अमेरिकास्थित नेपाली दुतावासले अमेरिका, मेक्सिको, कोस्टारिका, पानामा, एल साल्भाडोर, होन्डुरस, ग्वाटेमाला, बहमास र बेलिजमा रहनुहुने नेपालीहरुका लागि हुण्डीमार्फत कुनै कारोबार नगर्न सुचना जारी गरेको छ । यी स्थानहरुबाट व्यक्ति वा संस्थाले नेपालमा रकम पठाउँदा वा नेपालबाट रकम ल्याउँदा बैंकिङ्ग च्यानलको मात्र प्रयोग गर्नु र गराउनुहुन भन्दै त्यस्तो सुचना पाएमा दुतावासमा जानकारी गराउनु हुन अनुरोध गरेको छ ।

दुतावसले कुनै व्यक्ति वा संस्थाले अनौपचारिक च्यानल वा माध्यमको प्रयोग गरी विप्रेषण कारोबार हुण्डी गरेको सूचना र जानकारी आफूसँग भए त्यस्तो कार्य गर्नेरगराउने व्यक्ति वा संस्थाको विवरण यस राजदूतावासको देहायको इमेल ठेगानामा पठाई हुण्डी कारोबारलाई निरूत्साहित गर्ने कार्यमा सहयोग पुर्याउनु अनुरोध गर्दै सुचना दिनेको विवरण गोप्य राख्ने जनाएको छ ।
अनौपचारिक च्यानल वा माध्यमबाट गरिने विप्रेषण कारोबार हुण्डी एक गैरकानूनी कार्य हो । सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि अनौपचारिक च्यानल वा माध्यमको प्रयोग गरी नेपालतर्फ र नेपालबाट विदेशतर्फ विप्रेषण कारोबार हुण्डी हुन नदिनु नेपाल सरकारको अन्तर्राष्ट्रिय दायित्व रही आएको छ । अनौपचारिक विप्रेषण कारोबार हुण्डीले मुलुकमा वैदेशिक मुद्राको कमी भई सोधनान्तर भुक्तानी क्षमतामा ह्रास आउनुका साथै अन्तर्राष्ट्रिय निकाय एवम अन्तर्राष्ट्रिय समुदायको निगरानीमा पर्न गई मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पर्न जान्छ ।




