विभिन्न वहानामा विदेश गई अवैधरुपमा बसिरहेका नेपालीको संख्या कति छ ? यो प्रश्नको ठ्याक्कै जवाफ पाइँदैन । यस सम्बन्धी यकिन तथ्याङ्क न विदेशस्थित नेपाली नियोगहरुसँग छ न परराष्ट्र मन्त्रालयसँग नै । राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको ‘मावन बेचबिखन विरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८२’ र महालेखापरीक्षकको कार्यालयको ‘कार्यमूलक अन्तिम प्रतिवेदन, २०८१’ ले विदेशमा अवैधरुपमा रहेका नेपालीका सम्बन्धम केही तथ्याङ्क प्रस्तुत गरेका छन् ।

यी दुई प्रतिवेदनलाई आधार बनाएर हेर्दा भन्न सकिन्छ– विदेशमा अवैधरुपमा रहेका नेपालीको संख्या ठूलो छ । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनअनुसार मलेसियामा आर्थिक वर्ष २०७९/८० मा ४० हजार, २०८०/८१ मा ३५ हजार र २०८१/८२ मा २६ हजार नेपाली अवैध रुपमा रहेको पाइएको छ । “तीन वर्षको औसत तथ्याङ्कका आधारमा मलेसियामा प्रतिवर्ष करिब ३३ हजार ७०० नेपाली श्रमिकहरू अनियमित (गैरकानुनी बसोबास) अवस्थामा रहेको अनुमान गरिएको छ,” आयोगको प्रतिवेदनमा भनिएको छ । मलेसियामा करिव ५ सय नेपाली महिला कामदार अवैध रहेका छन् ।
कम्पनी भिसा (कलिङ भिसा) मार्फत मलेसिया प्रवेश गरी आफ्नै अग्रसरतामा रोजगारदाता परिवर्तन गर्ने नेपाली कामदारहरु मलेसियामा कागजातविहीन हुने गरेका छन् । धेरैजसो श्रमिकहरूलाई नेपालमा प्रतिबद्धता गरिएअनुसारको काम उपलब्ध नगराइने हुनाले उनीहरूले प्रायः कम्पनी परिवर्तन गर्ने गर्दछन् जसका कारण उनीहरूको कानूनी हैसियत समाप्त हुने गरेको प्रतिवेदनमा उल्लेख छ । मलेसियास्थित नेपाली दूतावासले आयोगलाई उपलब्ध गरेको विवरणअनुसार मलेसिया सरकारको आप्रवासी स्वदेश फिर्ती कार्यक्रमअन्तर्गत सन् २०२४ मार्चदेखि २०२५ डिसेम्बरसम्ममा गैरकानूनी रूपमा बसोबास गरिरहेका ८ हजार ९७३ जना नेपाली नागरिकहरू जनही ५०० मलेसियन रिङ्गिट जरिवाना तिरेर स्वदेश फर्किएका छन् ।
मलेसिया सरकारले आर्थिक वर्ष २०७९/८० मा गैरकानूनी रूपमा बसोबास गरिरहेका १ हजार ४७८ जना नेपाली कामदारलाई आममाफी प्रदान गरेको थियो । यो संख्या आर्थिक वर्ष २०८०/८१ मा ६७९ जना र २०८१/८२ मा ९१६ जना रहेको थियो । खाडी राष्ट्र कुवेतमा २५ हजारभन्दा बढी नेपाली महिला कामदार अवैधरुपमा रहेको अनुमान छ ।
“नेपाल सरकारबाट श्रम स्वीकृति नलिई घरेलु कामको सिलसिलामा कुवेत पुग्ने नेपाली महिलाहरूको सङ्ख्या बढ्दो क्रममा रहेको राजदूतावासले उल्लेख गरेको छ,” आयोगको प्रतिवेदनमा भनिएको छ । आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्मको तीन वर्षको अवधिमा कुवेतस्थित नेपाली दूतावासले कुल १ हजार ६०७ जना महिलाहरूको उद्धार गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा २१७ जना, २०८०/८१ मा ३६९ जना र २०८१/८२ मा १ हजार २१ जना महिला रहेका थिए ।
कुवेतमा अवैधरुपमा रहेका घरेलु महिला कामदारहरुले आफ्ना रोजगारदाताहरूबाट शारीरिक वा मानसिक यातना तथा दुर्व्यवहार भोग्नुपरेको भनी उजुरीहरू गर्ने गरेका छन् । पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले आफ्नो क्षेत्राधिकारभित्र पर्ने टर्की र उज्वेकिस्तानजस्ता मुलुकहरूमा केही सङ्ख्यामा नेपाली कामदार रहेको जानकारी दिएको छ ।
“टर्कीमा मात्रै धेरै हजारको सङ्ख्यामा नेपाली श्रमिकहरू हुन सक्ने दूतावासको अनुमान छ । यसका साथै इरान तथा अन्य मुलुकका सिपिङ कम्पनीहरूमा रोजगारीको प्रलोभन देखाई नेपाली श्रमिकहरूलाई पाकिस्तान पुर्याइएको प्रमाणहरू भेटिएकोसमेत दूतावासले उल्लेख गरेको छ; यद्यपि तीमध्ये धेरैजसो श्रमिकहरू हाल पाकिस्तानमा अलपत्र परेका छन्,” आयोगको प्रतिवेदनमा उल्लेख छ ।
पाकिस्तानस्थित नेपाली दूतावासले आर्थिक वर्ष २०८१/८२ मा २० जना, २०८०/८१ मा ३५ जना र २०७९/८० मा १५ जनालाई यात्रा अनुमति पत्र जारी गरेको थियो । आयोगले प्रतिवेदनमा भनेको छ, “राजदूतावासका अनुसार यस्ता अधिकतर अनुरोधहरू टर्कीबाट प्राप्त भएका थिए, जसमा प्रायः टर्कीको मार्ग हुँदै अवैध रूपमा ग्रीस वा अमेरिका जान प्रयास गर्ने र सो क्रममा पक्राउ परी हिरासतमा रहेका नेपाली नागरिकहरू संलग्न थिए ।”
साउदी अरेबियामा अवैधरुपमा रहेका नेपाली कामदाहरुको संख्यााबारे कुनै तथ्याङ्क उपलब्ध नभएको प्रतिवेदनमा जनाइएको छ । यद्यपि, साउदी सरकारले गैरकानूनी गतिविधिमा संलग्न भएको वा कागजातविहीन भएको आधारमा आर्थिक वर्ष २०७९/८० मा ४३९ जना नेपाली नागरिकहरूलाई देशनिकाला गरेको थियो । त्यसै गरी, आर्थिक वर्ष २०८०/८१ मा यो सङ्ख्या ३८५ रहेको थियो ।
दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा पछिल्ला तीन वर्षको अवधिमा चार जना नेपाली अवैधरुपमा रहेको पाइएको आयोगको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार आर्थिक वर्ष २०७९/८० मा एक जना, २०८०/८१ मा दुई जना र २०८१/८२ मा एक जना रहेका थिए । ती सबै आममाफी पाएर नेपाल फर्किसकेको प्रतिवेदनमा जनाइएको छ । तर, ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयको तयार पारेको ‘रिफ्युजी इन नम्बर्स, २०२५’ प्रतिवेदनले भने केही फरक दृश्य प्रस्तुत गरेको छ ।
प्रतिवेदनमा एकैवर्ष १ हजार ४३७ जना नेपालीले ब्राजिलमा शरणार्थीको ‘स्टाटस’ (हैसियत) माग्दै आवेदन दिएको उल्लेख छ छ । सन् २०२४ मा उनीहरुले ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिएका हुन् । प्रतिवेदनमा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने छैटौं ठूलो संख्या नेपालीको रहेको उल्लेख छ ।
ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिने नेपाली सबै मानव तस्करको प्रलोभनमा परी अमेरिका जानको लागि हिँडेकाहरु हुन् । प्रतिवेदनअनुसार सन् २०२४ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिने कुल आप्रवासीमा २.१० प्रतिशत संख्या नेपालीको छ ।
सन् २०२३ को तुलनामा २०२४ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिने नेपालीको संख्या ४८.७५ प्रतिशत वृद्धि भएको देखिन्छ । ‘रिफ्युजी इन नम्बर्स, २०२४’ प्रतिवेदन अनुसार सन् २०२३ मा ५८ हजार ६२८ जना विदेशीले ब्राजिलमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिएका थिए ।
उक्त वर्ष यसरी आवेदन दिने नेपालीको संख्या ९६६ रहेको थियो, जुन संख्या ब्राजिलमा शरणार्थीको हैसियत माग्ने भारतीय, चिनियाँ र बंगलादेशीकोभन्दा बढी थियो ।चीनको हङकङमा करिब ३०० जना नेपाली नागरिकहरू गैरकानूनी रूपमा बसोबास गरिरहेको मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खाडी राष्ट्र बहराइनमा पनि केही नेपालीहरु अवैधरुपमा रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा ४७४ जना, २०८०/८१ मा १५० जना र २०८१/८२ मा १५० जना नेपाली नागरिकहरू बहराइनमा अवैधरुपमा रहेका थिए । रुसमा पनि केही नेपाली गैरकानूनी रूपमा बसोबास गरिरहेका छन् ।
“यद्यपि, वास्तविक सङ्ख्याको तुलनामा यो तथ्याङ्क निकै कम रहेको कुरामा दूतावासले उल्लेख गरेको छ किनभने सन् २०२२ फेब्रुअरीमा युक्रेन र रुसबीच युद्ध सुरु भएपछि धेरै नेपाली युवाहरूलाई रुसी सेनामा भर्ना गराउनका लागि अवैध रूपमा रुस भित्र्याइएको छ,” आयोगले प्रतिवेदनमा भनेको छ ।
रुसस्थित नेपाली दूतावासले उपलब्ध गरेको विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा ३५० जना, २०८०/८१ मा ३०० जना र २०८१/८२ मा १२० जना नेपाली रुसमा अवैधरुपमा रहेको पाइएको थियो ।
जापानको टोकियोस्थित नेपाली दूतावासले उपलब्ध गरेको विवरणअनुसार हाल जापानमा करिब २ लाख ७० हजार नेपाली छन् । गैरकानूनी रुपमा बसोबास गरिरहेका नेपालीहरुको संख्याबारे दूतावाससँग कुनै प्रमाणित तथ्याङ्क उपलब्ध छैन । आर्थिक वर्ष २०८१/८२ मा ६ जना नेपाली नागरिकलाई जापानले देशनिकाला गरेको थियो ।
अमेरिकामा गैरकानूनीरुपमा बसोबास गरिरहेका नेपालीहरूको सङ्ख्याबारे वासिङटन डिसीस्थित नेपाली दूतावासले कुनै प्रमाणित तथ्याङ्क उपलब्ध नगरेको आयोगको प्रतिवेदनमा जनाइएको छ ।
“यद्यपि, अमेरिकास्थित नेपाली समुदायलाई उद्धृत गर्दै दूतावासले आर्थिक वर्ष २०७९/८० मा करिब ५ हजार नेपाली नागरिकहरू गैरकानूनी रूपमा बसोबास गरिरहेको अनुमान गरेको थियो । यो सङ्ख्या बढेर आर्थिक वर्ष २०८०/८१ मा ७ हजार र २०८१/८२ मा ९ हजार पुगेको अनुमान गरिएको छ । यीमध्ये धेरै व्यक्तिहरू मेक्सिकोको (डङ्की मार्ग) हुँदै अवैध रूपमा अमेरिका छिरेको विवरण प्राप्त भएको छ,” प्रतिवेदनमा भनिएको छ ।
यस्तै, खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई)मा करिब ५० हजार नेपाली अवैधरुपमा रहेको अनुमान छ । महालेखापरीक्षकको कार्यालयले गरेको अध्ययनले वैदेशिक रोजगारीका क्रममा यूएई पुगेका ठूलो संख्यामा नेपालीहरू अवैध तरिकाले त्यहाँ रहेको देखाएको छ । महालेखाको ‘कार्यमूलक अन्तिम प्रतिवेदन, २०८१’ अनुसार तीन देश– यूएई, मलेसिया र साउदी अरबमा मात्र अवैध रुपमा रहेका नेपाली कामदारको संख्या ३ लाख ७१ हजार २९५ रहेको छ । from Barhakhari.com




