अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएका दाबी गरेका छन् । उनले दुई देशबीचको युद्धविराम सहमतिले अन्ततः युद्धको अन्त्यतर्फ डोहोर्याउने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ दिएका छन् ।


‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको छ, जुन १२ घन्टासम्म कायम रहनेछ, त्यसपछि यो युद्ध अन्त्य भएको घोषणा गरिनेछ,’ उनले लेखेका छन् । ट्रम्पले करिब ६ घण्टापछि इजरायल र इरानले हाल जारी अन्तिम मिसनहरू सम्पन्न गरेसँगै युद्धविराम सुरू हुने स्पष्ट पारेका छन् ।
ट्रम्पका अनुसार औपचारिक रूपमा युद्धविरामको सुरुआत इरानले गर्नेछ र १२ औं घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ। ‘२४ औं घण्टामा भने ‘१२ दिने युद्ध’ को औपचारिक अन्त्य विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ,’ उनले लेखेका छन्, ‘युद्धविराम अवधिभर एक पक्ष शान्त र सम्मानजनक व्यवहारमा रहनेछ, जब अर्कोतर्फबाट युद्धविराम जारी हुनेछ।’
ट्रम्पले सबै कुरा योजना अनुसार अघि बढ्ने विश्वासका व्यक्त गर्दै लेखेका छन्, ‘जुन निःसन्देह अघि बढ्नेछ । म दुवै देश इजरायल र इरानलाई यस्तो युद्ध अन्त्य गर्ने साहस, धैर्य र विवेकका लागि बधाई दिन चाहन्छु।’ यो युद्ध वर्षौंसम्म तानिनसक्ने र पूरै मध्यपूर्वलाई विनाशतर्फ लैजान सक्ने भन्दै उनले लेखेका छन्, ‘तर त्यसो भएन, र अब कहिल्यै हुनेछैन।’
इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेसँगै इजरायल-इरान द्वन्द्वले नयाँ रूप लिएको हो । यद्यपि ट्रम्पले युद्धविराम बारे सूचना सार्वजनिक गरेको झन्डै एक घन्टासम्म इरान वा इजरायलबाट यसको पुष्टि भएको छैन ।
कतार सरकारको मध्यस्थतामा भएको वार्ता पछि इरान इजरायलसँगको अमेरिकी प्रस्तावमा युद्धविराम गर्न सहमत भएको छ। वार्ताका बारेमा जानकारी पाएका एक कूटनीतिज्ञले सिएनएनलाई यो कुरा बताएका हुन्।
कूटनीतिज्ञका अनुसार, कतारमा रहेको एक अमेरिकी सैन्य आधारमा इरानको जवाफी हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका अमिरलाई इरानसँग युद्धविराम सम्झौता गराउन आग्रह गरेका थिए।
सोमबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल-थानीले इरानको सहमति सुनिश्चित गरेका थिए, जसलाई ट्रम्पले सामाजिक सञ्जाल मार्फत विश्वलाई घोषणा गरे।
यद्यपि, इजरायली वा इरानी सरकार दुवैले अझैसम्म युद्धविराममा आफ्नो सहमति पुष्टि गरिसकेका छैनन्। यो घटनाक्रमले मध्यपूर्वमा जारी तनाव कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कतारले यसअघि पनि विभिन्न क्षेत्रीय द्वन्द्वहरूमा मध्यस्थता गर्दै आएको छ, र यसपटक पनि उसले दुई देशबीचको तनाव मत्थर पार्न सफल भएको देखिन्छ।




