अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। यो भन्सार दर शुक्रबारदेखि लागू हुनेछ। राष्ट्रपति ट्रम्पले भारतसँग अमेरिकाको ठूलो व्यापार घाटा रहेको र अमेरिकी सामानको आयातमा भारतले अनावश्यक बाधा पुर्याएको आरोप लगाउँदै आएका छन्। भारतले उच्च भन्सार लगाएका कारण भारतीय बजारमा अमेरिकी कम्पनीहरूले धेरै निर्यात गर्न नसकेको उनको आरोप छ। रूस–युक्रेन युद्ध चलिरहेका बेला भारतले रूसबाट ठूलो परिमाणमा ऊर्जा र सैन्य सामग्री खरिद गरेकामा पनि उनले भारतको आलोचना गरेका छन्।

भारतमाथि घोषणा गरिएको २५ प्रतिशत भन्सार एसियाली मुलुकहरू इन्डोनेसिया, फिलिपिन्स र जापानमा लगाइएको २० प्रतिशत वा सोभन्दा कम दरको तुलनामा धेरै हो। यसले अमेरिकाले भारतप्रति कडा नीति अवलम्बन गर्न लागेको संकेत गर्छ। यो घोषणाले पछिल्ला वर्षहरूमा चीनबाट भारतमा आफ्ना कारखाना सारिरहेका अन्तर्राष्ट्रिय कम्पनीहरूलाई निराश पार्न सक्ने विश्लेषकहरूले जनाएका छन्।
भारत हाल इलेक्ट्रोनिक्स, औषधि र विशेषगरी स्मार्टफोन उत्पादनको केन्द्र बनिरहेको छ। भारतले यो वर्ष पहिलो पटक चीनभन्दा बढी स्मार्टफोन उत्पादन गर्दैछ। यो नयाँ कर लामो समयसम्म रहेमा कम्पनीहरूले भारतको सट्टा अन्य एसियाली देशहरूमा लगानी सार्ने तर्फ सोच्न सक्नेछन्।
पछिल्लो समय राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्यानो सम्बन्ध छ। र, दुई देशबीच व्यापार सम्झौता हुन लागेको चर्चा पनि चलिरहेको थियो। यस्तो बेलामा राष्ट्रपति ट्रम्पले गरेको घोषणाले धेरैलाई आश्चर्यमा पारेको छ। अमेरिकाले भारतको कृषि र डेरी बजारमा पहुँच मागेको र भारतले त्यसलाई इन्कार गरेको जनाइएको छ। यो सम्भावित व्यापार युद्धले विश्वका दुई ठूला प्रजातान्त्रिक देशहरूबीचको व्यापारिक, सांस्कृतिक र रणनीतिक सम्बन्धको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको विश्लेषकहरूले बताएका छन्।





