संयुक्त राज्य अमेरिकाका महान्यायाधिवक्ता प्याम बण्डीले भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोको गिरफ्तारीमा सहयोग पुर्याउने वा जानकारी दिने व्यक्तिका लागि ५० मिलियन अमेरिकी डलर पुरस्कार घोषणा गरेकी छन्।

न्याय विभाग र विदेश विभागले संयुक्त रूपमा यो पुरस्कार रकम पहिलेको २५ मिलियन डलरबाट बढाएर ५० मिलियन बनाइएको जानकारी दिएका हुन्। अमेरिकी अधिकारीहरूले माडुरोलाई लागुऔषध माफिया र सडक गिरोहहरूसँग मिलेर अवैध कारोबारी र भ्रष्ट, दमनकारी शासन सञ्चालन गरेको आरोप लगाएका छन्।
अमेरिकाले भनेको छ “माडुरोले विदेशी आतङ्कवादी संगठनहरू प्रयोग गरेर अमेरिमा हिंसा ल्याउने काम गरेका छन्,” बण्डीले एक भिडियो सन्देशमार्फत भनिन्, “ माडुरो संसारकै एक प्रमुख लागुऔषध तस्कर हुन् र हाम्रो राष्ट्रिय सुरक्षाका लागि ठूलो खतरा पनि।” ‘कार्टेल डे लोस सोलेस’ नामक संगठन उच्चपदस्थ भेनेजुएली अधिकारीहरूको संलग्नतामा सञ्चालन हुँदै आएको एक लागुऔषध तस्करी समूह हो। मार्च २०२० मा अमेरिकाले माडुरोविरुद्ध नार्को–आतङ्कवाद, कोकिन आयातको षड्यन्त्र, मेशिनगन र विस्फोटक हतियार राख्ने षड्यन्त्रलगायतका मुद्दा लगाएको थियो।
ड्रग इन्फोर्समेन्ट एजेन्सीले हालसम्म माडुरो र उनका सहयोगीहरूबाट सम्बन्धित ३० टन कोकिन बरामद गरिसकेको छ। बण्डीका अनुसार ती लागुऔषधहरू मेक्सिको र भेनेजुएलामा आधारित गिरोहहरूको मुख्य आम्दानी स्रोत हुन्। अझ खतरनाक कुरा, कोकिनमा फेन्टानिल मिसाएर बेचिने हुँदा हजारौँ अमेरिकी नागरिकको ज्यान गएको बण्डीको भनाइ छ। संयुक्त राज्यको विदेश मन्त्री मार्को रुबियोले माडुरोलाई बारम्बार “नराम्रो तानाशाह” भनी आलोचना गर्दै आएका छन्। उनले माडुरोलाई २०२४ को विवादास्पद निर्वाचनपछि भेनेजुएलाको वैध नेता नभएको जिकिर गर्दै आएका छन्।





