संयुक्त राज्य अमेरिकाले ३७ मिलियन डलरको विदेशी सैनिक सहायता अनुदान फरेन मिलिटरी फाईनान्सिड ग्रान्टमार्फत दुईवटा नयाँ २८ स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको छ । आज आयोजिक कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुतडीन थम्पसनले परराष्ट्रमन्त्रि डा आरजु राणाको उपस्थितिमा प्रधानसेनापति अशोक सिग्देललाई हस्तान्तरण गरिएको छ । यो सहित नेपालको स्काइ ट्रकको सङ्ख्या पाँच पुगेको छ । अमेरिकाले पहिले सन् २०१९ मा दुई स्काइट्रक प्रदान गरिसकेको थियो भने नेपालले एकवटा आफैं खरिद गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत डीन थम्पसनले परराष्ट्रमन्त्री डा. आरजू राना देउवा, रक्षामन्त्री मानबीर राई, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, वरिष्ठ अधिकारीहरू र एश्ी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा स्काइट्रक विमानहरू नेपाली सेनालाई हस्तान्तरण गरेका हुन ।
राजदूत थम्पसनले यी विमानहरूले नेपालको मानवतावादी सहायता प्रतिक्रिया क्षमता र समग्र क्षमतामा बल पुगेको बताएका छन । उनले भने, “यी विमानहरू केवल मेशिन होइनन्, यी जीवनदायिनी साधन हुन् । नेपाललाई आपतकालीन अवस्थामा छिटो र प्रभावकारी ढंगले प्रतिक्रिया दिन सहयोग गर्नेछन् ।” उनले थपे, “यो हस्तान्तरण हाम्रो सुरक्षा सहकार्यको एउटा पाटो मात्रै हो जसमा तालिम, अनुभव आदान–प्रदान, उपकरण सहयोग र रणनीतिक योजना समावेश छन र यसले सक्षम, लचिलो र सुरक्षित नेपालप्रति हाम्रो प्रतिबद्धता दर्शाउँछ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री आरजू राना देउवाले भनिन्, “यो क्षण केवल नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धिको दृष्टिले मात्र होइन, नेपाल र संयुक्त राज्य अमेरिका बीचको दीर्घकालीन मित्रता र सहकार्यको प्रतीकका रूपमा पनि महत्वपूर्ण छ । अमेरिका सदैव नेपालको दृढ विकास साझेदार र भरपर्दो मित्र रहँदै आएको छ—शासन प्रणाली सुधार, मानवीय सहायता, विपद् प्रतिकार्य, शान्ति स्थापना र क्षमता विकासमा साथ दिँदै आएको स्मरण पनि गरिन ।”
पिर्जेल मिएलेक (पिजेएल), जुन लोहकिड मार्टिनको सहायक कम्पनीद्धारा निर्मित यी बहुपयोगी विमानहरूमध्ये एकलाई स्वास्थ्य उद्दारका लागि मेडिभ्याक एम्बुलेन्सको रूपमा पनि परिकल्पना गरिएको छ । यी विमानहरूको छोटो टेक–अफ र ल्याण्डिङ क्षमताले दुर्गम विमानस्थलहरू र कठिन भौगोलिक क्षेत्रहरूमा सहज पहुँच सम्भव बनाउने छ । यिनको प्रभावकारी सञ्चालन र मर्मत सम्भारका लागि पाइलट तथा ग्राउन्ड स्टाफलाई युरोप र नेपालमा व्यापक तालिम दिइनेछ ।
यो हस्तान्तरणले सन् २०१९ मा अमेरिकी सहयोगमा प्रदान गरिएका दुई स्काइट्रकको निरन्तरता दिन्छ । त्यसयता नेपाली सेनाले ती विमानहरूलाई मानवीय सहायता, चिकित्सकीय उद्दार तथा दुर्गम बस्तीहरूमा सामग्री आपूर्ति जस्ता कार्यहरूमा व्यापक रूपमा प्रयोग गर्दै आएको छ ।





