अमेरिकी सहयोग नियोग (एमसीसी) सहयोगमा नेपालमा सञ्चालित परियोजनामा पुन: काम सुरु भएको छ । एमसीए–नेपालले विद्युत् प्रसारण लाइन निर्माणका दुई ठूला ठेक्का सम्झौता गरेसँगै नेपालमा एमसीसीको सहयोग पुन: सक्रिय भएर काम अघि बढेको हो । ‘अमेरिकी सरकारबाट वैदेशिक सहायता समीक्षा सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धता साथ एमसीसीको नेपाल कम्प्याक्ट पुन: सक्रिय भएको छ,’ एमसीए नेपालले भनेको छ ।

एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली र नयाँ दमौली–बुटवल ४०० केभी प्रसारण लाइन निर्माण सम्झौता गरेको हो । एमसीए नेपालले रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माण सम्झौता एन्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ–दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको हो ।
यी दुई प्रसारण लाइनको कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर अर्थात् २१ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यी दुई परियोजना अन्तर्गत १ सय ८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनहरूको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन लगायत काम गरिने एमसीए–नेपालले जनाएको छ । यो ठेक्का सम्झौतामा गत बिहीबार एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट र दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरे ।
‘यी सम्झौतामा हस्ताक्षर गरी एमसीसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुन: पुष्टि गरेको छ’, एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विंगलले भने, ‘नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआबद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित छौं ।’

अर्थ मन्त्रालयका सचिव तथा एमसीए–नेपाल सञ्चालक समिति अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन र सबस्टेसनहरू निर्माण सम्बन्धी नेपाल सरकारको योजना कार्यान्वयन गर्न अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोगको सह्राना गरे । यो निर्माण सम्झौता एउटा उपलब्धि मात्र नभई नेपालको विकास र समृद्धिप्रति अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक भएको नेपालस्थित अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसन मिक्सले बताए ।
‘यस साझेदारी मार्फत हामी विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौं, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौं । एमसीसी कम्प्याक्ट नेपाल नेपाल र अमेरिकाबीचको सहकार्यको आधारशिला हो,’ उनले भने । कम्प्याक्ट अगाडि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको आफूहरूले सह्राना गरेको एमसीए– नेपालका कार्यकारी निर्देशक विष्टले बताए ।






