एकैदिन राजावादी समूह र समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेपछि त्यसको सुरक्षा व्यवस्थापन गर्न मन्त्रालयले सुरक्षा समितिको बैठक डाकेको थियो ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार, त्यसबेला समाजवादी मोर्चाको प्रदर्शन शान्तिपूर्ण हुने भए पनि राजावादी समूहको गतिविधिबारे सचेत हुनुपर्ने औंल्याइएको थियो ।
विवादस्पद पृष्ठभूमिका दुर्गा प्रसाईं जोडिएपछि आन्दोलन अराजक बन्न सक्ने आँकल थियो, उनले परिस्थिति भड्काउन कोशिश गर्ने विषय समेत छलफलमा उठेको थियो ।
पूर्वविश्लेषण र जानकारीका बाबजुद शुक्रबार राजावादी समूहको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भयो भने २२ जना घाइते भए ।
ज्यान गुमाउनेमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र आन्दोलनमा उपस्थित कीर्तिपुरका २९ वर्षीय सविन महर्जन छन् । रजक रिपोर्टिंगका लागि आन्दोलनकारीले ढुंगा हानेको घरमा प्रवेश गरेका थिए । उनी माथिल्लो तलामा भएकै बेला प्रदर्शनकारीले तल आगो लगाइदिए ।
आगो नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेको थियो, तर प्रदर्शनकारीले चालकलाई लक्षित गरेर निरन्तर ढुंगा प्रहार गरेपछि फर्कियो । त्यसबीचमा पत्रकार रजक फर्किएर आउन पाएनन् र त्यहीँ जलेर उनको मृत्यु भएको प्रारम्भिक विवरण छ ।
तीनकुनेको भिडबाट निस्किएर कोटेश्वरतर्फ गएको राजावादी समूहले कोटेश्वरमा रहेको प्रहरी प्रभागमा पनि तोडफोड र आक्रमण गर्यो भने पारि रहेको भाटभटेनी सुपर मार्केटलाई पनि निशाना बनायो । त्यसक्रममा भाटभटेनीमा राजावादी समूहका प्रदर्शनकारीले लुटपाट समेत मच्चाए ।
भाटभटेनीमा प्रदर्शनकारीको समूह प्रवेश गर्दा त्यहाँ सुरक्षाकर्मीको उपस्थिति नै थिएन ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलका अनुसार, प्रहरी नै नभएका बेला उग्र राजावादी समूह स्टोरमा प्रवेश गरेपछि केही बेर निजी सुरक्षागार्डले रोक्ने प्रयास गरेका थिए । यद्यपि, केही बेरमै अनियन्त्रित भिडले त्यहाँ लुटपाट मच्चायो ।
‘प्रदर्शनकारी छिरेलगत्तै मैले प्रहरीलाई समेत फोन गरेको थिएँ, तर प्रहरी आएन’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि म हिँड्दै कोटेश्वर चोकसम्म पुगेको थिएँ, त्यहाँ प्रहरीको चौकी नै जलिसकेको रहेछ ।’
एक सुरक्षा अधिकृतका अनुसार, प्रदर्शनकारीको भिड उग्र बन्नसक्ने पहिल्यै आशंका भएकाले त्यस्ता संवेदनशील स्थानमा प्रहरी परिचालन गर्नुपर्थ्यो । तर, त्यो हुननसक्दा भाटभटेनीमा क्षति भएको ती अधिकृत बताउँछन् ।
‘तीनकुनेमा रहेको अन्नपूर्ण पोष्ट र कान्तिपुर टिभीको कार्यालयमा प्रहरी पहिल्यै बसेको देखिन्छ, त्यसअनुसार त्यहाँ क्षति पनि कम भयो’, उनी थप्छन्, ‘तर, अन्यत्रको चुनौती मूल्यांकन गर्न कमजोरी देखियो ।’
प्रदर्शनकारीले भाँचिदिए पत्रकारको खुट्टा
शुक्रबार रिपोर्टिङका लागि काठमाडौंको तीनकुने क्षेत्र पुगेका अनलाइनखबर डटकमका पत्रकार दिनेश गौतममाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका छन्। राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास हान्ने हतियार खोसेका थिए। पत्रकार गौतमले उक्त फोटो खिचेका थिए।
फोटो खिचेको र सिआइडी भन्दै पत्रकार गौतममाथि प्रदर्शनकारीहरू जाइलागेका थिए।
‘प्रहरीको बन्दुक खोसेर प्रदर्शनकारीले काँधमा बोकेर हिँडेका थिए, मैले त्यो फोटो खिचेको थिएँ,’ पत्रकार गौतमले भने, ‘त्यसपछि प्रदर्शनकारीहरूले यो सिआइडी हो भन्दै तीनकुने चौरको डिलमा मलाई धकेलेर लडाए, अनि कुटपिट गरे। कुटपिट गरेर पनि केही परसम्म प्रदर्शनकारीले पछ्याइरहे।’
राजावादी प्रदर्शनकारीहरूले उनको मोबाइल खोस्नुका साथै कुटपिट गरेर खुट्टा भाँचिदिएका थिए। ‘कुटपिटले मेरो देब्रे खुट्टाको गोलीगाँठानेर भाँचिएको छ, बानेश्वरको एभरेस्ट अस्पतालमा खुट्टा प्लास्टर गरेँ,’ उनले भने।




