कावागुची सन् १८९९ मा तिब्बत जाने क्रममा नेपाल आएका थिए। उनले नेपाल, विशेषगरी लुम्बिनी र बौद्ध सम्पदाबारे जापानमा लेखेर प्रचार गरेका थिए। त्यसपछि सन् १९०२ मा नेपालबाट आठ जना विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि जापान पुगेका थिए। यसलाई नेपाल–जापानबीचको प्रारम्भिक शैक्षिक आदानप्रदानका महत्वपूर्ण घटनामध्ये एक मानिन्छ। सन् २०२२ मा दुई देशले नेपाल–जापान विद्यार्थी आदानप्रदानको १२० वर्ष पूरा भएको अवसरसमेत मनाएका थिए।

१ सेप्टेम्बर १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपाल र जापानबीच राजनीतिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक सहकार्य विस्तार हुँदै गएको छ। नेपालले सन् १९६५ मा टोकियोमा आफ्नो दूतावास स्थापना गरेको थियो भने जापानले काठमाडौंमा सन् १९६० को दशकमा दूतावास स्थापना गरेको हो। जापान अहिले नेपालको लामो समयदेखिको महत्वपूर्ण विकास साझेदारका रूपमा रहेको छ। नेपालको विकास यात्रामा जापानले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, मानव संसाधन विकास तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ।
विशेषगरी जापानी सहयोगले नेपालमा मानव संसाधन विकास र प्राविधिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ। जापानमा अध्ययन तथा तालिमका लागि नेपाली विद्यार्थी, सरकारी कर्मचारी र विभिन्न क्षेत्रका पेशाकर्मी जाने क्रमले पनि दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गरेको छ। नेपालका लागि जापानको महत्व विकास सहयोगमा मात्र सीमित छैन। जापानी प्रविधि, व्यवस्थापन प्रणाली र मानव संसाधन विकासको अनुभव नेपालका लागि महत्वपूर्ण सिकाइको स्रोत बनेको छ।
७०औँ वार्षिकोत्सवकै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सन् २०२६ फेब्रुअरी १ देखि ४ सम्म जापानको औपचारिक भ्रमण गरेका थिए। भ्रमणका क्रममा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले जापानका सम्राट नारुहितो तथा महारानी मासाकोसँग भेट गरेका थिए। राष्ट्रपति पौडेलले जापानकी प्रधानमन्त्री साने ताकाइचीसँग पनि भेटवार्ता गरेका थिए। त्यसैगरी फेब्रुअरी २ मा जापानका विदेश राज्यमन्त्री इवाओ होरीले ७०औँ वार्षिकोत्सवका अवसरमा विशेष स्वागत समारोह आयोजना गरेका थिए। समारोहमा करिब १३० जना सहभागी थिए। राष्ट्रपति पौडेलले नेपालका प्राथमिकताका क्षेत्र—उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी तथा कृषि—मा जापानी लगानी बढाउन आग्रह गरेका थिए। लुम्बिनीको विकासमा जापानले गरेको निरन्तर सहयोगप्रति पनि नेपालले आभार व्यक्त गरेको थियो।
राष्ट्रपति पौडेलसँगको भेटमा जापानी प्रधानमन्त्री ताकाइचीले नेपाल र जापानबीचको सम्बन्धलाई अझ बलियो बनाउने इच्छा व्यक्त गरेकी थिइन्।
जापानले नेपालको राजनीतिक स्थिरता र विकासलाई आफ्नो क्षेत्रीय स्थिरतासँग समेत जोडेर हेरेको छ। जापानले नेपालको लोकतान्त्रिक प्रक्रिया तथा दिगो विकासमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल–जापान सम्बन्धको अर्को विशेष पक्ष पर्वतारोहण हो। सन् १९५६ मा जापानी पर्वतारोही टोलीले विश्वको आठौँ अग्लो हिमाल मनास्लुको पहिलो सफल आरोहण गरेको थियो। यही वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध पनि स्थापना भएको थियो। यस ऐतिहासिक संयोगलाई ७०औँ वार्षिकोत्सवमा विशेष रूपमा स्मरण गरिएको छ। मे २०२६ मा जापानमा आयोजित ‘ कार्यक्रममा जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री टोमोआकी शिमादाले नेपाल–जापान सम्बन्धमा पर्वतारोहण आदानप्रदानले खेलेको भूमिकालाई उल्लेख गरेका थिए।
नेपाल–जापान सम्बन्ध अहिले सरकार–सरकारबीच मात्र सीमित छैन। ठूलो नेपाली समुदाय जापानमा बसोबास गर्छ। नेपालको टोकियोस्थित दूतावासका अनुसार डिसेम्बर २०२४ सम्म जापानमा २ लाख ३३ हजार ४३ नेपाली नागरिक रहेको अनुमान छ। प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली विद्यार्थी उच्च शिक्षा तथा जापानी भाषा अध्ययनका लागि जापान जाने गरेका छन्। यसले नेपाल–जापान सम्बन्धलाई श्रम, शिक्षा, व्यवसाय र जनस्तरीय सम्बन्धको नयाँ आयाम दिएको छ।





