राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो व्यापक सरकारी पुनर्संरचनालाई अस्थायी रूपमा रोक्नुपर्ने भएको छ । कंग्रेसले ठूलो स्तरको कर्मचारी कटौती र निकायहरूको पुनर्संरचना गर्न अनुमति दिएको थिएन भन्दै क्यालिफोर्नियाको एक संघीय न्यायाधीशले शुक्रबार तत्कालका लागि कर्मचारी कटौति रोक्न आदेश दिएका छन । स्यानफ्रान्सिस्कोस्थित अमेरिकी जिल्ला न्यायाधीश सुसन इल्सटनले ट्रेड युनियन, गैर–नाफामूलक संस्था र स्थानीय सरकारहरूको समूहको पक्षमा फैसला गर्दै १४ दिनका लागि “शक्ति कटौती” भनेर चिनिने ठूलो स्तरको कर्मचारी कटौति प्रक्रिया तत्कालका लागि रोक्ने आदेश दिइन् । “इतिहासले देखाउँछ, राष्ट्रपति केवल तब मात्रै संघीय निकायहरूलाई व्यापक रूपमा पुनर्संरचना गर्न सक्छन्, जब कंग्रेसले त्यसका लागि अनुमति दिएको हुन्छ,” न्यायधिष इल्सटनले फैसला गर्ने क्रममा भनिन्।
यस विषयमा ह्वाइट हाउसको प्रतिक्रिया आएको छैन । ट्रम्प प्रशासनको सरकारी पुनर्संरचना डजविरुद्ध, जसको नेतृत्व संसारकै सबैभन्दा धनी व्यक्ति तथा विद्युतीय सवारी निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकारी एलन मस्कले गरिरहेका छन् यो फैसला हालसम्मकै सबैभन्दा व्यापक वा कडा मानिएको छ । कयौं मुद्दाहरूले “सरकारी कार्यक्षमता विभाग” डजको कामकारवाहीलाई गोपनीयता कानूनको उल्लंघन र अधिकारको सीमा नाघेको भन्दै चुनौती दिएका छन्, जसमा मिश्रित नतिजा आएका छन् ।
कर्मचारी कटौति गर्ने क्रममा डजमार्फत राष्ट्रपतिले सरकारी निकायहरूलाई दोहोरिएका जिम्मेवारीहरू, अनावश्यक व्यवस्थापन तहहरू, र गैर–आवश्यक जागिरहरू हटाउन, नियमित कार्यहरूलाई स्वचालित गर्न, क्षेत्रीय कार्यालयहरू बन्द गर्न, र बाह्य ठेकेदारहरूको प्रयोग घटाउन निर्देशन दिएका थिए । “ट्रम्प प्रशासनको गैरकानुनी प्रयासले संघीय सरकारलाई पुनर्संरचना गर्ने नाममा अराजकता ल्याएको छ, जसले देशभर प्रदान गरिँदै आएका महत्वपूर्ण सेवाहरूमा अवरोध पु¥याएको छ,” मुद्दा हाल्ने समूहको एउटा संयुक्त वक्तव्यमा दावी गरिएको छ । न्यायाधीश इल्सटनले २२ मेका लागि अर्को सुनुवाइ तोकिएको बताइन्, जसमा लामो समयको प्रारम्भिक आदेश जारी गर्ने विषयमा छलफल हुनेछ ।
उनले भनिन् कि मुद्दा हाल्नेहरूका केही दाबीहरू कानुनी रूपमा बलिया देखिन्छन् । २८ अप्रिलमा दायर गरिएको उक्त मुद्दामा ट्रम्पले आफ्नो अधिकार नाघेको आरोप लगाइएको छ ।
न्यायधिष इल्सटनले भनिन् कि अस्थायी प्रतिबन्धात्मक आदेश नदिँदा मुद्दा हाल्नेहरू अपूरणीय क्षतिमा पर्ने सम्भावना छ, र यस्तो आदेशले यथास्थितिलाई सुरक्षित राख्छ । उनले मुद्दा हाल्नेहरूले १,००० पृष्ठभन्दा बढी प्रमाण र ६२ वटा सपथपत्र पेश गरेको उल्लेख गर्दै केही ठोस उदाहरणहरू प्रस्तुत गरिन् ।





