पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गर्ने निर्णय गरेको छ । भारत पाकिस्तानबीच भएको युद्धलाई मध्यस्थता गर्दै शान्ति स्थपना गरेको भन्दै पाकिस्तानले नोबल शान्ति पुरस्कारको लागि सिफारिस गरेको हो । भारत र पाकिस्तानबीच भएको हालैको चारदिने सशस्त्र झडपलाई रोक्न ट्रम्पले खेलेको कूटनीतिक भूमिकालाई आधार मानेर गरेको जनाएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले इस्लामाबाद र नयाँ दिल्ली दुबैसँग सक्रिय कूटनीतिक संवाद गर्दै गम्भीर रूपमा चर्किएको परिस्थितिलाई नियन्त्रण गर्न सफल भूमिका निर्वाह गर्नुभयो। यो हस्तक्षेप उहाँको साँचो शान्तिकर्ता भएको प्रमाण हो।” भन्दै सो पुरस्कारका लागि हकदार भएको बताएका छन । पाकिस्तानले ट्रम्पको हस्तक्षेपलाई निर्णायक मानेको छ भने भारतले भने यो युद्धविराम दुई देशका सेनाबीचको आपसी सहमति अनुसार भएको दाबी गर्दै आएको छ।
नोबेल शान्ति पुरस्कारका विषयमा पाकिस्तान सरकारले आधिकारिक वक्तव्य र सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो प्रस्तावबारे जानकारी दिएको छ । सन् २०२५ को मे महिनामा भारत-पाकिस्तानबीच भएको सैन्य झडपलाई युद्धमा परिणत हुनबाट रोक्न ट्रम्पले मध्यस्थता गरेको पाकिस्तानको ठहर छ । जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना सर्वसाधारणको मृत्यु भएपछि भारतले ‘अपरेशन सिन्दुर’ सुरु गरेको थियो । जवाफमा पाकिस्तानले ‘अपरेशन बुनयान मर्सुस’ सञ्चालन गरेको थियो ।
पाकिस्तानले ट्रम्पको रणनीतिक दृष्टिकोण र असाधारण नेतृत्व क्षमताले युद्धविराम सुनिश्चित गर्नुका साथै आणविक युद्धको खतरा टरेको दाबी गरेको छ । भारतले भने युद्धविराममा ट्रम्पको मध्यस्थता अस्वीकार गर्दै आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुई देशका सैन्य अधिकारीहरूको सिधा संवादमार्फत शान्तिवार्ता भएको’ बताएका छन् । भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार, अपरेशन सिन्दूरपछि कुनै पनि तहमा भारत-अमेरिका व्यापार सम्झौता वा मध्यस्थताका विषयमा कुरा भएको थिए ।
ट्रम्पले हालै वासिङ्टन डीसीमा पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीरसँग भेट गरेका थिए । त्यसपछि उनले ट्रुथ सोसियलमा लेखेका थिए, ‘भारत र पाकिस्तानबीचको युद्ध रोकिदिएको वा अब्राहम सम्झौताजस्ता उपलब्धिका लागि मलाई नोबेल पुरस्कार दिइने छैन… तर जनतालाई सत्य थाह छ र मलाई त्यही काफी छ ।’
पाकिस्तानको प्रस्तावमा नोबेल समितिले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । ट्रम्पले भने विभिन्न कारणले आफूलाई शान्ति पुरस्कार दिइनुपर्ने दाबी गर्दै आएका छन् । भारत-पाकिस्तान तनाव समाधानसँगै कंगो र रवान्डाबीचको विवादमा पनि आफूले मध्यस्थता गर्न लागेको ट्रम्पले शुक्रबार बताएका थिए ।





