गजामा युद्धविराम गर्न हमास सहमत भएको छ। शुक्रबार हमासले इसराइलसँग ६० दिने युद्धविरामका लागि तयार भएको भनेर हमासले मध्यस्तकर्ताहरूलाई पत्राचार गरेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।

इसराइलले यसअघि नै युद्धविरामका लागि सहमति जनाइसकेको छ। दुवै पक्ष तयार भएपछि गजामा लामो समयदेखि आक्रमण रोकिने बाटो खुलेको छ। यसका लागि अमेरिकासहित मध्यपूर्वका देशहरूले लामो समयदेखि प्रयत्न गर्दै आएका थिए।
हमासले शुक्रबार विज्ञप्ती जारी गरेर तत्काल युद्धविरामका लागि आफ्नो समूह तयार भएको भनेको छ।‘मध्यस्थकर्ताहरूलाई युद्धविराम सन्दर्भमा सकारात्मक प्रतिक्रिया पेस गरेका छौं। यसको ढाँचा कार्यान्वयन गर्नका लागि तत्काल वार्तामा बस्न हमास तयार छ,’ हमासले जारी गरेको वक्तव्यमा भनिएको छ।
युद्धविरामका लागि हमाससँग प्रत्यक्ष छलफल गर्दै आएका प्यालेस्टिनी-अमेरिकी वार्ताकार विशारा बाहबाले हमासको कदमको प्रशंसा गर्दै लामो समयदेखिको युद्ध अन्त्यका लागि अत्यन्त नजिक पुगेको बताएका छन्।
उनका अनुसार युद्धविरामका सर्तहरूमा हमासले केही संशोधन पठाएको छ। ‘तर यसले युद्धविराम सम्झौतामा पुग्न रोक्ने छैन भन्ने विश्वास छ,’ उनले भने।
इसराइली अधिकारीहरूले पनि हमासले युद्धविरामको प्रस्तावित मस्यौदामा केही संशोधनसहित सकारात्म प्रतिक्रिया आएको बताएका छन्। उनीहरूले पनि संशोधनहरूले युद्धविराम नै बिथोल्न नसक्ने बताएका छन्। युद्धविरामको अवधीमा हमासले १० जना बन्धक र १८ बन्धकको शव इसराइललाई हस्तान्तरण गर्ने प्रस्ताव छ।





