• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ईरान आक्रमणमा अमेरिकी संलग्नताको पृष्ठभुमि र अबको बदलिदो शक्ति सन्तुलनमा अमेरिका

  •  खबरमाला संवाददाता
  • २०८२ असार ९, सोमबार ०५:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    आणविक हतियार कार्यक्रम रोक्न अमेरिकाले पनि इरानमाथि हमला गरेको छ। इसराइलले १० दिनअघि गरेको आक्रमणलाई सघाउन अमेरिकाले आइतबार फर्दोसहित तीनवटा इरानी आणविक भट्टीमा प्रहार गरेको हो। मध्यपूर्वको यो युद्ध शृंखलाको सुरूआत सन् २०२३ अक्टोबर ७ मा भएको थियो, जब हमासले इसराइलमाथि हमला गर्‍यो।

    उक्त हमलापछि जे–जस्ता घटनाक्रम विकसित भए, त्यसले मध्यपूर्वको शक्ति सन्तुलनमा ठूलो उथलपुथल ल्याएको छ। मौसम विज्ञानमा ‘बटरफ्लाई इफेक्ट’ भन्ने एउटा सिद्धान्त छ, जसले भन्छ — संसारको एउटा कुनामा पुतलीले पखेटा हल्लाउँदा हावामा पर्ने प्रभावले अर्को ठाउँमा आँधी ल्याउन सक्छ।

    हमासले इसराइलमाथि गरेको हमला पुतलीले पखेटा हल्लाएजस्तो साधारण घटना थिएन। त्यो घटनाले मध्यपूर्वको शक्ति सन्तुलनमा यति धेरै परिवर्तन ल्याउँछ भन्ने हमास, इसराइल वा अरू कसैले पनि सोचेका थिएनन् सायद।  तर त्यही घटनाले मध्यपूर्वमा एकपछि अर्को प्रभाव देखाउँदै गयो। हामी यो स्टोरीमा त्यही प्रभाव केलाउँदै छौं।

    कुरा सुरू गरौं, इरान र इसराइलको दशकौं पुरानो दुश्मनीबाट। तर उनीहरू सधैं एकअर्काका दुश्मन थिएनन्। सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति हुनुअघि यी दुई देशबीच राम्रो सम्बन्ध थियो। त्यति बेला अमेरिकासँग पनि दुवैको राम्रो सम्बन्ध थियो।

    घटनाले त्यति बेला नयाँ मोड लियो, जब अमेरिका र इसराइलसँग राम्रो सम्बन्ध राख्दै आएको शाह पहलवी वंशको शासन अन्त्य गरेर इरानमा इस्लामी कट्टरपन्थीहरूले सत्ता हत्याए।

    इस्लामी कट्टरपन्थीको उदयपछि इरान र इसराइलबीच दुश्मनी सुरू भयो। त्यही दुश्मनीका कारण इरानले इसराइलको अस्तित्व स्वीकार गर्दैन। उसले इसराइललाई ध्वस्त पार्ने प्रण लिएको छ।

    आफ्नो सीमा नजोडिएकाले इरानले इसराइललाई घेराबन्दी गर्न छिमेकी मुलुकहरूमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। यसको निम्ति इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को कुद्स फोर्सले विदेशी समूहहरू परिचालन गर्छ।

    इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई ‘एक्सिस अफ रेसिस्टेन्स’ भनिन्छ। बसर अल–असदले शासन गरेको सिरिया पनि यो मोर्चाबन्दीको हिस्सा थियो।

    यसरी विभिन्न समूह परिचालन गरेर इसराइललाई घेराबन्दी गरे पनि इरान आफैले इसराइलमा प्रहार गर्थेन। इसराइलले पनि बेला बेला इरानी आणविक वैज्ञानिकको हत्या गर्थ्यो, आणविक भट्टीहरूमा नोक्सान पुर्‍याउँथ्यो, विदेशमा रहेका इरानी सैनिकको ज्यान लिन्थ्यो; तर प्रत्यक्ष रूपले इरानी भूमिमा हमला गर्थेन।

    यसरी दशकौंदेखिको छाया–युद्धमा इरानले परिचालन गर्दै आएको हमास समूहले २०२३ अक्टोबरमा इसराइलमाथि हमला गरेपछि भने एकपछि अर्को उथलपुथल सुरू भयो।

    हमासको हमला सुरूमा इरानका लागि अभूतपूर्व सफलता थियो। त्यसले इसराइललाई ठूलो नोक्सान मात्र भएन, इसराइल र साउदी अरेबियाबीच हुन लागेको सम्झौता पनि बीचैमा रोकियो। उक्त सम्झौता इरानको प्रमुख शत्रु अमेरिकाको पहलमा हुन लागेको थियो।

    सुन्नी मुसलमान रहेको साउदी अरेबिया र सिया मुसलमान रहेको इरानबीच धेरै पहिलेदेखि दुश्मनी छ। सन् २०२३ मार्चमा चीनले मध्यस्थता गरेर साउदीसँग इरानको सम्बन्ध सुधार्ने पहल भएको थियो। तर त्यसमा अझै पनि हार्दिकता देखिएको छैन।

    साउदीले इरानसँग सम्बन्ध सुधार्न खोज्नुका दुई मुख्य कारण छन् —

    पहिलो, इरानले पछिल्ला केही दशकमा व्यापक शक्ति आर्जन गरेको छ। त्यही भएर आफ्ना तेलखानी लगायत संरचनामा आक्रमण नहोस् भनेर साउदीले इरानसँग मित्रताको हात बढाएको थियो।

    दोस्रो, अमेरिकाले मध्यपूर्वबाट आफ्नो सेना झिकेर सम्पूर्ण ध्यान चीनसँगको प्रतिस्पर्धामा केन्द्रित गर्नुपर्छ भन्नेमा अमेरिकाभित्र लगभग एकमत छ। यस्तो परिस्थितिमा इरानले आक्रमण गरिहाले आफ्नो सुरक्षाका लागि अमेरिका नआउला भन्ने डरले पनि साउदीले इरानसँग सम्बन्ध सुधार्न थालेको थियो।

    यसबीच सन् २०२० मा बहराइन र संयुक्त अरब इमिरेट्स (युएई) सँग इसराइलको अब्राहम सम्झौता भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकाल बेला उनकै सक्रियतामा उक्त सम्झौता भएको थियो। साउदीको सत्ता चलाइरहेका युवराज मोहम्मद बिन सलमान (एमबिएस) को अनुमतिमा गरिएको उक्त सम्झौतामा मोरक्को र सुडानसमेत जोडिए।

    ट्रम्पपछि राष्ट्रपति बनेका जो बाइडेनले पनि उनको नीतिलाई निरन्तरता दिए।

    साउदीले इसराइलसँग सम्झौता गरे अमेरिकाले साउदीलाई सुरक्षा ग्यारेन्टी दिने भनेर लोभ देखाए। इसराइल आफै पनि शक्तिशाली भएकाले सुरक्षा प्रदान गर्न अमेरिका आफै आउनु नपर्ने हुन सक्थ्यो।

    यसरी अमेरिकाले इसराइल र साउदीलाई एक ढिक्का पारे आफू एक्लिने डरले नै इरानले उक्त सम्झौता भाँड्न हमासलाई इसराइलमाथि हमला गर्न लगाएको थियो। प्यालेस्टिनी समस्या थाती नै राखेर इसराइल र साउदीबीच सम्झौता भए उक्त समस्या सदाका लागि ओझेलमा पर्ने भएकाले यसमा हमासको पनि स्वार्थ थियो।

    उक्त हमलामा हमासले सोचेभन्दा ठूलो सफलता हासिल गरेको थियो। हमासको हमलामा ३०० भन्दा बढी इसराइली सैनिक र दर्जनौं विदेशी नागरिकसहित लगभग १२ सय जनाको मृत्यु भएको थियो। गजा नजिकै कृषि ‍फार्ममा काम गर्ने १० जना नेपाली विद्यार्थी पनि मारिएका थिए।

    हमासले विदेशीसहित करिब २५० जनालाई बन्दी बनाएर गजातर्फ लगेकोमा नेपाली नागरिक विपिन जोश‍ी अझै रिहा भएका छैनन्।

    हमासले आक्रमण गरेको भोलिपल्टै इरानबाट परिचालित हिजबुल्लाह समूहले पनि उत्तरमा रहेको लेबननबाट इसराइलमाथि रकेट हान्न थाल्यो। यमनबाट हुथी समूहले पनि इसराइलमाथि प्रहार गर्न थाल्यो।

    अहिले फर्केर हेर्दा हमासको त्यो अनपेक्षित सफलताले हमास मात्र नभएर इरान र उसले चलाएको ‘एक्सिस अफ रेसिस्टेन्स’ सबैका लागि कालान्तरमा घाटा भयो। आफ्नो अस्तित्व नै खतरामा परेको ठानेर त्यसपछि इसराइलले बहादुरीपूर्वक लडाइँ गर्‍यो र एकपछि अर्को गर्दै आफ्ना दुश्मनहरूलाई धराशायी पार्दै गयो।

    सुरूमा इसराइलले गजामा मात्र ध्यान केन्द्रित गर्‍यो। हिजबुल्लाहसँग सुलहको प्रस्ताव नै राख्यो। तर हमासको सफलताबाट इरान र इरानबाट परिचालित समूहहरू हौसिएका थिए। त्यसैले हिजबुल्लाहले इसराइलको उत्तरी सीमा छेउका बस्तीमा लगातार प्रहार गरिरह्यो।

    गजामा हमासलाई क्षति पुर्‍याइसकेपछि उत्तरी सीमाबाट विस्थापित ६० हजारभन्दा बढी इसराइलीलाई घर फर्किने वातावरण बनाउन गत सेप्टेम्बरमा इसराइल हिजबुल्लाहमाथि पनि जाइलाग्यो। सुरूमा हिजबुल्लाह समूहका सदस्यले बोकेका हजारौं ‘पेजर’ र वाकी-टकी विस्फोट गरायो। त्यसपछि लेबननभित्रै आक्रमण गरेर ३२ वर्षदेखि हिजबुल्लाह प्रमुख रहेका हसन नसरल्लाहसहित उक्त समूहको सम्पूर्ण नेतृत्व पंक्तिलाई मार्‍यो।

    नसरल्लाह मारिएपछि इसराइलमाथि हमला गर्न इरान बाध्य भयो। इरानले धेरै मिसाइल प्रहार गरे पनि अमेरिका लगायत पश्चिमा राष्ट्रहरूको सहयोगमा इसराइलले उक्त हमला विफल पार्‍यो। जबाफमा इसराइलले इरानको हवाई सुरक्षा प्रणालीका धेरै इकाइ र केही मिसाइल कारखाना ध्वस्त पार्‍यो। दुवैको चाहना युद्ध नहोस् भन्ने भएकाले त्यति बेला पूर्ण युद्ध भएन।

    तर गत अक्टोबरको उक्त हमलापछि इसराइलले इरानको रक्षा प्रणाली कत्तिको बलियो छ भन्ने भेउ मात्र पाएन, हवाई सुरक्षा प्रणालीमाथि प्रहार गरेर भविष्यमा आक्रमण गर्न सजिलो पनि पार्‍यो।

    हिजबुल्लाह कमजोर भएका कारण गत डिसेम्बरमा इरानी कित्तामा रहेको सिरियामा असदको शासन ढल्यो। त्यसमा इसराइलको प्रत्यक्ष संलग्नता नभए पनि हिजबुल्लाहको शक्ति क्षयकै कारण असदको शासन ढलेको थियो।

    सिरियामा एक दशकभन्दा अघिदेखि चलेको गृहयुद्धमा हिजबुल्लाहका हजारौं लडाकुले असद सरकारको पक्षमा लडेका थिए। त्यसको पछाडि इरानकै निर्देशनले काम गरेको थियो। पछि रूसले पनि विद्रोहीविरूद्ध हवाई आक्रमण गरेर असदको शासन जोगाएको थियो।

    सन् २०२२ फेब्रुअरीपछि भने आफ्नो सारा शक्ति युक्रेनसँगको युद्धमा लगाइरहेका राष्ट्रपति भ्लादिमिर पुटिनले समेत असदलाई सहयोग गर्न सकेनन्।

    यसरी इसराइलले पहिले हमास, त्यसपछि हिजबुल्लाहलाई तहसनहस पार्‍यो। त्यही कारण असदको शासन ढलेपछि इरानको ‘एक्सिस अफ रेसिस्टेन्स’ लगभग धराशायी भयो।

    यमनमा हुथी विद्रोही अझै बाँकी रहे पनि उनीहरू तुलनात्मक रूपले हिजबुल्लाह र सिरियाजति शक्तिशाली छैनन्। त्यस्तै, लेबनन र सिरियाको जस्तो यमनको सिमाना इसराइलसँग जोडिएको छैन। त्यसैले लेबनन र सिरियाबाट जस्तो छोटो दुरीका धेरै हतियार प्रयोग गरेर इसरालमाथि प्रहार गर्न यमनबाट सम्भव छैन।

    यसरी इरानबाट इसराइमाथि रहेको खतरा देखाएर राजनीतिमा टिकेका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका लागि इरानमाथि हमला गर्न ऐतिहासिक अवसर जुर्‍यो। त्यसैले यो वर्षको सुरूदेखि नै उनले इरानमाथि हमला गर्ने प्रयास गरिरहेका थिए। अमेरिकाले पटक पटक वार्ताबाटै समाधान खोज्नुपर्छ भनेर इसराइललाई रोकेको थियो। अप्रिलमा ट्रम्प आफैले इरानसँग वार्ताका लागि इसराइलसँग ६० दिनको समय मागेका थिए भनिन्छ।

    दुई महिनामा पनि इरानसँग सम्झौता हुन नसके हमला गर्नू भनेर ट्रम्पले इसराइली प्रधानमन्त्री नेतन्याहुलाई भनेका थिए भनेर समाचार आएका छन्।

    यहाँ अमेरिका र इरानबीच भइरहेको वार्ताको इतिहास पनि अलिकति फर्केर हेर्नुपर्छ। इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम हतियार बनाउन नभएर शान्तिपूर्ण उद्देश्यका लागि हो भन्दै आएको छ। उता इसराइल र अमेरिका लगायत पश्चिमा राष्ट्रले इरानले आणविक हतियार बनाउन खोजेको भन्दै रोक्ने कोसिस गर्दै आएका छन्।

    पूर्वराष्ट्रपति बाराक ओबामाले आणविक हतियार कार्यक्रम रोक्नेबारे गरेको बहुराष्ट्रिय सम्झौता ट्रम्पले २०१७ मा कार्यभार सम्हाल्नेबित्तिकै तोडेका थिए। त्यसपछि वर्षौंसम्म अप्रत्यक्ष वार्ता भए पनि कुनै सफलता हासिल भएको छैन।

    इसराइल र अमेरिकाले इरानलाई कहिल्यै आणविक हतियार बनाउन नदिने चेतावनी दिइरहेका बेला ट्रम्पले दोस्रो कार्यकालमा अप्रत्यासित रूपले इरानसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। ट्रम्पको नोबेल शान्ति पुरस्कार जित्ने उत्कट चाहना छ। रूस–युक्रेन युद्ध रोक्ने योजना सफल नहुने देखेपछि नोबेल पुरस्कारको आसमै ट्रम्पले इरानमाथि हमला नगरेर वार्ताको पहल गरेको कतिले अनुमान गरेका थिए।

    सुरूमा त अमेरिकी वार्ता टोलीको नेतृत्व गर्ने ट्रम्पका अर्बपति मित्र स्टिभ विट्कफले झन्डै ओबामाले गरेकै खालका सर्तमा सम्झौता हुन सक्ने संकेत गरेका थिए। तर आफूले काम नलाग्ने भनेर पहिलो कार्यकालमा तोडेकै खालको सम्झौता गर्नु हुँदैन भनेर ट्रम्पलाई सल्लाहकारहरूले सम्झाए।

    त्यसपछि अमेरिकाले आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने र अरू देशमा विभिन्न समूह सञ्चालन पनि नगर्ने भनेर कडा सर्त तेर्स्यायो।

    अहिलेका आणविक भट्टीहरू बन्द गरेर ऊर्जा निकाल्ने लगायत गैरसैनिक प्रयोजनका लागि साउदी अरब लगायत देशहरूसँग संयुक्त आणविक कार्यक्रम चलाउनुपर्ने प्रस्ताव अमेरिकाले गरेको मानिन्छ।

    केही मिडियाहरूका अनुसार अमेरिकाले प्रस्ताव गरेको संयुक्त आणविक कार्यक्रम इरानी भूमिमा सञ्चालन हुने हो भने इरानले मान्छ। कतिले त दबाब बढाउँदै लगे अरू देशमै उक्त कार्यक्रम चलाए पनि इरानले मान्छ भनेर अड्कल गरेका थिए।

    यस्तोमा ट्रम्पले नेतन्याहुसँग मागेको दुई महिनाको समय जुन १२ मा सकियो। त्यसै दिन अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले आणविक हतियार कार्यक्रम अघि नबढाउने इरानी प्रतिबद्धता अनुसारका केही सर्तको इरानले उल्लंघन गरेको घोषणा गर्‍यो। छोटो समयमै केही आणविक हतियार बनाउन सक्ने गरी युरेनियम प्रशोधन गरेको इरानमाथि आरोप लगायो।

    यसले इसराइललाई इरानमाथि हमला गर्न थप कारण मिल्यो। इरानले बाहिर वार्ता गरेजस्तो गरी भित्रभित्रै आणविक कार्यक्रम अघि बढाएर हतियार बनाउन लागेको भन्दै त्यसको भोलिपल्टै इसराइलले इरानमाथि आक्रमण गर्‍यो। इसराइलले इरानको सैन्य संरचना, हतियार प्रणाली, हवाई सुरक्षा प्रणाली, आणविक भट्टी र वरिष्ठ अधिकारीहरूमाथि एकैपटक प्रहार गर्‍यो।

    इरानी सेनाको चेन–अफ–कमान्ड तोड्न इसराइलले इरानी सेना प्रमुख, उपप्रमुख, इस्लामिक रिभोलुसनरी गार्ड कोरका (आइआरजिसी) प्रमुख लगायत वरिष्ठ जनरलहरूको हत्या गर्‍यो। तिनको ठाउँमा नयाँ नियुक्त भएका जनरलहरूको पनि हत्या गरिरहेको छ।

    त्यस्तै, आणविक हतियार कार्यक्रममा संलग्न धेरै वैज्ञानिक, आणविक हतियार कार्यक्रमका प्रमुख र सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीका वरिष्ठ सल्लाहकारको पनि इसराइली आक्रमणमा परेर मृत्यु भयो।

    अमेरिकामा बनेका अत्याधुनिक फाइटर–जेटहरू प्रयोग गरेर इसराइलले अहिले इरानको आकाशमाथि कब्जा जमाएको छ। जहाँ मन लाग्यो त्यहीँ प्रहार गरिरहेको छ। रातमा मात्र नभएर दिनकै उज्यालोमा पनि बमबारी गरिरहेको छ। कतिसम्म भने, गत शुक्रबार युरोपेली देशहरू बेलायत, फ्रान्स र जर्मनीसँग वार्ता गर्न स्वीट्जरल्यान्डको जेनेभा उड्न पनि इरानी विदेशमन्त्री अब्बास अरग्चीले इसराइलसँग अनुमति लिनुपरेको थियो।

    उता इरानले प्रहार गरेको प्रायः मिसाइल भने इसराइली हवाई सुरक्षा प्रणालीले खसालिरहेको छ। केही मिसाइल खसाल्न नसके पनि इसराइलमा लगभग सबै यहुदी जनताका लागि लुक्न मिल्ने निजी र सार्वजनिक बंकर छन्। त्यसैले धेरै ठूलो मानवीय क्षति हुँदैन।

    अहिलेसम्म इरानमा सयौं मानिस मारिँदा इसराइलमा करिब २५ जना मारिएका छन्। तीमध्ये पनि धेरैजसो इसराइली सरकारले बंकरमा लुक्नू भनेर जारी गरेको सूचना बेवास्ता गरेर बाहिर बस्दा मारिएका थिए।

    यसरी इसराइलले मनलाग्दी प्रहार गरिरहँदा इरानले भने इसराइलमा आक्कल–झुक्कल मात्र नोक्सान पुर्‍याउन सकेको छ।

    इसराइलले सुरूका केही दिनमा इरानको नतान्ज लगायत अन्य केही ठाउँका आणविक भट्टीमा प्रहार गरेर नोक्सान पुर्‍याएको थियो। तर फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको भट्टीमा नोक्सानी पुर्‍याउन सकेको थिएन।

    आणविक हतियार प्रयोग नगरी उक्त भट्टी ध्वस्त पार्ने क्षमता विश्वमा अमेरिकासँग मात्रै भएको मानिन्छ। त्यसका लागि अमेरिकासँग रहेको झन्डै १४ टनको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गर्नुपर्थ्यो। उक्त बम बोक्न सक्ने बमवर्षक विमान पनि इसराइलसँग छैन। अमेरिकासँग भएको अत्याधुनिक बी–२ बमवर्षक विमानले मात्र बोकेर प्रहार गर्न सक्छ। त्यसैले इसराइलले अमेरिकालाई फर्दोको आणविक भट्टी ध्वस्त पार्न मद्दत मागिरहेको थियो।

    यस्तोमा ट्रम्पले आइतबार फर्दोको भट्टी ध्वस्त पार्न बी–२ बमवर्षक विमानबाट एकै ठाउँमा छवटा जिबियू–५७ बम खसाल्यो। आक्रमणपछि बोल्दै ट्रम्पले उक्त भट्टी पूर्ण रूपमा क्षति भएको दाबी गरे। उक्त दाबीको स्वतन्त्र पुष्टि भने अझै हुन बाँकी छ।

    अमेरिकाले नतान्ज र इस्फहानमा रहेका भट्टीमा पनि आक्रमण गरेको छ। त्यहाँ कति क्षति भयो भनेर विस्तृत विवरण आएको छैन।

    अमेरिका युद्धमा सहभागी भए इरानले कडा जबाफ दिने र मध्यपूर्वमा रहेका अमेरिकी संरचनाहरूमा प्रहार गर्ने धम्की दिइरहेको थियो। इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले इरानमा अमेरिकाले सैनिक हस्तक्षेप गरे अपूरणीय क्षति बेहोर्नुपर्ने चेतावनीसमेत दिएका थिए।

    त्यसका बाबजुद ट्रम्पले आइतबार इरानमाथि प्रहार गरे।

    आणविक हतियार कार्यक्रम रोक्न भट्टीहरूमा मात्र प्रहार गरेको र अन्यत्र कतै प्रहार नगर्ने भनेर अमेरिकाले इरानलाई सुटुक्क सन्देश दिएको बताइन्छ।

    अब इरानले पनि धम्की दिएजस्तै मध्यपूर्वमा रहेका अमेरिकी सेना र संरचनाहरूमा प्रहार गर्छ कि गर्दैन हेर्न बाँकी छ।

    इसराइलले १० दिन लगातार प्रहार गरेर इरानका धेरै मिसाइल र मिसाइल प्रहार गर्ने लन्चरहरू ध्वस्त पारेको दाबी गरेको छ। त्यसैले पछिल्ला दिनमा इरानले इसराइलमाथि प्रहार गर्ने मिसाइलको संख्या पनि घटिरहेको छ।

    तर मध्यपूर्वका केही देशमा रहेका अमेरिकी सैनिक संरचना इरानबाट नजिकै छन्। इसराइलमा प्रहार गर्न चाहिनेजस्तो लामो दुरीको मिसाइल नहानीकनै पनि इरानले त्यहाँ प्रहार गर्न सक्छ। इसराइलमाथि प्रहार गर्न छोटो दुरीका मिसाइल खर्च नभएकाले इरानसँग अमेरिकी संरचनामा नोक्सान पुर्‍याउन सक्ने छोटो दुरीका हतियार अझै धेरै संख्यामा हुन सक्छ। एकैपटक धेरै संख्यामा प्रहार गर्‍यो भने इरानले ती संरचनामा क्षति पुर्‍याउनसमेत सक्नेछ।

    तर अमेरिकी संरचनामा ठूलो क्षति भए अमेरिकाले इरानमाथि युद्ध नै छेड्नेछ। ट्रम्पले अमेरिकी संलग्नता आइतबार सकिएको भन्दै इरानले अमेरिकामाथि प्रहार गरे झन् कडा आक्रमण गर्ने चेतावनी दिएका छन्। यस्तोमा अमेरिकी संरचनामा प्रहार गरे इरानले झन् धेरै क्षति बेहोर्नुपर्ने हुन्छ।

    अमेरिकी हमलापछि इरानले आफूसँग रहेका सबै प्रतिकारका उपाय प्रयोग गर्नसक्ने बताएको छ। अमेरिकी संरचनामा प्रहार गर्नेबाहेक इरानको अर्को उपाय भनेको आफ्नो नजिकै रहेको समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्ने हो। यो रूट प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल अनि करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यसैले इरानले ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरे विश्व तेल बजारमै उथलपुथल आउँछ। तेलको अभावमा विश्व अर्थतन्त्र नै संकटमा पर्न सक्छ।

    तर ‘स्ट्रेट अफ हर्मुज’ बन्द भए सबभन्दा धेरै नोक्सानी इरानलाई भरथेग गर्दै आएको चीनले बेहोर्नुपर्छ। चीन इरानी तेलको सबभन्दा ठूलो ग्राहक हो। चीनले त्योभन्दा धेरै गुणा बढी तेल साउदी लगायत अरू देशबाट किनेर सोही रूट प्रयोग गरेर लान्छ। आफूले खपत गर्ने झन्डै एकतिहाइ तेल आउने मार्ग बन्द भयो भने चीनमा आर्थिक संकट आउन सक्छ।

    मध्यपूर्वका साउदी लगायत अरू देशले चीनबाहेकका देशलाई तेल बेच्न सोही मार्ग प्रयोग गर्ने भएकाले ती देशलाई समेत नोक्सानी हुनेछ। यस्तोमा आफूलाई भरथेग गर्ने चीनलाई र छिमेकका अरू देशलाई हानि पुर्‍याउने गरी ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्न इरानका लागि मुश्किल हुनेछ।

    चीनले अमेरिकालाई आक्रमण गर्नबाट नरोकेको भन्दै रिसको झोँकमा इरानले ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरे उसका लागि झन् धेरै प्रत्युत्पादक हुने देखिन्छ।

    अहिले चीनले चाहेर पनि अमेरिकालाई रोक्न सक्ने स्थिति थिएन। उसै पनि इरानको नजिकै चीनका सेना छैनन्। अमेरिकाले इरानको आणविक भट्टीमा मात्रै प्रहार गर्छु भन्दा चीनले अमेरिकासँग युद्ध नै सुरू गर्ने कुरो पनि हुन्न।

    त्यस्तै, इरानलाई भरथेग गरिरहेको रूसले पनि अहिले इरानको साथ दिन सक्दैन। युक्रेनसँग लड्नकै लागि चीन र इरानको सहयोग अनि उत्तर कोरियाको सेनामै निर्भर रूसले अहिले इरानको साथ दिने स्थिति पनि छैन।

    इसराइलले जुन १३ मा इरानमाथि हमला गर्नेबित्तिकै ट्रम्पको ७९औं जन्मोत्सवको शुभकामना दिन फोन गर्दा रूसी राष्ट्रपति पुटिनले युद्ध रोक्न आग्रह गरेका थिए। युक्रेनसँग लड्न इरानले रूसलाई ठूलो परिमाणमा आफूले बनाएको शाहिद ड्रोन दिएको थियो। अहिले ती ड्रोन रूसभित्रै उत्पादन हुन थालेका छन्। इरानले रूसलाई सस्ता गोलाबारूद पनि दिएको थियो।

    गत डिसेम्बरमा सिरियामा बसर अल–असदको सत्ता ढलेपछि मध्यपूर्वमा आफ्नो प्रभाव भएको अर्को देशमा पनि सत्ता परिवर्तन नहोस् भनेर रूसले इसराइल–इरान युद्ध रोक्न लगातार ट्रम्प सरकारसँग पहल गरिरहेको थियो। तर ट्रम्पले इरानमाथि प्रहार गरिसकेपछि रूसले इरानको तर्फबाट अमेरिकासँग लड्ने स्थिति छैन।

    उसै पनि साउदी लगायत खाडी राष्ट्रले पछिल्ला दिन इरानको साथ नदिन भनेर रूससँग पहल गरिरहेको समाचार आएका छन्। इरानले आणविक हतियार बनाए आफूहरूलाई साह्रै दु:ख दिनेछ भन्ने जिकिर गर्दै ती देशले रूसलाई सम्झाइरहेका थिए।

    अमेरिकाले लगातार आग्रह गर्दा पनि तेल उत्पादन नबढाएर ती देशले लामो समयसम्म कच्चा तेलको भाउ ७० डलर प्रतिब्यारेलभन्दा माथि राखेका थिए। त्यसै कारण चीन र भारतलाई केही छुट दिएर पनि रूसले युक्रेनसँग लड्न पैसा जोहो गरिरहेको थियो। त्यसको बदलामा अहिले खुलेरै इरानको साथ दिन रूसका लागि फाइदाजनक हुँदैन।

    रूसले अहिले इरानको साथ दिए भोलि साउदी लगायत देशले तेलको उत्पादन ह्वात्तै बढाएर भाउ धेरै घटाउन सक्छन्। त्यस्तो भए रूसलाई युक्रेनको युद्ध धान्नै मुश्किल हुन्छ।

    यसरी इरानले अमेरिकी संरचनामा प्रहार गर्ने वा ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्ने सम्भावना कम देखिन्छ। अमेरिकी संरचनामा अलिअलि नोक्सान पुर्‍याउने गरी सांकेतिक प्रहार गरे पनि धेरै ठूलो प्रहार गर्ने देखिँदैन। यसरी इसराइलसामु नै निरिह देखिएको इरानले अमेरिकासँग पनि युद्ध गर्ने साहस देखाउन मुश्किल पर्नेछ।

    इरानका इस्लामी शासकले आफ्नो सुरक्षाका लागि अर्बौं डलर खर्च गरेर ‘एक्सिस अफ रेसिस्टेन्स’ र आणविक हतियार कार्यक्रम चलाएका थिए। इरानले इसराइली प्रहारबाट जोगिन आफ्नो हवाई सुरक्षा प्रणाली र वायु सेनामा लगानी गर्नुको साटो ‘एक्सिस अफ रेसिस्टेन्स’ चलाउन धेरै खर्च गरेको थियो।

    इरानमाथि आक्रमण गरे हिजबुल्लाह, हमास र सिरियाले एकैचोटि आफूमाथि प्रहार गर्ने डर इसराइललाई थियो। इरानको उक्त नीतिले यतिन्जेल काम गरेको थियो। इसराइलबाट हुने आक्रमणबाट जोगाउने मात्र नभएर त्यो नीति अपनाएर इरानले छिमेकमा व्यापक प्रभाव विस्तार गरेको थियो।

    त्यस्तै, आणविक हतियार बनाए कसैले आफूमाथि हमला गर्ने हिम्मत गर्दैनन् भनेर इरानले आणविक हतियार बनाउने प्रयास गरेको हो।

    सिमाना जोडिएको इराकका सद्दाम हुसैनले आक्रमण नगरून् भनेर इरानका इस्लामिक शासकले पहिले आणविक कार्यक्रम सुरू गरेका थिए। तर हुसैनले आणविक हतियार बनाउन लागेको भनेर अमेरिकाले सन् २००३ मा इराकमाथि आक्रमण गरेपछि भने इरान झस्किएको थियो। इरानमाथि पनि अमेरिकाले आक्रमण गर्ला भनेर त्यति बेला उसले आणविक हतियार कार्यक्रम रोकेको थियो।

    अर्कातर्फ इरानजस्तै सियाको बाहुल्य रहेको इराकमा अल्पसंख्यक सुन्नीको शासन चलाइरहेका हुसैनको सत्ता अमेरिकाले ढालेपछि इरानलाई झन् फाइदा भएको थियो। हुसैन नेतृत्वको इराकसँग लामो समय चलेको युद्ध नहारे पनि इरानले धेरै क्षति बेहोर्नुपरेको थियो।

    आफ्नो चरम शत्रु हुसैनको सत्ता आफ्नो दुश्मन अमेरिकाले ढालेपछि इरानलाई इराकबाट खतरा रहेन। इराकमा पनि आफ्नो प्रभाव विस्तार भएपछि त झन् ‘एक्सिस अफ रेसिस्टेन्स’ चलाएर इरान मध्यपूर्वको सबभन्दा शक्तिशाली मुस्लिम राष्ट्र बन्यो। सिरिया, लेबनन, इराक, यमन लगायत देशमा आफू अनुकूल शासन चलाएर इरानले इसराइल, साउदी लगायत छिमेकका शत्रु राष्ट्रलाई ठूलो तनाव दिएको थियो।

    यसरी एकातर्फ इरानले ‘एक्सिस अफ रेसिस्टेन्स’ चलायो भने अर्कातर्फ त्यसकै आडमा बिस्तारै फेरि आणविक हतियार कार्यक्रम बढाउन थाल्यो।

    उसले आणविक हतियार कार्यक्रम बढाउन थाले पनि हिज्बुल्लाहसहितको ‘एक्सिस अफ रेसिस्टेन्स’ ले आक्रमण गर्छ भनेर इसराइल र अमेरिकाले इरानमाथि हमला गरेर उक्त कार्यक्रम रोक्ने हिम्मत गर्दैन थिए। तर हमासले २०२३ अक्टोबरमा इसराइलमा हमला गरेपछि त्यो सन्तुलन बिग्रियो।

    त्यसपछिको घटनाक्रमको प्रभावले अहिले ‘एक्सिस अफ रेसिस्टेन्स’ धराशायी भएको छ। त्यही मौका छोपेर पहिले इसराइलले अनि पछि अमेरिकाले  प्रहार गरेर आणविक हतियार कार्यक्रम पनि तहसनहस पारेको छ।

    यसरी हवाई सुरक्षा प्रणाली र वायु सेनामा लगानी गरेर आन्तरिक सुरक्षा बलियो पार्नुको साटो धेरै खर्च गरेर ‘एक्सिस अफ रेसिस्टेन्स’ चलाउने नीतिले अन्ततः इरानलाई क्षति भएको छ।

    सुरक्षाका मुख्य स्तम्भ ‘एक्सिस अफ रेसिस्टेन्स’ र आणविक हतियार कार्यक्रम दुवै ढलेका छन्।

    इरान यसरी लडखडाउँदा मध्यपूर्वमा आफ्नो प्रभाव बिस्तार गर्न खोजिरहेको चीनलाई पनि धक्का लागेको छ। अमेरिका बिस्तारै मध्यपूर्वबाट बाहिरिन लागेको देखेर त्यहाँ प्रभाव बढाउने चिनियाँ प्रयास अहिलेलाई रोकिएको देखिन्छ। हमासले इसराइलमा हमला गर्नुभन्दा केही महिनाअघि नै इरान र साउदीबीच सुलहको प्रयास थालेको चीनले त्यसबाट अपेक्षित फल नपाउने देखिन्छ।

    बलियो इरानको डरले उक्त प्रयास थालेको साउदीलाई अहिले कमजोर भएको इरानबाट त्यस्तो खतरा देखिन्न। त्यसैले अमेरिकी नेतृत्वमा इसराइल अनि साउदी लगायत मुस्लिम देशहरू एक ढिक्का हुने देखिन्छ।

    अर्कातर्फ इरानमा भने इस्लामिक शासकको सत्ता नै ढल्ने खतरा बढेको छ।

    अमेरिकाले बारम्बार सत्ता परिवर्तन आफ्नो उद्देश्य नभएको भने पनि नेतन्याहुले सार्वजनिक रूपमै सत्ता ढाल्ने कुरा गरेका छन्। इसराइलले आफ्नो सैन्य कारबाहीलाई ‘अपरेसन राइजिङ लायन’ नाम दिएकाले पनि इरानलाई सत्ता ढल्ने डर लागेको हो।

    सन् १९७९ को इस्लामिक क्रान्तिअघि इरानमा शासन गर्ने शाह पहलवी वंशको पालामा इरानको राष्ट्रिय झन्डामा सिंह थियो। त्यो सिंह फेरि उदाउने भनेर इसराइलले आफ्नो सैन्य कारबाहीको नाम राखेको हो। त्यसैले सत्ता परिवर्तनकै लागि अमेरिकासँग सल्लाह गरेर इसराइलले आक्रमण गरेको भन्ने इरानलाई लागेको छ।

    तर अमेरिकाको उद्देश्य सत्ता परिवर्तन हो जस्तो देखिँदैन। विगतमा इराकमा हुसैनको र लिबियामा मुअम्मर गद्दाफीको सत्ता ढालेका कारण अहिलेसम्म ती देशमा अस्थिरता छ। त्यसैले मध्यपूर्वको अर्को ठूलो देशमा पनि अस्थिरता ल्याउन अमेरिका चाहन्न्। अझ प्रजातन्त्र र मानव अधिकार जस्ता मूल्य–मान्यताप्रति रत्तिभर लगाव नभएका ट्रम्पले त्यस्तो चाहने कुरै भएन। उनी त अघिल्ला अमेरिकी राष्ट्रपतिहरूले मानव अधिकार र प्रजातन्त्रको नचाहिँदो राग अलापेर मध्यपूर्वलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउने गर्छन्।

    त्यसैले उनले भनेजस्तै अमेरिका आइतबारको हमलामै रोकिन सक्छ। तर इरानले अमेरिकी संरचनामा प्रहार गर्‍यो वा ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्‍यो भने इस्लामिक कट्टरपन्थीको झन्डै पाँच दशक लामो शासन ढल्न पनि सक्छ। यो विष्लेशण सेतोपाटीका लागि प्रेम ढकालको आलेख साभार गरिएको हो । 

    Post Views: 88
    प्रकाशित मिति: २०८२ असार ९, सोमबार ०५:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत
    अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !
    क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार
    Advertisement
    ताजा अपडेट
    • १. वैदेसिक रोजगारीमा जाने झन बढे, दैनिक २३ सय

    • २. विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

    • ३. २०२१ भन्दा पहिला अमेरिका आएका आप्रवासीलाई “वर्क परमिट” दिन तल्लो सदनमा विधेयक प्रस्तुत

    • ४. अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकालाई ४७ अर्ब डलर फाइदा !

    • ५. क्रिप्टोकरेन्सी ’बिटकोइन’को मूल्य बढेर पहिलो पटक एक लाख २० हजार

    चर्चित
    • १. नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

    • २. अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुने ’सेटिङ’ भत्काउन कर्मचारी खटनपटनमा फेरबदलीमा नयाँ प्रयोग

    • ३. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ४. अमेरिकाको लुजियाना विश्वविधालयमा पढ्ने २ नेपाली विधार्थीको कार दुर्घटनामा निधन, २ घाईते

    • ५. विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.