निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा राजनीतिक दल र दलका प्रतिनिधिलाई ६३ बुँदे निर्देशन जारी गरेको छ। जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा निर्वाचनमा खलल नपुग्ने गरी सभ्य र अनुशासित तरिकाले गर्नलगायत विषयमा आयोगले आज प्रेस विज्ञप्तिमार्फत निर्देशन जारी गरेको हो। निर्देशनमा कुनै उम्मेदवारको घर आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने लगायत विषय उल्लेख छन्।

मतदान हुने दिनमा मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी कुनै गतिविधि नगर्न आयोगले सचेत गराएको छ। मतदान केन्द्र रहेको घर, भवन वा ठाउँ र मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा साउन्ड सिस्टम वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न वा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन वा त्यस्तो कुनै काम गरी शान्ति भङ्ग गर्न वा गराउन वा भय त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन नहुने उल्लेख गरिएको छ।
स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुभन्दा कम्तीमा २४ घण्टा अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग तथा स्थानको बारेमा जानकारी गराउनुपर्ने उनले बताए।
कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने, एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने प्रवक्ता भट्टराईले बताए।





