स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ। मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ।

निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ।
त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ । सचिव डा विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । उनका अनुसार ९४९ जना उपचारपश्चात् घर फर्किसकेका छन्।
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार, मृतकको संख्या ३४ पुगेको हो ।
प्रदर्शनका क्रममा घाइते भएका १ हजार ३६८ जनामध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
मन्त्रालयका अनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, काठमाडौंको बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।
अनलाइनखबरले अस्पतालपिच्छे संकलन गरेको विवरणअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा १९ वर्षीय श्रीयाम चौलागाईंको मृत्यु भएको छ । तर उनको यकिन ठेगाना खुलेको छैन । बाँकेका २५ वर्षीय सुलभज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिकाका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् । यस्तै २९ वर्षका गौरव जोशीको भने ठेगाना खुल्न सकेको छैन ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका- ६ का २९ वर्षका योगबहादुर श्रेष्ठ रहेका छन् । काठमाडौंको बनस्थली बस्ने २६ वर्षका ईश्वतबहादुर अधिकारी, उदयपुर बेलका नगरपालिकाका-४ का २९ वर्षीय सन्तोष विक र काठमाडौं महानगरपालिकाका-८ का १९ वर्षका टोखा आयुष थापा छन् ।
यस्तै जामती अस्पतालमा मृत्यु हुने अर्घाखाँचीका १८ वर्षका मिसल सारु मगर, धनकुटाका ६० वर्षीय छत्रमान कुथुमी, गोरखाका २२ वर्षीय विमल भट्ट, सिरहाका ३२ वर्षका विजय चौधरी, दोलखाका २१ वर्षका अभिषेक चौलागाईं छन् । यस्तै २४ वर्षका काशी आलम ठाकुरको भने ठेगाना खुल्न सकेको छैन ।
मृत्यु हुनेमा एभरेष्ट अस्पतालमा ललितपुर महानगरपालिका-७ का ३० वर्षका बिनोद महर्जन, पाटनढोका बस्ने काभ्रे तेमाल गाउँपालिका-७ का दिलनारायण तामाङ र दुवाकोट भक्तपुर स्थायी ठेगाना भएका २३ वर्षका योगेन्द्र न्यौपाने छन् ।
फ्रन्टलाइन अस्पतालमा संखुवासभाका २१ वर्षका प्रविन कुलङ, काठमाडौं चाबहिलका २१ वर्षका उमेश महत, काठमाडौं गौशला बस्ने १७ वर्षका निकिता गौतमको मृत्यु भएको छ ।
यस्तै बयोधा अस्पतालमा उपचारको क्रममा २८ वर्षका अर्जुन भट्ट र २३ वर्ष देव कुमार सुवेदी छन् । तर उनीहरूको ठेगाना खुलेको छैन । काठमाडौं मेडिकल कलेजका (केएमसीमा) उपचारको क्रममा सौरम किशोर श्रेष्ठ र सुवास पोखरेलको मृत्यु भएको छ । तर उनीहरूको ठेगाना अझै खुल्न सकेको छैन ।
त्रिवि शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको छ । मृतकको विवरण खुल्न सकेको छैन । त्यस्तै बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ । उनीहरूको पनि विवरण खुलेन सकेको छैन ।
सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि जेनजी प्रदर्शनकारीले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यस क्रममा घाइते भएकाहरूलाई प्रदर्शनकारीले अस्पताल पुर्याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।





