खबरमाला संवाददाता

क्यानडाले हालै सार्वजनिक गरेको सन २०२६र२०२८ को नयाँ आप्रवासन योजना अनुसार विदेशी विद्यार्थीका लागि अवसर र चुनौती दुवै बढेका देखाएको छ । सरकारको नयाँ नीति अनुसार एकातिर अध्ययनसँगै काम गर्ने सुविधा विस्तार गरिएको छ भने अर्कोतर्फ विद्यार्थी भिसा प्राप्त गर्ने प्रक्रिया अझ कडा बनाइएको छ। तर पनि यसबाट क्यानाड जाने विधार्थीहरुले अब पढाई सकेर स्वदेश फर्किन नपर्ने अर्थात क्यानाडामा नै आफ्नो पढाई अनुसारको काम पाउने संभावना बढी देखिएको छ । जसका लागि सरकारले सजिलो नियम बनाएको छ ।
नयाँ व्यवस्थाअनुसार अब कोअप वा ईन्टनसिप कार्यक्रमका लागि छुट्टै वर्क परमिट आवश्यक नपर्ने भएको छ। एउटै अध्धयन अनुमतिबाट विद्यार्थीहरूले पढाइसँगै काम गर्न सक्नेछन्, जसले अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रक्रिया सहज बनाउने विश्वास गरिएको छ। यसैगरी, अध्ययन अनुमति वा स्नातकपछि पाइने काम अनुमति को नवीकरण पर्खिरहेका विद्यार्थीहरूलाई पनि काम जारी राख्न अनुमति दिने प्रस्ताव गरिएको छ। जुन नियम यस अघि भएका नियमभन्दा निकै लचिलो हो ।
क्यानडा सरकारले स्थायी बसोबास नीतिमा पनि परिवर्तन गर्दै देशभित्र रहेका अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष कामदारलाई प्राथमिकता दिने संकेत गरेको छ। यसले अध्ययनपछि क्यानडामै बस्ने चाहना राख्ने विद्यार्थीहरूका लागि अवसर बढाउने अपेक्षा गरिएको छ। तर, सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या घटाउने नीति पनि अघि सारेको छ। सन् २०२६ का लागि नयाँ विद्यार्थीको संख्या घटाएर करिब एक लाख ५५ हजार मा सीमित गर्ने लक्ष्य राखिएको छ। आवास संकट र सार्वजनिक सेवामा परेको दबाबलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको अधिकारीहरूले बताएका छन्।
यससँगै, विद्यार्थी भिसा आवेदन प्रक्रियामा पनि कडाइ गरिएको छ। अब आवेदकको शैक्षिक उद्देश्य, आर्थिक अवस्था तथा आफ्नै देशसँगको सम्बन्ध जस्ता विषयमा कडाइका साथ मूल्यांकन गरिनेछ। नयाँ नियमअनुसार Provincial Attestation Letter (PAL) जस्ता थप कागजात पनि अनिवार्य गरिएको छ, जसले आवेदन प्रक्रियालाई केही जटिल बनाउने देखिन्छ।
समग्रमा, क्यानडाको नयाँ आप्रवासन नीति गुणस्तरीय र योग्य विद्यार्थीका लागि अझ आकर्षक देखिए पनि साधारण आवेदकका लागि प्रतिस्पर्धा र चुनौती दुवै बढेको विश्लेषकहरूले बताएका छन्। हाल क्यानाडामा ठुलो सख्यामा नेपाली विधार्थी अध्ययन गरी रहेका छन । यस नयाँ नियमबाट नेपाली विधार्थीहरुले लाभ लिन सक्नेछन ।





