माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो अधिकांश सम्पत्ति आगामी २० वर्षभित्र अफ्रिकामा स्वास्थ्य र शिक्षा सेवा सुधारमा खर्च गरिने घोषणा गरेका छन । ६९ वर्षीय गेट्सले भने, “स्वास्थ्य र शिक्षामार्फत मानवीय क्षमतालाई मुक्त पारेर, अफ्रिकाको प्रत्येक देश समृद्धिको मार्गमा लाग्न सक्नुपर्छ ।” इथियोपियाको राजधानी एडिस अबाबामा बोल्दै उनले अफ्रिकाका युवा अभिनवकर्ताहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर महादेशको स्वास्थ्य सेवामा सुधार ल्याउने उपायबारे सोच्न आग्रह गरे ।

गेट्सले गत महिना घोषणा गरेका थिए कि उनी आफ्नो कुल सम्पत्तिको ९९% जुन सन् २०४५ सम्ममा २०० अर्ब डलर पूर्ण रूपमा दान दिनेछन्, त्यपछि उनको फाउन्डेशनले आफ्ना गतिविधिहरू अन्त्य गर्ने योजना बनाएको छ । “मैले हालै एउटा प्रतिबद्धता गरेको छु—मेरो सम्पत्ति आगामी २० वर्षभित्र दिइनेछ । त्यो धनराशिको अधिकांश भाग अफ्रिकामा यहाँहरूलाई चुनौतीहरू समाधान गर्न मद्दत गर्न खर्च गरिनेछ,” बिल गेट्सले अफ्रिकन युनियन मुख्यालयमा दिएको सम्बोधनमा भने ।
मोजाम्बिककी पूर्व प्रथम महिला ग्रासा माचेलले गेट्सको घोषणालाई स्वागत गर्दै भनिन्, “यो संकटको क्षणमा आएको घोषणा हो । हामी मिस्टर गेट्सको अटल प्रतिबद्धतामा भर पर्न चाहन्छौं—उहाँ हामीसँगै परिवर्तनको यो मार्गमा अगाडि बढिरहनुहुनेछ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिका फस्र्ट“ नीतिअन्तर्गत अमेरिकाले अफ्रिकामा दिने सहयोग, उपचारजस्ता कार्यक्रमसमेत, कटौती गरेको छ, जसले महादेशको स्वास्थ्यसेवा भविष्यप्रति चिन्ता पैदा गराएको छ । गेट्सले आफ्नो फाउन्डेशन—जसले अफ्रिकामा लामो समयदेखि काम गर्दै आएको छअब प्राथमिक स्वास्थ्य सेवामा केन्द्रित हुने बताए ।
युवाअभिनवकर्ताहरूका लागि सन्देश दिँदै यो प्रविधि धनी व्यक्तिले भने, “मोबाइल फोनले अफ्रिकामा बैंकिङ क्रान्ति ल्याएको छ । अब, तपाईंहरूले नयाँ पुस्ताको स्वास्थ्य प्रणाली बनाउने क्रममा एआई कसरी त्यसमा समावेश गर्न सकिन्छ भनेर सोच्ने अवसर पाउनु भएको छ ।” गेट्सले रवाण्डालाई उदाहरण दिँदै भने, “त्यहाँ एआई सक्षम अल्ट्रासाउन्ड प्रयोग गरेर जोखिमयुक्त गर्भहरू पहिचान गरी सेवा सुधार हुँदैछ ।”गेट्स फाउन्डेशनले तीन प्रमुख प्राथमिकता तय गरेको जनाएको छः आमाहरू र शिशुहरूको रोकिनसक्ने मृत्यु अन्त्य गर्नु, नयाँ पुस्ताले घातक संक्रामक रोगहरूबाट नपिडिनु सुनिश्चित गर्नु, करोडौं मानिसहरूलाई गरिबीबाट बाहिर ल्याउनु रहेको जनाएको छ ।
सम्पुर्ण सम्पति दान दिएपछि “२० वर्षपछि फाउन्डेशनले आफ्ना सम्पूर्ण गतिविधिहरू बन्द गर्नेछ,” फाउन्डेशनको विज्ञप्तिमा भनिएको छ । “जब म मर्छु, मानिसहरूले मेरो बारेमा धेरै कुरा भन्नेछन्, तर ’ऊ धनी मरे’ भन्ने त्यो भनाइमा म अडिन दिन्न,“ बिल गेट्सले आफ्नो ब्लग पोस्टमा लेखेका छन् । ब्लूमबर्गका अनुसार, आफ्नो ९९% सम्पत्ति दान दिए पनि गेट्स अझै पनि संसारको पाँचौँ धनी व्यक्ति बन्ने सम्भावना रहन्छ । गेट्सले सन् १९७५ मा पॉल एलेनसँग मिलेर माइक्रोसफ्ट स्थापना गरेका थिए, र केही वर्षभित्रै यो कम्पनी सफ्टवेयर तथा प्रविधिको क्षेत्रमा प्रमुख शक्ति बन्यो । गत केही दशकयता गेट्सले माइक्रोसफ्टबाट बिस्तारै टाढिँदै आएका छन्—सन् २००० मा उनले प्रमुख कार्यकारीको पदबाट राजीनामा दिए भने २०१४ मा अध्यक्षको जिम्मेवारी पनि छाडे । उनले धन दान गर्ने प्रेरणा लगानीकर्ता वारेन बफेट र अन्य परोपकारीहरूबाट पाएको बताएका छन् ।