अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा लगाइँदै आएको भन्सार शुल्क ५० बाट घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका छन्। यसको बदलामा भारतले रूसबाट तेल किन्न बन्द गरेर अमेरिकी तेल किन्न थाल्ने र व्यापारिक अवरोधहरू घटाउने सहमति जनाएको ट्रम्पले बताएका छन्। ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन संवादपछि सामाजिक सञ्जालमार्फत् नयाँ व्यापारिक सम्झौता भएको जानकारी दिएका हुन्।

उनका अनुसार भारतले अब अमेरिकाबाट तेल खरिद गर्नेछ भने सम्भावित रूपमा भेनेजुएलाबाट पनि तेल किन्न सक्छ। भारत विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता हो। भारतले आफूलाई आवश्यक पर्ने करिब ९० प्रतिशत तेल आयातबाट पूरा गर्छ। सस्तो रूसी तेलका कारण युक्रेन युद्धपछि भारतको आयात खर्च घटेको थियो। तर हालै भारतले रूसबाट तेल खरिद क्रमशः घटाउँदै लगेको छ।
ह्वाइट हाउसका एक अधिकारीले अन्तर्राष्ट्रिय समाचार संस्था ‘रोयटर्स’ लाई बताएअनुसार रूसबाट तेल किनेको विषयलाई लिएर भारतमाथि लगाइएको २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क अमेरिकाले फिर्ता लिएको छ। यसअघि भारतका सबै आयातमा २५ प्रतिशत ‘पारस्परिक’ भन्सार शुल्क लाग्दै आएको थियो, जसले कुल भन्सार दर ५० प्रतिशत पुगेको थियो।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै ट्रम्पसँगको वार्ता सुखद रहेको र ‘मेड इन इन्डिया’ उत्पादनमा १८ प्रतिशत भन्सार लाग्ने निर्णयप्रति खुसी व्यक्त गरेका छन्। ‘भारतका १ अर्ब ४० करोड जनताका तर्फबाट राष्ट्रपति ट्रम्पलाई यो महत्त्वपूर्ण घोषणाका लागि ठूलो धन्यवाद,’ मोदीले लेखेका छन्।
भारतका वाणिज्यमन्त्री पियुष गोयलले पनि यो सम्झौताले भारत र अमेरिकाको अर्थतन्त्र अझ नजिक ल्याउने बताएका छन्। भारतसँग नयाँ व्यापार सम्झौताको घोषणापछि अमेरिकी बजारमा सूचीकृत ठूला भारतीय कम्पनीका सेयरमा वृद्धि भएको रोयटर्सले जनाएको छ। सूचना प्रविधि सेवा कम्पनी ‘इन्फोसिस’ को सेयर ४.३ प्रतिशत र विप्रोको सेयर ६.८ प्रतिशत वृद्धि भयो। ट्रम्पका अनुसार भारतीय प्रधानमन्त्री मोदीले ‘अमेरिकी उत्पादन धेरै ठूलो परिमाणमा खरिद गर्ने’ प्रतिबद्धता पनि जनाएका छन्। यो सम्झौता भारतले युरोपेली संघ (इयू) सँग हालै गरेको व्यापार सम्झौतापछि आएको हो।




