यतिखेर अमेरिकामा राष्ट्रपतिले हरेक दिन जस्तो हस्ताक्षर गरी रहेका कार्यकारी आदेशको नाम वा कस्तो प्रकृतिको हो भनेर आम मानिसमा चासो बढेको छ । राष्ट्रपतिको कार्यकारी आदेशहरु केहि न केहि नयाँ र खासगरी आप्रवासीका लागि त्रासको विषय बनी रहेको अवस्था छ । त्यसैले सामान्यतय कस्तो कार्यकारी आदेश भनेर चासो राख्नु स्वाभाविक हो । त्यहि विषयलाई यहाँ कार्यकारी आदेश र त्यसको ईतिहास खोतल्ने प्रयास गरिएको छ ।


Screenshot
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०१७ देखि जनवरी २०२१ सम्मको आफ्नो पहिलो कार्यकालमा कुल २ सय २० कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए । जनवरी २०२५ सम्ममा तीमध्ये ७२ वटा (करिब ३३%) आदेशहरू खारेज भइसकेका थिए । जसमा धेरैजसो आदेशहरू उनी पछिका राष्ट्रपति जो बाइडेनद्वारा रद्द गरिएका थिए । दोश्रो कार्यकाल सन २०२५ जनवरी २० पछिको पछिल्लो तथ्यांक अनुसार अगष्ट २५ सम्म १९२ वटा कार्यकारी आदेशहरुमा हस्ताक्षर गरी सकेका छन । यो संख्या तुलना गर्दा राष्ट्रपति ट्रम्पले अघिल्लो कार्यकालको भन्दा दोब्बर संख्या पुग्न सक्ने देखाउँछ । सन् २०२५ अगष्टसम्म यस्ता कार्यकारी आदेशहरु १४ हजार ३३८ नम्बरसम्म जारी भएका छन । राष्ट्रपति ट्रम्पले दोश्रो कार्यकाल शुरु हुँदा जनवरी २० मा १४ हजार १४७ बाट शुरु भएको नम्बर फेडरल रजिष्टरको आधिकारीक तथ्यांक अनुसार १४ हजार ३३८ मा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक राष्ट्रिय झण्डा जलाउनेलाई कारबाही गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन । हालसम्मको तथ्यांक केलाउँदा पछिल्लो सात महिनामा लगभग हरेक दिन एक कार्यकारी आदेश भएको देखिन्छ ।

आखिर के हो त कार्यकारी आदेशहरु ? संयुक्त राज्य अमेरिकामा राष्ट्रपति नै राष्ट्रप्रमुख, सरकार प्रमुख र संयुक्त सेनाको प्रमुख भएका कारण कार्यकारी आदेश जारी गर्ने एकमात्र अधिकारी राष्ट्रपति हुन् । अमेरिकाकी संविधानको दोस्रो अनुच्छेद अनुसार राष्ट्रपतिलाई कार्यकारी निर्देशनको अधिकार दिइएको छ । कानुनी विधेयकहरू वा सरकारी एजेन्सीहरूले जारी गर्ने नियमहरूजस्तै, कार्यकारी आदेशहरू पनि न्यायिक पुनरावलोकनको अधीनमा पर्छन्, र यदि तिनीहरू संसदको कानुन वा संविधानको आधारमा वैध छैनन् भने खारेजयोग्य हुन्छ र भएका छन । केही नीतिगत पहलहरू संसदको स्वीकृति आवश्यक पर्न सक्छ, तर कार्यकारी आदेशहरूले सरकारको आन्तरिक कामकाजमा महत्वपूर्ण प्रभाव पार्दछन् । यिनीहरूले कुनै कानुन कति र कसरी लागू गर्ने भन्ने निर्धारण गर्न, आपतकालीन अवस्थाहरूमा कार्यन्वयन गर्न, युद्धसम्बन्धी निर्णयहरू लिन र व्यापक कानुनहरूको कार्यान्वयनमा नीति समायोजन गर्न प्रयोग त्यस्ता आदेशहरु गर्ने गरेको अमेरिकी ईतिहास छ ।

राष्ट्रपतिद्वारा एक पटक जारी गरिएको कार्यकारी आदेश तबसम्म प्रभावमा रहन्छ जबसम्म त्यो रद्द, खारेज, गैरकानुनी ठहर, वा स्वतः समाप्त हुँदैन । कुनै पनि समय, राष्ट्रपतिले पुराना (पूर्व राष्ट्रपतिले जारी गरेका) कार्यकारी आदेशहरूलाई रद्द गर्न, परिमार्जन गर्न, वा अपवाद राख्ने कानुनी अधिकारहरु हुन्छन । उदाहरणका लागि राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालमा गरिएका ७२ वटा कार्यकारी आदेशहरु राष्ट्रपति जो बाईडनले रद्द गरेका थिए । नयाँ राष्ट्रपतिले प्रायः पद सम्हालेपछि पहिलो केही साताभित्र वर्तमान कार्यकारी आदेशहरूको पुनरावलोकन गर्ने गरेको अमेरिकी ईतिहास छ । २०२५ जनवरी २० मा राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश नम्बर १४१४८ मा हस्ताक्षर गरे, जसको शीर्षक थियो “हानिकारक कार्यकारी आदेशहरु र क्रियाकलापहरूको प्रारम्भिक रद्द” । यस शिर्षकको कार्यकारी आदेशले बाइडेनका ६८ कार्यकारी आदेशहरू र ११ राष्ट्रपतिको मेमोरान्डाहरू एकै पटकमा रद्द भएका थिए । जसले विविधता, समानता र समावेशन, जलवायु, आप्रवासन र अन्य क्षेत्रहरूमा लागू भएका नीतिहरूप्रति लक्षित थियो । हालसम्म कुल मिलाएर ट्रम्पले बाइडेनका करिब ७८ कार्यकारी आदेशहरू रद्द गरीसकेका छन ।
संयुक्त राज्य अमेरिकामा कार्यकारी आदेश
संयुक्त राज्य अमेरिकामा, कार्यकारी आदेश भनेको राष्ट्रपतिद्वारा संघीय सरकारको कार्य सञ्चालनका लागि दिइने सविधानप्रदत्त निर्देशन हो । यी आदेशहरू संघीय सरकारको कार्यकारी शाखामा मात्र बाध्यकारी हुन्छन् । कार्यकारी आदेशहरूको कानुनी वा संवैधानिक आधार विभिन्न स्रोतहरूमा आधारित हुन्छ । अमेरिकाको संविधानको दोस्रो अनुच्छेद अनुसार राष्ट्रपतिलाई व्यापक कार्यकारी अधिकार दिइएको छ, जसअनुसार उनीहरूले संघीय कार्यकारी शाखाका स्रोत र कर्मचारीको व्यवस्थापन गर्न वा कानुन कसरी कार्यान्वयन गर्ने भन्नेबारे निर्णय गर्न सक्छन् ।

यस्ता आदेशहरू जारी गर्न राष्ट्रपतिले प्रायः संसदबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिइएको अधिकार वा संविधानमा निहित अधिकारको आधार लिनुपर्छ । अधिकांश कार्यकारी आदेशहरू राष्ट्रपतिद्वारा जारी गरिनु अघि संघीय एजेन्सीहरूद्वारा प्रस्ताव गरिन्छन् । विलियम हेनरी ह्यारिसन( जो छोटो समय राष्ट्रपति हुँदा निधन) लाई बाहेक, सन् १७८९ मा जर्ज वासिङ्टनदेखि अहिलेसम्मका सबै राष्ट्रपतिहरूले त्यस्ता आदेशहरू जारी गरेका छन्, जुन सामान्य रूपमा कार्यकारी आदेश भनेर वर्णन गर्न सकिन्छ । सुरुआती समयमा ती आदेशहरू कुनै निश्चित ढाँचामा हुँदैनथे, जसका कारण तिनीहरूको रूप, आदेश र सामग्रीमा विविधता पाइन्थ्यो । त्यसपछिका कार्यकारी आदेशहरु सविधानत प्रारुप गरिएका स्वरुपमा जारी हुनेगर्दछ ।
पहिलो कार्यकारी आदेश जर्ज वासिङ्टनले जुन ८, १७८९ मा जारी गरेको ईतिहास छ । उक्त आदेश संघीय विभागहरूका प्रमुखहरूलाई सम्बोधन गरिएको थियो । त्यसमा वासिङ्टनले तिनीहरूलाई आफ्नो–आफ्नो क्षेत्रका अमेरिकी मामिलाहरूको “पूर्ण, सटीक, र स्पष्ट सामान्य धारणा“ दिन निर्देशन दिएका थिए । राजनीतिशास्त्री ब्रायन आर. डिर्कका अनुसार, सबैभन्दा प्रसिद्ध कार्यकारी आदेश राष्ट्रपति अब्राहाम लिंकनले सेप्टेम्बर २२, १८६२ मा जारी गरेको जनरल वार आदेश नं. १ हो, जसमा सेना, नौसेना, र अन्य कार्यकारी विभागहरूका लागि स्पष्ट निर्देशनहरू समावेश थिए ।

राष्ट्रपति अब्राहम लिंकनको पहिलो कार्यकारी आदेश जनरल वार आदेश नं. १ जुन १८६२ जनवरी २७ मा जारी गरिएको थियो । यस आदेशले संघका विरुद्ध संयुक्त राज्यको थलसेना र नौसेनाको समन्वित रूपमा अगाडि बढ्ने योजना तय गरेको थियो ।
सन् १९०७ मा कार्यकारी आदेशहरूलाई औपचारिक रूपमा नम्बर दिन थालिएभन्दा अघि, लिंकनजस्ता राष्ट्रपतिहरूले सयौँ कार्यकारी आदेशहरू जारी गरिसकेका थिए । यिनमा केही उल्लेखनीय आदेशहरू थिए । जसमा १८६३ मा लुइसियानामा अस्थायी अदालत स्थापना गर्ने आदेश, र १८६२ मा संयुक्त राज्यका सबै टेलिग्राफ लाइनहरूलाई सैनिक नियन्त्रणमा लिने आदेश हुन । यी आदेशहरूले लिंकनको कार्यकालमा राष्ट्रपतिले कार्यकारी शक्तिको प्रयोग कसरी राष्ट्रिय संकटको समयमा निर्णायक रूपमा गरेका थिए भन्ने स्पष्ट देखाउँछ ।

राष्ट्रपतिमा शपथ लिएपछि दुई महिनापछि, जर्ज वासिङ्टनले आफ्नो पहिलो कार्यकारी आदेश सन् १७८९ जुन ८ मा जारी गरे । यद्यपि “कार्यकारी आदेश” भन्ने शब्द संविधानमा उल्लेख थिएन, विलियम हेनरी ह्यारिसन (जो पद सम्हालेको केही समयमै निमोनियाका कारण मृत्यु भएका थिए) बाहेक प्रत्येक राष्ट्रपतिले कार्यकारी आदेशहरू जारी गरेको ईतिहास छ । राष्ट्रपति विलियम हेनरी ह्यारिसनले एउटा पनि कार्यकारी आदेश गरेनन । केही कार्यकारी आदेशहरू अत्यन्त विवादास्पद भए पनि, अरू कतिपय आवश्यक र महत्वपूर्ण प्रमाणित भएका छन् ।
राष्ट्रपतिका रूपमा आफ्नो कार्यकालमा, जर्ज वासिङ्टनले करिब आठ वटा “कार्यकारी आदेश“ जारी गरेका थिए, यद्यपि तिनीहरूलाई त्यो समय औपचारिक रूपमा कार्यकारी आदेश भनिएको थिएन । पहिलो आदेश जुन ८, १७८९ को मितिमा पत्रमार्फत जारी गरिएको थियो, जसमा उनले कार्यकारी विभागका प्रमुखहरूलाई उनीहरूले नेतृत्व गरिरहेको विभागहरूसम्बन्धी “संयुक्त राज्य अमेरिका सम्बन्धी पूर्ण, सटीक, र स्पष्ट सामान्य धारणा“ पेश गर्न आग्रह गरेका थिए ।
जब वासिङ्टनले १७८९ अप्रिल ३० मा शपथ लिएका थिए । यसको अगाडि, १७८४ जनवरी १८ मा भर्जिनियाका गभर्नर बेंजामिन ह्यारिसनलाई लेखिएको पत्रमा, वासिङ्टनले चेतावनी दिएका थिए कि, यदि सरकार बलियो र सक्षम नभए, भने परिणाम “आधा भोकाएको, लुलो सरकार जसले लठी टेकेर हिँड्नुपर्छ, र हरेक कदममा डगमगाउँछ” जस्तो हुनेछ भनिएको थियो । यसले देखाउँछ कि वासिङ्टन संघीय सरकारको स्थायित्व र प्रभावकारिताको पक्षमा दृढ थिए, र कार्यकारी आदेशहरू त्यस उद्देश्यतर्फ उठाइएको प्रारम्भिक कदमहरूमध्ये एक थिए ।
ईतिहासमै धेरै कार्यकारी आदेश र त्यसको पृष्ठभुमि
राष्ट्रपति फ्रान्कलिन डी. रूजवेल्टले सबैभन्दा धेरै कार्यकारी आदेश जारी गरेका थिए जुन सख्या ३ हजार ७२१ थियो । अमेरिकी इतिहासमै त्यो एक कीर्तिमान हो । उनको कार्यकालमा कार्यकारी आदेशहरूको प्रयोग अत्यधिक भएको थियो, विशेषत कार्यक्रमहरू कार्यान्वयन गर्न र दोस्रो विश्वयुद्धको व्यवस्थापन गर्न केन्द्रित थियो । ती दुबै समयहरू राजनीतिक र आर्थिक अस्थिरताले भरिएका थिए, जसले कांग्रेसबाट कानुन पारित गर्न कठिन थियो । त्यसैले, उनले कार्यकारी आदेशहरूलाई प्रभावकारी उपकरणको रूपमा प्रयोग गरेको बताईन्छ ।
१९३० को दशकमा अमेरिका भीषण आर्थिक संकटमा परेको थियो । त्यहि बेला राष्ट्रपति रुजवेल्टका कार्यक्रमहरू अन्तर्गत रोजगारी सिर्जना, बैंक सुधार, कृषिमा सहायता, र सामाजिक सुरक्षाजस्ता उपायहरू तुरुन्त कार्यान्वयन गर्नुपर्ने आवश्यकता थियो । त्यहि कार्यकारी आदेशहरू मार्फत रूजवेल्टले यी नीतिहरूलाई संसदको ढिलो प्रक्रियाको प्रतिक्षा नगरी छिटो लागू गर्न सकेको मानिन्छ । दोश्रो विश्वयुद्ध युद्धकालीन अवस्थाले तत्कालीन संघीय सरकारलाई सेना, उद्योग, र जनशक्ति व्यवस्थापन गर्न अनेक निर्णयहरू छिटो गर्नुपथ्र्यो । रूजवेल्टले कार्यकारी आदेशहरू प्रयोग गरेर सैन्य भर्ती, युद्ध आपूर्ति नियन्त्रण, नागरिक सुरक्षा, र अन्तर्राष्ट्रिय रणनीतिक विषयहरूमा निर्णय लिएका थिए ।
यो आदेश सन् १९३३ मा राष्ट्रपति फ्रान्कलिन डी. रूजवेल्ट द्वारा जारी गरिएको थियो, महामन्दीको समयमा आर्थिक संकट समाधान गर्न, यसको उद्देश्य अमेरिकी डलरको अवमूल्यन गरी मुद्रास्फीति बढाउने र अर्थतन्त्रमा गति ल्याएको थियो । तर यसको विधि नै धेरैका लागि अस्वीकार्य भयो ।
अमेरिकी ईतिहासमा विवादास्पद कार्यकारी आदेश नम्बर ६१०२ ?
अमेरिकी ईतिहासमा विवादास्पद मानिएको कार्यकारी आदेश नम्बर ६१०२ हो, जसले अमेरिकी नागरिकहरूलाई आफ्नो सुन सरकारलाई बुझाउन बाध्य पारेको थियो । त्यो आदेश दुई प्रमुख कारणले विवादास्पद बन्यो । पहिलो कारण केही मानिसहरूले यस आदेशलाई संविधानविरोधी माने, किनभने यसले नागरिकहरूको व्यक्तिगत सम्पत्तिमा रहेको अधिकार (विशेषगरी निजी स्वामित्वको सुन) माथि सरकारी हस्तक्षेप ग¥यो ।
दोश्रो यो आदेश लागू भएपछि सरकारद्वारा सुनको मूल्य बढाइयो, जसले गर्दा पहिले नै कम मूल्यमा सुन बेच्न बाध्य पारिएका नागरिकहरू क्रुद्ध भए । उनीहरूले आफ्नो सम्पत्ति सस्तोमा गुमाउनु परेको महसुस गरे, जुन सरकारको धोखाधडी जस्तो महसुश गरेका थिए ।
कार्यकारी आदेशहरूको कानुनी प्रभाव र अन्तर्राष्ट्रिय अभ्यासहरु पनि छन । कार्यकारी आदेश भन्नाले कुनै राष्ट्रको प्रमुख कार्यकारी (जस्तै राष्ट्रप्रमुख वा सरकार प्रमुख) द्वारा जारी गरिएको निर्देशन हो, जसले संघीय प्रशासनको सञ्चालन व्यवस्थापन गर्छ । यस्ता आदेशहरूको संरचना र कानुनी अधिकार देशअनुसार फरक हुन सक्छ, तर सामान्यतः तिनीहरूले सरकारका निकायहरूलाई निर्देशन दिन, नीति कार्यान्वयन गर्न वा आपतकालीन परिस्थितिमा बिना नयाँ कानुन प्रत्यक्ष प्रतिक्रिया जनाउन अनुमति दिन्छन् ।
धेरैजसो प्रणालीहरूमा, कार्यकारी आदेशहरूको कानुन संविधान, संसदको कानुन वा न्यायिक निगरानीद्वारा सीमित गरिन्छ । यो पद विशेषगरी राष्ट्रपति प्रणाली भएका देशहरूमा प्रख्यात छ, जस्तै संयुक्त राज्य अमेरिका (अमेरिका) मा, जहाँ कार्यकारी आदेशहरू राष्ट्रपतिको प्रशासनभित्र कानुनी प्रभाव राख्छन् । यसबाट प्रष्ट हुन्छ कि कार्यकारी आदेशहरू विश्वभर विभिन्न स्वरूप र शक्तिसहित प्रयोग गरिन्छन्, तर तिनीहरू प्रायः कार्यपालिकाले तात्कालिक नीति कार्यान्वयन र प्रशासनिक निर्णय गर्न प्रयोग गर्ने प्रमुख उपकरण हुन् । धेरै देशहरूमा कार्यकारी आदेश जस्तै प्रणालीहरू छन्, तर तिनीहरूको संरचना र कानुनी अधिकार फरक छ । बेलायत र क्यानडामा यस्ता आदेशहरूलाई जुन राजा वा गभर्नर जनरल द्वारा मन्त्रीहरूको सल्लाहमा जारी गरिन्छ । यी आदेशहरू कानुनी अधिकार वा शाही अधिकारमा आधारित हुन सक्छन् ।
फ्रान्स वा रुसमा कार्यपालिकालाई विशेष अवस्थामा अस्थायी कानून बनाउने अधिकार वा आदेश जारी गर्ने अधिकार दिइन्छ, जुन प्रायः आपतकालीन वा प्रशासनिक प्रयोजनका लागि हुन्छ। यी आदेशहरू संसदीय स्वीकृति वा न्यायिक समीक्षा अन्तर्गत पर्न सक्छन् । यसबाट प्रष्ट हुन्छ कि कार्यकारी आदेशहरू विश्वभर विभिन्न स्वरूप र शक्ति सहित प्रयोग गरिन्छन्, तर तिनीहरू प्रायः कार्यपालिकाले तात्कालिक नीति कार्यान्वयन र प्रशासनिक निर्णय गर्न प्रयोग गर्ने प्रमुख हतियार हुन् ।





