• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अन्तत जेन्जी आन्दोलनबाट “सिंहदरबार” ईतिहास खरानी भयो

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २६, बिहीबार २०:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मंगलबार दिउँसो सवा २ बजे सिंहदरबार पुग्दा दक्षिणतर्फको गेट अगाडि फलामका छेकबार थिए । गेटभित्र थिए– नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी । सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा युनिटका जवानहरूको अनुहार भने मलिन देखिन्थे । हातमा हतियार थियो, तर आफैं सुरक्षित महसुस गरिरहेका थिएनन् ।

    दक्षिण गेटबाट भित्र छिर्दा पश्चिम गेटतिर नेपाल आर्मीको एउटा टोली दौडिरहेको थियो । पश्चिम गेटबाट प्रदर्शनकारी सिंहदरबार प्रवेश गरेका थिए । केहीबेरमै उनीहरूलाई बाहिर निकालेर सुरक्षाकर्मीले सिंहदरबारको सुरक्षा नियन्त्रणमा लिए ।

    सिंहदरबारको सुरक्षा नियन्त्रणमा आएको सूचना प्रवाह गर्न नपाउँदै पूर्वी गेट अगाडि टायर बालेर प्रदर्शनकारीहरूले नारा लगाउन थाले ‘अहिले जलाउँछौं, भोलि बनाउँला’, ‘हामी भत्काउँछौं, हामी नै बनाउँछौं’, ‘अब छोड्दे, अब छोड्दे ।’

    गेटमा परिचालित तीनवटै सुरक्षा निकायका टोली नयाँ बानेश्वरस्थित संसद भवन जलाउने प्रर्दशनकारीहरू पुगेपछि भने पछाडि हट्ने वातावरण बन्यो । प्रदर्शनकारीले फलामका छेकबार हटाए ।

    उनीहरूले प्लास्टिकको डिभाइडरभित्र बोेरा बालेर पेट्रोल खनाए । सुरक्षा निकाय पछाडि हट्यो । सुरक्षाकर्मीले सिंहदरबार गेटमा तीन फन्का बेरिएको फलामको साङ्लो एक फन्कामा झारेर ताला लगाइदिए ।

    प्रदर्शनकारीले गेट तोडफोड सुरु गरेपछि सुरक्षाकर्मीहरू सिंहदरबारभित्र संघीय मामिला मन्त्रालयको अगाडि हुँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय छेउतिर गए । प्रदर्शनकारी गेट तोडेर छिरे ।

    सुरक्षा निकाय गाडी चढेर बाहिरिएसँगै प्रदर्शनकारीले नेपालको झन्डा देखाएर सुरक्षाकर्मीहरूलाई बिदा गरे । सुरक्षाकर्मीहरू सिंहदरबारबाट बाहिरिँदा गेट छेउमै रहेको सुरक्षा पोस्टमा आगो दन्किरहेको थियो ।

    त्यतिबेलासम्म पश्चिम गेट र पूर्वी गेटबाट पनि प्रदर्शनकारी छिरिसकेका थिए । पश्चिम गेटबाट प्रवेश गरेकाहरूले गृह मन्त्रालयबाट तोडफोड सुरु गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै कांग्रस र नेकपा एमालेको संसदीय दलको कार्यालयसम्म पुगे । दक्षिण गेटबाट प्रवेश गरेकाहरूले संघीय मामिला मन्त्रालयबाट तोडफोड सुरु गरे । तोडफोडसँगै आगो लगाए ।

    सिंहदरबारबाट पत्रकारलाई बाहिरिन समेत सकस परेको थियो । ‘पत्रकार हो ! बाहिर जाऊ’ प्रदर्शनकारीमध्ये एकले भने ।

    ‘अबको रिर्पोटिङ हामी गरौंला’ अर्कोले थपे । सिंहदरबार पूर्णत: प्रदर्शनकारीको नियन्त्रणमा गयो ।

    क्षणभरमै नेपालको राजनीतिक–प्रशासनिक केन्द्र सिंहदरबारका संरचना ध्वस्त भयो । नेपालको हालसम्मकै सर्वाधिक ठूलो सरकारी भवन, सबैभन्दा ठूलो प्रशासनिक कम्प्लेक्स खण्डहर भयो ।

    नेपालको राजनीतिक र प्रशासनिक सत्ताको केन्द्र, जसलाई कतिपयले ‘नेपालको सत्ता–मन्दिर’ पनि भन्छन्, सिंहदरबार धेरैपटक आगोको लपेटामा पर्‍यो, केही बलिया धक्का भूकम्पहरूको पनि भेट्टायो ।

    तर, यसपटक यो लगभग पूर्ण रूपमा जल्यो, जसलाई कसैले पनि बचाउन सकेन । जबकि सिंहदरबारले वर्षौंवर्षदेखि धेरै संस्था र व्यक्तिहरूलाई आश्रय दिंदै आएको छ ।

     जसोतसो बाहिर निस्किएँ र सडकछेउको घर चढेर आगोको मुस्लोले निलिरहेको सिंहदरबारका सुन्दर दरबारहरू हेरिरहें । मन शुन्य भयो । काला मुस्लाहरूले संघीय मामिला मन्त्रालय, ऊर्जा मन्त्रालय लगायत भवन जलिरहेको थियो ।

    तातोले ग्यासका सिलिन्डर पड्किँदा बेलाबेला झल्याँस्स बन्थेँ । सँगै पड्किरहेका थिए, गाडीका पार्टपूर्जा पड्किरहेका थिए । धुँवाले आकाश ढाकेको थियो । नयाँ बानेश्वरस्थित संसद भवनबाट निस्केको धुवाँ र सिंहदरबारको धुवाँले आसपासको बस्ती पूरै धुँवाले ढकमक थियो ।

    आकाशमा कालो बादलले पानी दिएर जान्छ । मुलुकका यी प्रशासनिक भवनहरू निल्दै निस्किरहेको यी काला धुँवाहरूले कति नेपालीलाई प्रवास धकेल्ने हो, कतिको रोजगारी खोस्ने हो ? कतिले के के गुमाउने हो ? मलाई भने प्रश्नहरूले पुरे ।

    तथापि, युवाहरू सडकमा निस्फिक्री देखिन्थे । कुनै भयानक युद्ध जस्तो जहाँ प्रतिकार गर्ने कोही छैन । यी भवनहरू जलेकोमा उनीहरूको अनुहारमा कुनै बेचैनी थिएन । यस्तो लाग्थ्यो, बरू उनीहरूलाई खुसी थपिररहेको थियो ।

    मंगलबार राति जल्दै गरेको सिंहदरबार ।

    समयमै क्षति रोक्न राज्य संयन्त्र किन लागेन ? कि हाम्रो राष्ट्र–राज्य नै राम्ररी बनिसकेको छैन ? मनका अनेका प्रश्न उठे जसले मनलाई जोडिरहेका धेरै विश्वासका तारहरू छिनाले ।

    आगोले निलेको भवनहरू नेपालीकै रगत–पसिनाले बन्ला । विछाडे सहेर विदेशिएका युवाहरूले पठाउने रेमिटेन्सले बन्ला । तर, महत्वपूर्ण काजगाज, हाम्रो इतिहास, यसलाई कसले बनाउने ?

    पछि, संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीलाई सोधें । उनका अनुसार, सिंहदरबार मात्रै जलेको छैन, यसको इतिहास जलेको छ । सन् १९०८ मा चन्द्र शमशेरले निर्माण गरेका यो दरबार लामो समयसम्म एशियाकै सबैभन्दा ठूलो महल मानिन्थ्यो ।

    प्रवक्ता गिरीका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको कार्यालय खरानी भएको छ । संसद भवनको एक नम्बर बिल्डिङ अगाडि राखिएका गाडी र बाइकहरूका अस्थिपञ्जर मात्र बाँकी छन् । संसद् भवनकै दुई नम्बर बिल्डिङ अगाडि राखिएका सवारी तोडफोड भएका छन् ।

    ‘क्षतिको यकिन विवरण आएको छैन । तर, ठूलो क्षति भएको छ,’ प्रवक्ता गिरीले भने ।

    शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनसँग गफिएँ । उन अनुसार सिंहदरबारभित्र ३० बढी भवन रहेका छन् । ‘५/६ वटा राणाकालीन, १५/१६ वटा नयाँ र अरू समेत गर्दा ३० भन्दा बढी भवन रहेका छन्,’ उनले विस्तारमा बताए ।

    सिंहदरबारबाट निस्केर बबरमहलतिर पुग्दा काठमाडौं जिल्ला अदालत, विशेष अदालत, सडक विभाग, अन्य सरकारी कार्यालय जलिरहेका थिए । यी भवनमा रहेका कागजात जलेर आगोको राता र रापिला मुस्ला बन्दै आकाशतिर कतै हराइरहेका थिए ।

    केहीबेरमै सर्वोच्च अदालतको भवनबाट पनि आगोको मुस्लो निस्क्यो । माइतीघर नजिकै रहेको सरकारी वकिलको कार्यालयमा पनि आगो दन्कियो । नजिक रहेका निजी संरचनामा पनि आगो लाग्यो ।

    बबलमहल पुग्दा ट्राफिक प्रहरी नै जेनजीसँग ‘हो मा हो’ मिलाइरहेका थिए । विस्तारै साँझ पर्न थालेपछि प्रदर्शनकारीहरूले सुरक्षा निकायका गाडीहरू नियन्त्रणमा लिए ।

    ‘हत्यारा सरकार’ लेखिएको ब्यानरमा सिंहदरबार परिसर परिक्रमा गरे । सुरक्षा निकायको गाडी प्रयोग गरेर माइतीघरबाट नयाँ बानेश्वरसम्म ओहोरदोहोर पनि गरे । सडकबीचमा युवाहरूको सेलेब्रेसन चलिरहेको थियो । साइडमा रहेका सरकारी कार्यालयमा दनदनी आगो बलिरहेको थियो । आगोको मुस्लो छेउ पुग्दा र ग्यासका सिलिण्डर पड्केर आवाज आउँदा उनीहरू खुसीयालीमा हुटिङ गर्दथे ।

    सिंहदरबारमा आगोले के के निलिरहेको छ ? जवाफ खोज्न घर फर्किएपछि तथ्यांक केलाएँ । भवन निर्माण विभागको अभिलेख अनुसार सिंहदरबारभित्र दुई हजार बढी कोठा रहेछन् ।

    संख्याको विशालता मात्रै होइन, शक्ति र गुणले पनि यो निकै महत्वपूर्ण छ । राणा शासनदेखि लोकतन्त्र, बहुदल, राजतन्त्र हुँदै गणतन्त्र, एकात्मकदेखि संघीय शासनसम्म सबै शासकीय मोडहरू हेरेको सिंहदरबार आफैंमा ऐतिहासिक संरचना हो ।

    कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका दुई किलोमिटरको दुरीमा छ । रामशहपथ देखि नयाँ वानेश्वरसम्म रहेका तीन वटै निकायका संरचना क्षणभरमै खण्डहर भयो । भवन मात्रै खरानी भएनन्, त्यसभित्र रहेका ऐतिहासिक दस्तावेजहरू जलेका छन् ।

    ‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत परिसर सुरक्षाका दृष्टिले संवेदनशील ठाउँ हो । यी क्षेत्रमा राज्यको उच्च सुरक्षा हुन्छ । यो क्षेत्रमा बस्दा सुरक्षित भइन्छ भन्ने थियो तर, आज सिंहदरबार नै रहेन । बाँकी सुरक्षा के होला !’ बबरमहल निवासी एक युवा भन्दै थिए ।

    उनी सिंहदरबारभित्रै पाँचौं तहमा काम गर्ने कर्मचारी रहेछन् । उनको चिन्ता सिंहदबार र सरकारी कार्यालय जल्नुभन्दा ज्यादा नेपालको ऐतिहासिक कागजात जल्यो भन्नेमा थियो । उनी भन्दै थिए, ‘नेताहरूको प्रवृत्तिले समस्या पारेको हो । त्यतातिर केन्द्रित भएको भए हुन्थ्यो । अब सिंहदरबार जलाएपछि नेपालको कैयन ऐतिहासिक दस्तावेज रहेन । यसले इतिहास नै कस्तो लेखिने हो भन्ने चिन्ता छ ।’

    मंगलबार लागेको आगो बुधबार बिहानसम्म पनि निभेको छैन । सम्भवत: आगोलाई पनि गाह्रो भइरहेको छ इतिहास बोकेको सिंहदरबार निल्न । अन्तत जेन्जी आन्दोलनबाट ईतिहास खरानी भयो । उनिहरुको उदेश्य त्यो थिएन होला तर ईतिहासमा यो सर्वनासको भागीदार यहि आन्दोलन हुनेछ ।

    Post Views: 94
    प्रकाशित मिति: २०८२ भाद्र २६, बिहीबार २०:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.