स्पेन सरकारले एक आममाफी कार्यक्रमलाई अनुमोदन गरेको छ । योसँगै अब युरोपेली देश स्पेनमा गैरकानुनी रूपमा बसिरहेका झन्डै पाँच लाख कागजविहीन आप्रवासीले अब वैध हैसियतका लागि आवेदन दिन पाउनेछन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले यसै साता पारित गरेको आममाफी कार्यक्रमअन्तर्गत अप्रिल १६ देखि आवेदन दिने बाटो खुलेको हो । आममाफीपछि त्यहाँ गैरकानुनी ढंगले बसेका कागजविहीन आप्रवासीलाई बैध बाटो अपनाउन ढोका खुलेको छ ।

सरकारको योजनाले कागजात नभएका आप्रवासीलाई एक वर्षको नवीकरणीय आवास अनुमति प्रदान गर्नेछ । योग्य हुनका लागि आवेदकले स्पेनमा पाँच महिना बसोवास गरिसकेको र कुनै आपराधिक रेकर्ड नभएको प्रमाणित गर्नुपर्छ । उनीहरूसँग आवेदन दिनको लागि १६ अप्रिलदेखि जुनको अन्तिमसम्म समयसीमा तोकिएको छ । यसविपरीत क्याथोलिक चर्चले सरकारको कानुनलाई समर्थन गरेको छ ।
संसद्मा बहुमत नभएको सान्चेज सरकारले यो प्रावधान द्रुत गतिमा लागू गर्न संसद्लाई बाइपास गर्न अनुमति दिने अध्यादेश ल्याएको थियो । यसअघि सान्चेज सरकारले विधेयकमार्फत नै सांसदबाट आममाफी विधेयक अगाडि बढाउने प्रयास गरेको थियो । तथापि, त्यो विधेयक फेल भयो ।
नयाँ व्यवस्थाअनुरूप निश्चित सर्त पूरा गरेका जुनसुकै आप्रवासीले एक वर्षदेखि अस्थायी बसोवास तथा काम गर्ने अनुमतिपत्रका लागि आवेदन दिन सक्नेछन् । आप्रवासनमन्त्री एल्मा साइजले आप्रवासीले बिहीबारदेखि अनलाइनमार्फत र अप्रिल २० देखि व्यक्तिगत रूपमै आवेदन दिन सक्ने बताइन् । आवेदन दिने समय जुन ३० मा बन्द हुनेछ ।
आवेदन दिन आवश्यक सर्तमा आवेदक जनवरी १ भन्दाअघि नै स्पेनमा आइपुगेको हुनुपर्नेछ भने कम्तीमा पाँच महिनादेखि स्पेनमा निरन्तर बसिरहेको प्रमाणित पनि गर्नुपर्नेछ । त्यस्तै, आवेदकको कुनै आपराधिक रेकर्ड हुनुहुनेछैन । हाल अस्थायी बसोवासको अनुमति पाएकाले एक वर्षपछि अन्य काम वा स्थायी बसोवास अनुमतिपत्रका लागि आवेदन दिन योग्य हुनेछन् ।
जन्मदर घटेसँगै स्पेनको जनसंख्यामा वृद्धको हिस्सा बढेसँगै त्यहाँ विभिन्न जानसांख्यिक समस्या आउने देखिन्छ । तिनै समस्या कम गर्न आप्रवासनलाई खुकुलो बनाउन खोजिरहेका प्रधानमन्त्री सान्चेजले यस कदमलाई ‘न्यायको कदम र आवश्यक’ बताए ।
तर, रुढिवादी विचार बोक्ने विपक्षी पिपुल्स पार्टीका नेता अल्बर्टो नेज फेइजोले भने आप्रवासीको बसाइ सहज बनाउने व्यवस्थालाई ‘अमानवीय, अनुचित, सुरक्षाको हिसाबमा जोखिमपूर्ण र टिकाउन नसकिने’ संज्ञा दिए । तर, सोही पार्टीले विगतमा (सन् २००० को दशकको सुरु) सत्तामा हुँदा आप्रवासीको दुई सामूहिक वैधानिकता दिएको इतिहास छ ।
सरकारले नयाँ प्रावधानमा हाल लुकेर बसिरहेका पाँच लाख अवैध आप्रवासीले आवेदन दिन सक्ने अनुमान गरेको छ । विश्लेषकले यो संख्या अझ बढ्न सक्ने सुझाव दिएका छन् । उता मंगलबार नै अध्यागमन कर्मचारीको प्रतिनिधित्व गर्ने ट्रेड युनियनले भने हालको साधनस्रोतले सरकारको कार्यक्रम सञ्चालन गर्न कठिन भएको भन्दै स्रोत बढाउन आह्वान गर्यो ।
स्पेनका धेरै युरोपेली छिमेकीले आप्रवासनमाथि नियन्त्रण कडा पार्दै गर्दा स्पेनको पछिल्लो योजना आएको हो । समाजवादी र पिपी दुवै सरकारले विगतमा आप्रवासी आममाफी लागू गरेका छन् । सबैभन्दा पछिल्लो २००५ मा भएको थियो, जतिवेला पाँच लाख ७७ मानिसले समाजवादी प्रशासनअन्तर्गत बसोवास प्राप्त गरेका थिए ।
फन्कास थिंकट्यांकको अनुमान छ कि स्पेनमा लगभग आठ लाख ४० हजार कागजातविहीन आप्रवासी छन्, जसमध्ये धेरैजसो ल्याटिन अमेरिकी छन् ।
‘यसले धेरै मानिसलाई फाइदा पुर्याउनेछ, उनीहरूलाई काममा पहुँच दिनेछ र जीवनको गुणस्तर राम्रो बनाउनेछ,’ बोलिभियाली ग्राफिक डिजाइनर रिकार्डोले भने । उनी आवेदन दिने योजनामा छन् । उनी अगाडि भन्छन्, ‘सरकारी योजनाले स्पेनका लागि बढी पैसा र रोजगारदाताका लागि कानुनी रूपमा धेरै कामदार उपलब्ध हुनेछन् ।’
सान्चेजले यो कदमलाई ‘आवश्यकता’ भन्दै ‘नयाँ आप्रवासीको आगमनविना समृद्धि नै सुस्त हुने’ चेतावनी दिए । ‘आप्रवासीको गतिशीलताका कारण स्पेनको अर्थतन्त्र अहिले युरोपमा सबैभन्दा तीव्र वृद्धि हुने अर्थतन्त्र बनेको छ,’ सान्चेजले भने ।
करिब पाँच करोड जनसंख्या भएको स्पेनमा कम्तीमा एक करोड बासिन्दा देशबाहिर जन्मिएका अनुमान छ । स्पेनमा रहेका बाह्य बासिन्दामा कोलम्बिया, भेनेजुएला र मोरक्कोमा जन्मिएकाको ठुलो संख्या रहेको छ ।





