अमेरिकामा आप्रवासीमाथी कडाई भईरहँदा आगामी दिनमा अन्तराष्ट्रिय विधार्थीहरुमाथी पनि थप कडाई गर्ने तयारी भईरहेको छ । राष्ट्रपति ट्रम्प प्रशासनले ति विद्यार्थीहरूका लागि अझै कडाइ गर्ने नीति लिएको हो । जसमा यस अघि विद्यार्थीहरूका लागि दिइँदै आएको विभिन्न सुविधाहरू खारेज गर्दै थप नयाँ कडाई प्रस्ताव गरिएको छ । विगतमा जस्तो अवको दिनमा पढाई सकेका विधार्थीहरुका लागि कुनै न कुनै तरिकाले बसाइँ लम्ब्याउन सक्ने प्रावधानहरुमा कडाई गर्दै नयाँ नीतिमा अमेरिका बस्न विद्यार्थीहरूका लागि निश्चित समय मात्र उपलब्ध गराईने उल्लेख छ । अन्तराष्ट्रिय विद्यार्थीका लागि बन्न लागेको नयाँ कानुनको मस्यौदा अहिले जनतामा पठाइएको अमेरिकाको न्युयोर्कमा रहेका कानुन व्यवसायी वासु फुलाराले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन ।

’नयाँ कानुनबारे आफ्ना प्रतिक्रिया दिन सेप्टम्बर २९ सम्मको समय तोकिएको उनले बताएका छन । त्यस्तै आप्रवासन सम्बन्धी सेवा दिने विभाग युएससिआइएसको फारामहरू सम्बन्धी प्रतिक्रिया दिनको लागि अक्टोबर २७ सम्मको समय तोकिएको छ । ’सरोकारवाला निकायहरू र जनताबाट आएका प्रतिक्रियाका आधारमा यसलाई कुनै पनि समयमा कार्यान्वयनमा लगिने अपेक्षा गरिएकोले यसको लागि केहि महिना लाग्न सक्ने उनले बताएका छन ।
आउँदो शैक्षिक सत्रलाई केन्द्रित गरेर विद्यार्थीहरूका लागि परिवर्तित हुन लागेका केहि बुँदाहरुमा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अमेरिका प्रवेश तथा बसाइँको अवधि अधिकतम ४ वर्षसम्म सीमित रहनेछ । तर अहिलेको नियम अनुसार आफ्नो कोर्ष पूरा नभएसम्म जति समय लागे पनि बस्न पाइन्छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विषय र कलेज परिवर्तन गर्न चाहेको खण्डमा एउटा शैक्षिक संस्थामा कम्तीमा पहिलो वर्ष पूरा नगरेसम्म कुनै विषय परिवर्तन गर्न पाउने छैनन् । तर स्नातकोत्तर तहमा अध्ययन गर्न आउने विद्यार्थीहरूले अध्ययन गर्दा आफ्नो कोर्ष परिवर्तन गर्न नपाउने नियम आउँदैछ ।
त्यसैगरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कुनै शैक्षिक तहबाट उस्तै अथवा तल्लो तहमा परिवर्तन गर्न नपाउने तर केबल उच्च तहमा मात्र जान पाउने नियम लगाइएको छ । अमेरिका आउँदा अध्ययन गर्न वा तालिम पूरा भएपछि अमेरिका छोड्न पर्ने हालको ६० दिनको अवधिलाई घटाएर ३० दिन बनाइएको छ । अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बसाइँको क्रममा आफ्नो कोर्ष पूरा नगरेको अवस्थामा त्यसलाई पूरा गर्नको लागि समय माग गरेर बेलैमा निवेदन दिनुपर्ने र सम्बन्धित व्यक्तिले निवेदन दिँदा बायोमेट्रिक संकलन गरिने प्रावधान राखिएको छ । भाषाको लगि तालिम लिने विद्यार्थीको बसाइँ अधिकतम २४ महिना मात्र राखिएको छ ।
त्यसैगरी शैक्षिक ढिलाइको लागि बसाइँ लम्बाइको आवेदन दिँदा विभिन्न खालका कारबाहीमा परेका, निलम्बन भएका अथवा अध्ययन गर्न सक्ने क्षमता नदेखाएका विद्यार्थीहरूको भिसा अवधि नथपिने प्रावधान ल्याइएको छ । अवधि लम्ब्याउनका लागि निवेदन दिँदा विश्वसनीय आधार देखाउन पर्छ । आर्थिक संकटको विश्वासिलो आधार देखाएर समयमै विद्यार्थीले अमेरिका बसाइँ लम्ब्याउने निवेदन दिएको अवस्थामा उसले २ सय ४० दिन काम गर्न पाउनेछ ।
विदेशबाट आउने पत्रकारहरूले अमेरिका प्रवेश गरिसकेपछि २ सय ४० दिन मात्रै अधिकतम बस्न पाउनेछन् । योग्य व्यक्तिहरूले बसाइँ विस्तार गर्न परेमा निवेदन दिन सक्नेछन्। बसाइँ विस्तारको निवेदन विचाराधीन रहेको अवस्थामा अर्को २ सय ४० दिन सम्बन्धित विदेशी संस्था वा रोजगारदाताको लागि काम गर्न पाउनेछ । विभिन्न खालका ‘एक्सचेन्ज प्रोग्राम’ मा अमेरिका पुगेकाहरूले अमेरिका बस्न निवेदन दिएर त्यो विचाराधीन रहेको अवस्थामा २ सय ४० दिन काम गर्न र तालिम लिन पाउनेछन्। एफ, जे, आइ भिसामा आउनेहरूको लागि अवधि अनुसारको बसाइँलाई हटाएर निश्चित अवधि कायम राखिएको छ । यो हेदौ अमेरिकामा यो कानुन आए हालसम्म्कै अमेरिकामा पढ्न जाने विधार्थीका लागि सबैभन्दा कडा नियम हुनेछ । अबको बन्न लागेको नियम अनुसार अमेरिकामा विद्यार्थीहरूले एउटै तहको पढाइ दोहो¥याएर पढ्न असम्भव हुनेछ ।
यस अघि अमेरिकामा रहेका विद्यार्थीले मास्टर्स सकेर डिप्लोमा अनि डिप्लोमा पनि धेरै विषयमा पढ्न पाउने थिए त्यसको मतलव २÷३ वटा विषयमा मास्टर्स गरेर भए पनि अल्मलिन पाइने व्यवस्था थियो । यो व्यवस्था थियो जुन अमेरिकामा पढ्ने विधार्थीहरुले आफ्नो कानुनी स्टाटस बनाउने समयका लागि प्रयोग गर्ने गर्दथे । अहिले प्रक्रियामा रहेको कानुनी प्रावधान लागू भइसकेपछि विद्यार्थीले एउटै तहमा बारम्बार पढ्न पाउने छैनन् । फुलाराका अनुसार दोहोर्याएर डिप्लोमा गर्न त असम्भव छ । मास्टर्स र पिएचडीमा पनि बसाइँ लम्ब्याउनको लागि २ विषय पढ्न समेत कडाइ गरिएको छ । अब विद्यार्थीले ४ वर्षभन्दा धेरै बस्न नपाउने भएकाले ३÷४ विषयमा मास्टर्स, पिएचडी गर्न पनि असम्भव जस्तै हुने उनको भनाइ छ ।
यसअघि विद्यार्थी भिसामा जाने अनि छोटो अवधिका लागि फेलोसिप तथा विभिन्न तालिममा गएकाहरूले विभिन्न उपाय लगाएर बस्न सक्ने प्रावधान थियो । जस्तो कोही विद्यार्थी २ वर्षको लागि अमेरिका गयो भने पढाइ नसकिँदासम्म समय थपेर बस्न पाइने सुविधा थियो। तर अब समय थप्ने प्रक्रिया जटिल बनाइएको छ ।
विद्यार्थी भिसा, फेलोसिप भिसा लगायत विभिन्न कार्यक्रममा गएकाहरू दसौं वर्ष बसेका उदाहरण थियो। पहिला मिति नतोकिकन मजाले बस्न पाइनेथियो तर अब कुनै विद्यार्थीको पढाइ नसकिने स्थिति आयो भने बेलैमा निवेदन दिनुपर्छ। निवेदन स्वीकृत भएपछि मात्र अमेरिका बस्न पाइन्छ । त्यस्तै, अक्टोबरदेखि भिसा पारदर्शिता शुल्क भनेर २ सय ५० अमेरिकी डलर अतिरिक्त तिर्नुपर्ने हुन्छ। अहिले १ सय ८५ डलर छ । अहिले पढाइको भिसा शुल्क अमेरिका जाने सबैका लागू हुन्छ । अर्थात् भिसा छुट नभएका देशका नागरिकले अब झण्डै ४ सय ४२ डलर तिर्नु पर्नेछ । अहिलेसम्म अध्यागमन न्ययाधीश वा युएससिआइएसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बसाइँ गैरकानुनी नभनेसम्म कुनै पनि व्यक्तिले अमेरिका छोड्न पर्ने थिएन अब नयाँ कानुन लागू भइसकेपछि भने अध्यागमनले समेत गैरकानुनी भन्न सक्नेछ । त्यसैगरी कतिपय भिसामा दूतावास नगइकन आफ्नो पासपोर्ट पठाएर मात्र पनि हुन्थ्यो भने अब अमेरिकी दूतावास गएरै अन्तर्वार्ता दिन पर्नेछ । पढाइ सकेका विद्यार्थीले ग्रीनकार्डका लागि कम्पनीको स्पोन्सर अनि परिवार अमेरिकामा छ भने पनि भिसाको अवधि रहँदैमा निवेदन दिनुपर्छ ।





