नेपालमा विगतमा भारतीय नक्कली सर्टिफिकेटहरु व्यापक मात्रामा विक्री हुने गरेको विभिन्न अनुसन्धानहरुले पुष्टि गरेको छ । सयौ सरकारी कर्मचारीहरु छानवीनपछि नक्कली भारतीय प्रमाणपत्र भएको भन्दै जागिरबाट हात धुनु परेको छ । प्रायजसो तराईका जिल्लाहरुमा यस्तो धन्धाहरु व्यापक रुपमा चल्ने गरेका छन । रूपन्देही प्रहरीले ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेपछि अझै पनि यस्ता धन्दाहरु जारी रहेको पुष्टि हुन्छ । पक्राउ पर्नेमा भारतको कानपुर नौ वस्ति बस्ने २५ वर्षीय अभिषेक यादव छन्। यादवले नेपालको सिमा क्षेत्र वा अन्य जिल्लाका दलालहरु प्रयोग गरेर भारतीय विभिन्न कलेजहरुको नक्कली प्रमाणपत्र बनाउने गरेको खुलेको छ ।


उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू प्रमाणपत्र, नक्कली प्याड, छापलगायत बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यादवलाई आइतबार साँझ पक्राउ गरेको हो। सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहिया बसपार्कमा रहेको होटेल मुक्तिनाथ परिसरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले यादवको शरीर र उनको सुटकेस खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालयका १ सय वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्रहरू फेला पारेको छ।

विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली र ५ वटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयको ४ हजार ४० थान रहेको २१ बन्डल होलो ग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान रहेको १७ प्याकेट नक्कली होलो ग्राम र स्टिकरहरू बरामद गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। यसै गरी भारतको एमीटी विश्वविद्यालयका ८० वटा नक्कली मार्क सिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट र ४९ वटा अन्य खाली प्रमाणपत्रहरू र ४० वटा खाली लोगो पनि बरामद गरेको छ । बरामद गरिएका ति सबै नक्कली हुन ।

यस्तै जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालय सहित अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयहरूको नाम लेखिएका दर्जनौँ नक्कली स्ट्याम्प र छापहरू पनि बरामद भएका छन्। त्यस्तै चार वटा पेन ड्राइभ, एक थान एचपी कम्पनीको ल्यापटप, एक थान आई फोन, एक थान रियलमी मोबाइल, तीन वटा एटिएम कार्ड, भारू १८ हजार ५ सय रुपैयाँ र नेपाली ३ हजार २५ रुपैयाँ नगद बरामद गरिएको कार्कीले बताए। यो घटनाले नक्कली शैक्षिक प्रमाणपत्रको अवैध कारोबारको गम्भीरतालाई उजागर गरेको छ, जुन शिक्षा क्षेत्रका लागि ठूलो चुनौती हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेका यादव कसैको लागि काम गर्ने कामदार मात्र रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। उनले प्रायजसो विदेश अध्ययन र कामको प्रयोजनको लागि नक्कली प्रमाणपत्र बनाउने गरेको सुरुवाती अनुसन्धानमा खुलेको बताए।
प्रहरीका अनुसार त्यहाँ बरामद गरिएका विभिन्न डकुमेन्टबाट नेपालको सम्पर्क व्यक्तिहरु र विदेशमा पनि उनिसंग रहेका सम्पर्क व्यक्तिहरुको केहि तथ्यांक भेटिएको बताइएको छ यद्दपि प्रहरीले छानवीनलार्य असर पर्ने ठहर गर्दै ति सबै गुपचुप राखेको छ । खासगरी विदेश पढ्न जानेहरु पनि त्यहाँबाट उच्च अंकसहितको प्रमाण पत्र किनबेच हुने गरेको तथ्य भेटिएको बताइएको छ । यस घटनाबाट ठुलो सख्यामा नेपाल र विदेशमा दलालको लहरो भेटिएको प्रहरी श्रोतले जनाएको छ ।





