प्रधानमन्त्री बनेको १३ महिनापछि केपी शर्मा ओलीले भारत भ्रमणको औपचारिक निम्तो पाएका छन् । नेपालको राजनीतिमा प्रधानमन्त्री बनेपछि दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनको औपचारिक भ्रमण भयो कि भएन भन्ने तथ्यलाई लिएर उसको विदेश मामिला सम्बन्ध सञ्चालनको कुशलताको आयतन नाप्ने सनातनी परम्परा छ ।

त्यसैले ओली प्रधानमन्त्री भएदेखि नै उनको भारत भ्रमण कहिले हुन्छ भन्ने प्रतिक्षा थियो । भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार नेपाल भ्रमणमा आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गरे ।
चीनको भ्रमण गरिसकेका ओलीले भारतबाट औपचारिक निम्तो नपाउँदा राजनीतिक र कूटनीतिक वृत्तमा भारतसँगको ओलीको सम्बन्धबारे चर्चा भइरहेको थियो ।अब ओलीको भदौ ३१ देखि भ्रमण हुने छ । शुरुमा २ दिनको लागि भनिएको भ्रमण तीन दिनसम्म लम्बिने स्रोतले बताएको छ । यद्यपि भ्रमणको मिति भने दुईपक्षले पछि औपचारिक रुपमा सार्वजनिक गर्नेछन् ।
‘नेवरहुड फर्स्ट’ नीति अबलम्बन गरेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय सम्बन्धहरू राम्ररी अघि बढेको थिएन । तर बंगलादेश र पाकिस्तानसँगको सम्बन्ध मात्र होइन अहिले अमेरिकाले समेत च्याप्न थालेपछि मोदीले आफ्नो लागि सहज हुने मुलुकहरूसँग सम्बन्ध थप मजबुत बनाउने कोशिस गरिरहेका छन् । यही पृष्ठभूमिमा मोदीबाट अहिले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो आएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । सामान्यत: भारतीय प्रधानमन्त्रीले उच्चस्तरीय औपचारिक भेटवार्ता दिल्लीको हैदरावाद हाउसमा गर्ने परम्परा भए पनि यसपालि ओली–मोदी भेट बिहारको बोधगयामा हुने तय भएको छ ।
बोधगया गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको स्थान समेत हो । ओली–मोदी भेटवार्ता हुने दिन भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन समेत परेको छ । मोदी १७ सेप्टेम्बर १९५० मा जन्मिएका थिए । प्रधानमन्त्री कार्यालयका अनुसार, भ्रमणको औपचारिक निमन्त्रणा पाएपछि ओलीले विदेशसचिव मिश्रीलाई धन्यवाद दिएका थिए ।
ओली ३० असार २०८१ मा प्रधानमन्त्री नियुक्त भएयता नै भारत भ्रमणका लागि प्रयास भइरहेको थियो । तर, भारतीय पक्षबाट निम्तो आएको थिएन ।
यद्यपि, दुईपटक विदेशमा ओली–मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो । थाईल्याण्डको बैंककमा बिमस्टेक सम्मेलनमा सहभागी हुन गएका बेला २०८१ चैतमा ओलीको भारतीय समकक्षी मोदीसँग भेट भएको थियो । त्यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका समेत समेत दुई प्रधानमन्त्रीबीच भेट भएको थियो ।





