अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा सत्ता सम्हालेपछि पछिल्लो ५ महिनामा गरिएको भिषा प्रक्रियालगायत आप्रवासीप्रति शुरु भएको अनुदार व्यवहारका कारण अमेरिका अध्ययनका लागि जानेहरुको संख्या व्यापक घटेको छ । यूएस आप्रवासन तथ्यांकले देखाए अनुसार सन् २०२५ को जुलाईसम्म तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा अमेरिकामा आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा गिरावट आएको हो ।

सन् २०२५ को शरद ऋतुमा अमेरिकी शैक्षिक संस्थाहरूमा नयाँ विद्यार्थीहरूको भर्ना करिब ५०% ले घट्ने अपेक्षा गरिएको छ, जसमा भारतबाट आउने विद्यार्थीहरूमा पनि करिब ५०% को गिरावट हुने अनुमान गरिएको छ । विदेशी विद्यार्थी घट्नुको सम्भावित कारणहरूमा विभिन्न कारण भिसा रद्द गर्नु, भिसा अन्तर्वार्ता स्थगन गर्नु, र ओपिटी कार्यक्रमलाई अन्त्य गर्ने धम्की दिनुलगायत रहेको बताइएको छ । भारतबाट अमेरिका विधार्थी जाने सबैभन्दा ठुलो संख्या रहेको छ ।
पछिल्लो अनुसन्धान अनुसार विदेशी विद्यार्थीहरूको आगमनमा तथ्यांक अनुसार यूस ओभरसिज टे्रड एड्मिनिष्ट्रेसनका अनुसार सन् २०२५ को जुलाईमा विदेशी विद्यार्थीहरूको आगमनमा २८.५% को गिरावट आएको छ । जुलाई २०२४ मा १ लाख ०६ हजार ९९३ विद्यार्थी अमेरिका अध्ययन गर्न आएकोमा जुलाई २०२५ मा यो संख्या घटेर ७६ हजार ५१९ मा झरेको बताइएको छ । यसमा क्यानडा र मेक्सिका विधार्थीहरु समावेश नभएको बताइएको छ ।
विद्यार्थीहरूले अमेरिका आउन कक्षा सुरु हुनु ३० दिन अगाडि मात्र प्रवेश पाउने अनुमति पाउँछन्, जुन सामान्यतया जुलाई वा अगस्ट सुरुआतमा हुन्छ । उदाहरणका लागि, जर्ज टाउन, जर्ज वासिंटन, अमेरिकन युनिभर्सिटी, जर्ज मासन, यूनिभर्सिटी अफ मेरिल्याण्ड जस्ता विश्वविद्यालयहरू अगस्ट २५ वा २७ देखि कक्षा सुरु गर्छन् । त्यसबेलाको विधार्थी भर्ना र भिषा प्रक्रियाका आधारमा यो तथ्यांक निकालिएको बताइएको छ ।
केही विद्यार्थीहरूले अमेरिका नछोड्ने निर्णय गरेका छन्, किनभने उनीहरूले फर्किंदा फेरि अमेरिका प्रवेश गर्न नपाउने डर हुने बताउने गरेका छन । विश्वविद्यालयहरूले पनि विद्यार्थीहरूलाई छुट्टीमा घर नफर्कन सल्लाह दिई रहेका छन । वर्षको पहिलो सात महिनाको तुलनामा अवस्था कम खराब देखिए पनि जनवरीदेखि जुलाई २०२५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.७% ले गिरावट आएको छ । तर नयाँ विद्यार्थीहरूको वास्तविक गिरावट मुख्य रूपमा जुलाई र अगस्टको तथ्यांकमा देखिन्छ ।
खासगरी अमेरिका अध्ययन गर्न जाने विधार्थीहरुमा फरक राष्ट्रहरू अनुसार विद्यार्थीको गिरावट तथ्यांक अनुसार जुलाई २०२५ मा तुलनात्मक व्यापक गिरावट आएको उल्लेख छ । सबैभन्दा बढी अमेरिका विधार्थी जाने भारतको माईनस ४६.४% (२४ हजार २९८ बाट घटेर १३ हजार ०२७)मा पुगेको बताईको छ । त्यसैगरी दोश्रो धेरै विधार्थी अमेरिका जाने चीनको २५.६% घटेर (१९ हजार ६३४ बाट १४ हजार ६०१) पुगेको छ । त्यसैगरी फिलिपिन्सबाट ४०.८% घटेको, भियतनामबाट ३६.०% घटेको, दक्षिण कोरियाबाट १९.७% घटेको, र ताइवानबाट १४.५% घटेको उल्लेख छ ।
अमेरिकी विदेश मन्त्रालयले धेरै विद्यार्थीको भिसा रद्द गरेको छ, केहीलाई सानो गल्तीमा अमेरिका छाड्न बाध्य पारिएको कारण पनि अमेरिकामा रहेका विधार्थीहरु पनि त्रासमा छन भने उनिहरुका आफन्तका कारण आउन चाहनेहरुमा पनि केहि असर पारेको देखिन्छ । नयाँ यूएससिआईएसका निर्देशक जोसेफ एडलोले भनेका छन् कि उनले ओपिटी हटाउन चाहन्छन् र एचवान वी भिसा प्रणालीलाई विदेशी विद्यार्थीहरूको विपक्षमा परिवर्तन गर्न चाहन्छन् ।




