वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा धेरै महत्वपूर्ण विषयहरु टुंगिएको बताएका छन् । उनले यस सहमतिमा आधिकारीक हस्ताक्षर गर्न मात्रै बाँकी रहेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत दिएका हुन् । हर्मुजको जलमार्ग खोल्नेबारे पनि छिट्टै घोषणा हुने उनले बताए ।

भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रूबियोले पनि इरानसँगको छलफलमा महत्वपूर्ण प्रगति भएको बताएका छन् । इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु अमेरिकाको मुख्य लक्ष्य रहेको उनले बताए ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिर्फले अमेरिका र इरानबीच चाडैं नै नयाँ चरणको छलफल हुने बताएका छन् । शनिबार सरिर्फले तेहरानमा इरानी नेताहरुसँग छलफल गरेका थिए । उक्त छलफल निकै परिणाममुखी रहेको उनले बताए ।
इरानका राष्ट्रपति मसूद पेजेश्कियनले सर्वोच्च नेता मोज्ताबा खोमेनेइको अनुमति नलिई कुनै पनि निर्णय नहुने बताएका छन् । इरानको अर्ध सरकारी तास्निम समाचार एजेन्सीले सहमतिका विषयमा जानकार स्रोतलाई उद्रृत गर्दै दुई देशबीच धेरै विषयमा सहमति भएपनि केही बुँदामा असहमति कायम रहेको जनाएको छ ।
‘यदी अमेरिकाले अवरोध सिर्जना गरिह्यो भने सम्झौता हुने छैन,’ स्रोतलाई उद्रृत गर्दै तास्निमले लेखेको छ । दोहा इन्स्टिच्युट फर ग्राजुएट स्टडिजका प्राध्यापक मोहम्मद इल्मासरीले सम्झौतामा इरानको हात माथि हुनसक्ने बताएका छन् । ‘इरान र अमेरिकाबीच लडाइँ अन्त्य गर्ने र हर्मुज जलमार्ग खोल्ने , अनि असहमतिका विषय थाँती नै राख्नेगरी सम्झौता हुन लागेको हुनुपर्छ,’ उनले भने,‘आणविक हतियारजस्ता महत्वपूर्ण विषय अहिलेलाई थाँति नै रहने देखिन्छ । सहमति कसरी हुन्छ भन्ने विषय पनि स्पष्ट छैन । मेरो बुझाईमा यो सहमतिमा इरानले केही फाइदा लिनेछ । उसका केही सीमाहरु छन् । तर, सबै विषय छलफलमै छन् । अमेरिका र इजरायलले चाहेजस्तो नभएमा फेरि युद्ध पनि हुनसक्छ ।’
२८ फेब्रुअरीमा अमेरिका– इजरायलले इरानमाथि आक्रमण गरेसँगै युद्ध सुरु भएको थियो । यस युद्धका क्रममा अमेरिका– इजरायलले इरानका मिसाइल पूर्वाधार, सैन्य क्षेत्र र राजधानी तेहरानमा मुल नेतृत्वमाथि नै आक्रमण गरे । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खोमेनेइ पहिलो दिनको निशानामै मारिएका थिए । पहिलो दिन इजरायल–अमेरिकाले मिनाबस्थित एक प्राथमिक छात्रा विद्यालयमा आक्रमण गर्दा १ सय ५६ जनाको मृत्यु भएको थियो भने ९५ जना घाइते भएका थिए । उनीहरुमध्ये अधिंकाश स्कुले बालिका थिए ।
झन्डै ३ महिनादेखि जारी युद्धका क्रममा इस्लामिक रिभोलुशनरी गार्डस् कोप्र्स ९आईआरजीसी० का दर्जनौं वरिष्ठ कमाण्डरहरु पनि मारिएका छन् । ८ मार्चमा इरानले खोमेनइका छोरा मोज्ताबा खोमेनेइलाई नयाँ सर्वोच्च नेता घोषणा गरेको थियो । यस युद्धमा मारिएका अन्य शीर्ष इरानी नेतामा सुरक्षा प्रमुख अली लारिजानी, गुप्तचर मन्त्री इस्माइल खातिव, अर्धसैन्य दस्ता बासिज फोर्सका प्रमुख घोलमरेजा सोलेमानीलगायत छन् । इजरायल र अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित प्रमुख केन्द्रहरुमा आक्रमण गरिएको बताएका छन् । त्यस्तै खार्ग टापुसहित इरानका तेल तथा ग्याँस केन्द्रमा पनि आक्रमण भएको छ ।
युद्धको प्रभाव समग्र पश्चिम एसिया र विश्व अर्थतन्त्रमा देखिएको छ । इरानमा ३४ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । लेबनानमा इजरायलको आक्रमणमा १८ सयभन्दा धेरै मारिएका छन् । इरानको प्रत्याक्रमणमा इराकमा कम्तिमा १ सय १७, इजरायलमा २६, अमेरिकी सैनिक १३ र कतार, कुवेत तथा युएईमा केही मानिस मारिएका छन् । युद्ध सुरु भएलगत्तै इरानले इजरायल र पश्चिम एसियाली देशमा रहेका अमेरिकी सैन्य केन्द्र तथा महत्वपूर्ण पूर्वाधारमा प्रत्याक्रमण गरेको थियो । इरानले युद्ध सुरु भएदेखि नै हर्मुजमा अवरोध गर्दै आएको छ । विश्वको झन्डै २० प्रतिशत कच्चा तेल तथा ग्यास आपुर्ति हुने मार्गमा देखिएको अवरोधले पश्चिम एसियाका साउदी अरेबिया, युएई, कतारलगायत देशहरुको तेल व्यापार नराम्ररी प्रभावित भएको छ । त्यस्तै, विश्वभर नै तेल, प्राकृतिक ग्यास तथा रासायनिक मलको संकट उत्पन्न भएको छ ।
दुई देशबीच पाकिस्तानको मध्यस्थतामा ८ अप्रिलमा युद्धविराम भएपनि पटक–पटक दुबै पक्षले यसको उल्लंघन गरेका छन् । यसबीच ११ र १२ अप्रिलमा दुई देशबीच इस्लामावादमा चलेको दुई दिन लामो प्रत्यक्ष वार्ता असफल भएको थियो । वार्ता असफल भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जलसेनालाई हर्मुजमा नाकाबन्दी गर्न आदेश दिएका थिए । इरानी बन्दरगाहमा आवत–जावत गर्ने व्यवसाहिक तेलका ट्यांकरहरुलाई खोजेर कारबाही गर्न उनले आदेश दिएका थिए । अमेरिकी नाकाबन्दीपछि इरानको अर्थतन्त्र नराम्ररी प्रभावित छ । दुबै पक्षले युद्धविराम कायम रहेको बताएपनि एकअर्कालाई दबाबमा राख्नेगरी सैनिकहरुलाई पर्सियन खाडी जलक्षेत्रमा तैनाथ गरेका छन् । यसबीचमा पाकिस्तानको मध्यस्थतामा अप्रत्यक्ष रुपमा पटक–पटक दुबै देशका नेताहरुबीच वार्ता पनि चलेको थियो । तर सहमति जुट्न सकेन ।
अमेरिकी सञ्चारमाध्यम एक्सियोससँगको कुराकानीमा एक अमेरिकी अधिकारीले अमेरिका–इरानबीच ६० दिनसम्मका लागि लागु हुनेगरी सहमतिपत्रमा हस्ताक्षर हुन लागेको बताएका छन् । आपसी सहमतिमा यसलाई लम्ब्याउन सकिने व्यहोरा उक्त पत्रमा उल्लेख छ । ६० दिनभित्र हर्मुजको जलमार्ग व्यवसाहिक जहाजहरुका लागि खुला हुनेछ । ती अधिकारीका अनुसार इरानले यहाँबाट जाने जहाजमा कुनै पनि कर उठाउने छैन ।
जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरुमा लगाएको नाकाबन्दी खोल्नेछ । त्यस्तै, इरानी तेलमाथि अमेरिकाले लगाएको प्रतिबन्ध खुकुलो बनाउनेछ । ‘यस निर्णयले इरानको अर्थतन्त्रलाई लाभ पुग्ने भएपनि विश्व इन्धन बजारमा राहत ल्याउनका लागि यो कदम जरुरी छ,’ एक अधिकारी अधिकारीले एक्सियोससँग भनेका छन्,‘इरानीहरुले जति चाडों हर्मुजबाट बम निकाल्छन् र जहाजहरुलाई आवागमन गर्न दिन्छन् । अमेरिकाले पनि त्यति नै चाडों नाकाबन्दी हटाउनेछ ।’ ती अधिकारीका अनुसार सम्झौतापत्रमा इरानले कहिल्यै आणविक हतियार निर्माण नगर्ने प्रतिवद्धता उल्लेख हुनेछ । ‘इरानले उसको युरेनियम सम्वद्र्धन कार्यक्रमलाई तत्कालका लागि स्थगित गर्नेछ । त्यस्तै, उच्च सम्वद्र्धित युरेनियमको भण्डारण इरानबाट हटाइनेछ,’ उनले भने ।
कसरी भयो सहमति
अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार अरब तथा मुस्लिम राष्ट्रका नेताहरुसँग सामुहिक रुपमा फोन वार्ता गरेका थिए । त्यसक्रममा ती सबै देशले सहमतिलाई समर्थन गर्ने बताएको फोन वार्ताबारे जानकार तीन स्रोतलाई उद्रृत गर्दै एक्सियोसले लेखेको छ । अमेरिकी अधिकारीहरुका अनुसार युएईका राष्ट्रपति मोहम्मद बिन जायदसँगै साउदी अरेबिया, कतार, इजिप्ट, टर्किए र पाकिस्तानका नेताहरु यस फोनवार्तामा सहभागि थिए । उनीहरुले लामो समयदेखि वार्ताको मध्यस्थता प्रयास गर्दै आएका छन् । शुक्रबार र आइतबार पाकिस्तानी सेनापति फिल्ड मार्शल असिम मुनिर इरानसँग मध्यस्थता गर्नका लागि तेहरानमै पुगेका थिए ।





