नेपाल संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद् ९इकोसकको अध्यक्षमा निर्वाचित भएको छ। संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले अध्यक्ष निर्वाचित भए पछि संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित कार्यक्रममा इकोसकको अध्यक्षता ग्रहण गरेका छन । उक्त कार्यक्रममा इकोसकका निवर्तमान अध्यक्ष क्यानाडाका स्थायी प्रतिनिधि बब रेले अध्यक्षताको प्रतीक सहित पद हस्तान्तरण हस्तान्तरण गरेका हुन । महामहिम लोक बहादुर थापा ३१ जुलाई २०२५ मा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को २०२५–२०२६ सत्रका लागि अध्यक्षमा निर्वाचित भएका हुन ।


पदभार ग्रहण कार्यक्रममा अध्यक्ष थापाले नेपालको अध्यक्षता अवधिमा पाँच प्राथमिकताका क्षेत्रहरू कृषि खाद्य प्रणालीको रूपान्तरण, प्रणालीगत सुधार र रणनीतिक साझेदारीमार्फत विकासका लागि वित्त परिचालन, डिजिटल समावेशिता र युवा उद्यमशीलता, इकोसकको ८० औं वार्षिकोत्सव कार्यक्रम, र हिमताल विष्फोटलाई न्यूनीकरण गर्ने तथा जोखिममा परेका समुदायहरूको संरक्षणमा केन्द्रित जलवायु लचिलोपन उल्लेख गर्नुभयो।
राजदूत थापा हाल संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी प्रतिनिधिको रूपमा कार्यरत हुनुहुन्छ । उहाँले १ सेप्टेम्बर २०२३ मा आफ्नो प्रमाणपत्र महासचिवसमक्ष बुझाउँदै यो पद सम्हाल्नुभएको हो । राजदूत थापा हालसालै अल्पविकसित राष्ट्रहरूको ग्लोबल समन्वय ब्युरोका अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ, जहाँ उहाँले साझा आवाजलाई विश्वव्यापी निर्णय प्रक्रियामा सशक्त बनाउने प्रयासको नेतृत्व गरिरहनुभएको छ । साथै, उहाँ संयुक्त राष्ट्रसंघको प्रविधि बैंकको शासकीय परिषद्को सदस्य समेत हुनुहुन्छ । थापा चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलनको निष्कर्ष दस्तावेजका सहसंयोजकसमेत रहनुभएको थियो ।
राजदूत थापा एक अनुभवी कूटनीतिज्ञ हुनुहुन्छ, जसको नेपालको वैदेशिक सेवामा ३५ वर्षभन्दा बढीको सेवा अनुभव छ, जसमा द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिमा व्यापक दक्षता रहेको छ । लामो कूटनीतिक यात्राको क्रममा उहाँले स्वदेश तथा विदेशमा विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्नु भएको छ । सन् २०१६ देखि २०२० सम्म श्री थापा बेल्जियम राज्यका लागि नेपालका आवासीय राजदूत तथा यूरोपियन युनियनका लागि प्रमुख मिशनको रूपमा कार्यरत हुनुहुन्थ्यो । सो अवधिमा उहाँ नेदरल्यान्ड्स तथा लक्जेमबर्गमा समेत एकै साथ मान्यता प्राप्त राजदूत हुनुहुन्थ्यो । यस अतिरिक्त, उहाँ रासायनिक हतियार निषेध संगठन विश्व भन्सार संगठन , वस्तुहरूको साझा कोष, र विकासशील राष्ट्रका उत्पादनहरूको प्रवर्धन केन्द्र लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा स्थायी प्रतिनिधिको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो । अघिल्ला कूटनीतिक जिम्मेवारीहरूमा उहाँ बेइजिङ, रियाद, र क्यानबेरास्थित नेपाली दूतावासहरूमा कार्यरत हुनुहुन्थ्यो ।
स्वदेशमा, श्री थापाले परराष्ट्र मन्त्रालय अन्तर्गत उत्तर–पूर्वी एशिया, दक्षिण–पूर्वी एशिया, तथा पश्चिम एशिया डिभिजनका प्रमुखको रूपमा कार्य गर्नुका साथै राहदानी विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको कार्यकालमा विभागमा महत्वपूर्ण सुधारहरू गरिएको थियो, जसमा अनलाइन आवेदन प्रणाली र छिटो सेवा विकल्पहरू समावेश थिए, जसले नागरिकहरूलाई एकै दिनमा राहदानी प्राप्त गर्न सम्भव बनाएको थियो । उहाँले परराष्ट्र मन्त्रालयका विभिन्न शाखामा विभिन्न भूमिकामा कार्य गर्नुभएको छ । साथै, उहाँले सन् २००६ देखि २००९ सम्म नेपालका पहिलो राष्ट्रपति कार्यालयमा प्रोटोकल तथा समन्वय अधिकृतको रूपमा कार्य गर्नुभएको थियो र सन् २०१४ मा नेपालका परराष्ट्रमन्त्रीका निजी सचिवको रूपमा पनि कार्य गर्नुभएको थियो ।
राजदूत थापाले नेपाललाई अन्तर्राष्ट्रिय उच्चस्तरीय मञ्चहरूमा प्रतिनिधित्व गर्नुका साथै द्विपक्षीय तथा बहुपक्षीय वार्ताहरूमा सहभागी हुनुभएको छ । उहाँले नेपालको तर्फबाट धेरै पटक राष्ट्राध्यक्ष तथा विशिष्ट विदेशी पाहुनाहरूको भ्रमणमा साथ दिनुभएको छ ।
सन् २०२१ मा उहाँलाई नेपाल सरकारको तर्फबाट विशिष्ट सार्वजनिक सेवाका लागि “सुप्रबल जनसेवा श्री” पदक प्रदान गरिएको थियो। यसअघि, सन् २०१५ मा उहाँ “निजामती सेवा पुरस्कार” बाट पनि सम्मानित हुनु भएको थियो।
राजदूत थापाले बेलायतको ल्यानकास्टर विश्वविद्यालयबाट कूटनीतिमा स्नातकोत्तर उपाधि र त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गर्नुभएको छ। उहाँले नेपाल, अष्ट्रेलिया, दक्षिण कोरिया, थाइल्याण्ड र अमेरिकामा कूटनीतिक तालिम पनि लिनुभएको छ।





