चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ । सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ । बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । गत असार २४ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।

भेलबाढीले त्रिशूली थ्रि बि आयोजनामा व्यापक क्षति पुर्याएको उक्त बाढीले उत्तरगया क्षेत्र डुबानमा पारेको छ। नदीको सतह अहिले पनि घटेको छैन।

रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार वर्षा भएको थियो । सोही वर्षाका कारण बाढी आएको अनुमान छ । रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र र किस्पाङको त्रिशुली थ्री बी हब लगायत क्षेत्रमा जल सतह बढेको देखिन्छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बाढी कम नभएकाले क्षति हुनसक्ने भएकाले सतर्कताका सूचना जारी गरिएको छ । अहिलेसम्म जनधनको क्षति पुगेको जानकारी आइसकेको छैन । यद्यपि सूचना संकलन गर्न र आवश्यक परे उद्धार गर्नका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । यसअघि असार २४ गते पनि ल्हेन्दे खोलामा बाढी आउँदामा जनधनको ठूलो क्षति पुगेको थियो ।

गत असार २४ गते ल्हेन्दो खोला भेलबाढी आउँदा २० जना बेपत्ता भएका थिए। त्यसमध्ये केहीको शव फेला परेको थियो। त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमनदीको माथिल्लो सतहमा रहेको सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो।




