अमेरिकाभरका विभिन्न राज्यहरूले सीमाको उत्तरतर्फ काम गर्ने तर अंग्रेजी परीक्षणमा असफल भएका ५ हजार ५०० व्यावसायिक ट्रक चालकहरूको ड्राइभिङ अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ । मेक्सिकोको उत्तर–पश्चिम मालवाहक परिवहन चेम्बरका उपाध्यक्ष इजरायल डेलगाडो भालेजोका अनुसार “अहिलेसम्म हामीले ५ हजार ५०० जना चालकको सेवा निलम्बन वा लाइसेन्स खारेज भएको दर्ता गरेका छौं, हामी अझ कडा र कठोर कार्यान्वयन देखिरहेका छौं,” डेलगाडो भालेजो बताएका छन ।
छ महिनाअघि राष्ट्रपति ट्रम्पले एउटा कार्यकारी आदेश जारी गर्दै एउटा विद्यमान कानुन पुनः लागू गरेका थिए, जसअनुसार व्यावसायिक ट्रक चालकले सडकका संकेतहरू पढ्न र कानून कार्यान्वयन निकायसँग संवाद गर्न पर्याप्त अंग्रेजी बोल्न र बुझ्न सक्षम हुनुपर्छ भन्ने कानुन शुरु गरिएको थियो । डेलगाडो भालेजोले बताए अनुसार, यो कडा निगरानी यो वर्षको अन्त्यसम्म जारी रहने अपेक्षा गरिएको छ, विशेष गरी टेक्सास र अन्य मेक्सिकन बोर्डर जोडिएका जस्ता राज्यहरूमा जहाँ सबैभन्दा बढी निलम्बन भएका छन् ।

उता ट्रक चालकहरूका अनुासर “क्यालिफोर्निया सजिलो छ, तर टेक्सास र अर्कान्सास अंग्रेजी नबोल्ने व्यावसायिक चालकहरूका लागि कडा छन् ।” उनीहरुका अनुसार, मेक्सिको र संयुक्त राज्य अमेरिकाबीचको सीमामा करिब ८० हजार जना ट्रक चालकहरूले मालसामान ढुवानी गर्ने काम गर्छन्, जसमा करिब ८० प्रतिशतले अंग्रेजी बोल्दैनन् । हालै, अमेरिकी यातायात विभागले क्यालिफोर्निया, वाशिङ्टन र न्यू मेक्सिकोजस्ता राज्यहरूलाई अंग्रेजी बोल्ने अनिवार्यता लागू गर्न चेतावनी दिएको छ ।
विभागले चेतावनी दिएको छ कि यदि ती राज्यहरूले नियम कार्यान्वयन नगरे भने संघीय यातायात कोष (फेडरल ट्रान्सपोर्टेशन फण्ड) कटौती गर्न सकिनेछ र परीक्षणमा असफल भएका चालकहरूलाई दण्डित गर्नुपर्नेछ । क्यालिफोर्नियाको हाइवे पेट्रोलले भनेको छ कि केवल अंग्रेजी नबोल्ने कारण ट्रक चालकहरूको लाइसेन्स खोसिने छैन । खोरजीमा पर्नेमा धेरैजसो मेक्सिकन, भारतीय चाईनिज रहेको बताइएको छ । अंग्रजी भाषामा जानकार नभएका कारण कतिपय ठुला दुर्घटना भएकोले राष्ट्रपतिले कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि कारबाही शुरु गरिएको थियो ।





