• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राजनीतिक दलहरुको घोषणापत्रमा गैरआवासिय नेपालीप्रतिको दृष्ट्रिकोण कस्तो छ ?

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन १०, आईतवार ०५:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    कांग्रेस, एमाले, नेकपा, रास्वपालगायतका दलहरूले गैरआवासीय नेपाली नागरिकलाई संविधानले प्रदान गरेका हक र अधिकार सुनिश्चित गर्नका लागि कानुनहरू संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रास्वपा र राप्रपाले भने नेपाली नागरिकता लिएर विदेशमा गई त्यहाँकै नागरिकता लिए पनि नेपाली नागरिकता कायमै रहने गरी संवैधानिक र कानुनी व्यवस्था गर्ने पहल गर्ने चुनावी वाचा गरेका छन् ।

    कांग्रेसको प्रतिज्ञापत्रमा ‘नेपाली डायस्पोरा अटुट सम्बन्ध विस्तारित नेपाल’ शीर्षकमा ‘एक पटकको नेपाली, सधैंको नेपाली’ शीर्षकमा विदेशी नागरिकता लिएका नेपालीहरूको विषयमा उल्लेख गरेको छ । ‘हामी एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनालाई आत्मसात् गर्दै नागरिकताको निरन्तरता, सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गरेर डायस्पोराका सबै पुस्ताको भावना, ज्ञान, सीप र पुँजीलाई देशको समुन्नतिमा जोड्ने छौं,’ प्रतिज्ञापत्रमा उल्लेख छ ।

    कांग्रेसले गैरआवासीय नेपालीको दोस्रो पुस्ताको नेपालसँगको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ, जीवन्त र आत्मीय राखिराख्न थप कानुनी व्यवस्था गर्ने प्रतिज्ञा गरेको छ । ‘कांग्रेस पार्टीले गैरआवासीय नेपाली समुदाय वा नेपाली डायस्पोरालाई राष्ट्र निर्माणको महत्त्वपूर्ण साझेदारका रूपमा आत्मसात् गर्दै आएको छ ।
    उनीहरूको पहिचान, अधिकार र आर्थिक एवं बौद्धिक लगानी सुनिश्चित गर्न विसं २०६४ मा जारी भएको गैरआवासीय नेपाली ऐन, सामाजिक सुरक्षा कोष तथा गैरआवासीय नेपाली नागरिकतासम्बन्धी संवैधानिक व्यवस्थाजस्ता कानुनी प्रावधानहरू लागू गर्न हाम्रो पार्टीको मुख्य भूमिका रहेको छ,’ कांग्रेसले भनेको छ, ‘सबै पुस्ताका गैरआवासीय नेपालीहरूको पूर्ण सम्भावनाको सदुपयोग गर्दै विदेशी भूमिमा आर्जन गरेको सीप र अनुभवलाई नेपालको विकासमा जोड्न तथा नेपालसँगको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि आवश्यक थप कानुनी तथा नीतिगत व्यवस्था गर्न हामी निरन्तर क्रियाशील छौं ।’

    कांग्रेसले गैरआवासीय नेपाली समुदायको सम्बन्धमा संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताका आधारमा प्रदान हुने हक, हित र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । काठमाडौंमा प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेस सभापति गगन थापाले भने, ‘नेपाली डायस्पोराको सम्बन्धमा कांग्रेस स्पष्ट छ– एक पटकको नेपाली सधैंको नेपाली । यसका निम्ति हाम्रो संविधानमा कानुनमा जे संशोधन गर्नुपर्ने हो, त्यो गर्छौं । हामीले ननरेसिडेन्ट नेपाली नागरिकता दिएका छौं । तर यसले प्राप्त गर्नुपर्ने अधिकारहरूका सन्दर्भमा हामी अत्यन्त अनुदार भएका छौं । एनआरएन ऐन बनाएर मात्रै हुँदैन, अरू दर्जनौं कानुनहरू छ, ती कानुनहरू संशोधन गरेनौं भने एनआरएनले प्राप्त गरेको अधिकार प्राप्त गर्न सक्दैनौं ।’

    पार्टीले गैरआवासीय नेपाली नागरिकताका आधारमा प्राप्त हुने अधिकार प्रदान गर्नका लागि बाधक कानुनको सम्बन्धमा अध्ययन गरेको उल्लेख गर्दै सभापति थापाले पैत्रिक सम्पत्तिको सुरक्षा गर्ने, उसले आफ्नो जग्गाको कारोबार गर्न पाउनेलगायतका कानुनी आधार स्पष्ट पार्ने बताए । दोहोरो करका सन्दर्भमा सुविधा दिने कुराको सम्झौता गर्ने र गैरआवासीय नेपालीहरूको स्थायी परोपकारी कोष बनाउने, विदेशमै बसेर पनि नेपालको विश्वविद्यालय, सिभिल सर्भिसलगायत नेपालको अरू निकायहरूमा योगदान गर्न सक्ने गरेर संस्थागत व्यवस्थापन गर्ने थापाको भनाइ थियो ।

    यसैगरी एमालेले घोषणापत्रमा ‘नेपालका सद्भाव दूत, एनआरएनको सम्मान मातृभूमिको विकासमा सार्थक योगदान’ शीर्षकमा गैरआवासीय नेपालीको सम्बन्धमा उल्लेख गरेको छ । ‘विदेशमा रहनुभएका गैरआवासीय नेपालीलाई हामी अन्तर्राष्ट्रिय जगत्मा नेपालको सद्भाव दूतका रूपमा लिन्छौं । नेपाली डायस्पोराको नीति निर्माण, व्यवसाय प्रवर्द्धन, लगानी परिचालन र सामाजिक विकासमा योगदान बढाउन राष्ट्रका विभिन्न सार्वजनिक निकायमा प्रतिनिधित्वको व्यवस्था गर्ने छौं,’ एमालेको घोषणापत्रमा लेखिएको छ, ‘विदेशमा बस्ने नेपालीको नेपालमा रहेको सम्पत्तिको संरक्षण गर्ने छौं । लगानीबाट आर्जित मुनाफा फिर्ता लैजान पाउने कानुनी प्रबन्ध गर्ने छौं । राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गर्ने गैरआवासीय नेपाली नागरिकलाई थप कर छुटको व्यवस्था गर्ने छौं ।’

    नेकपाले गैरआवासीय नागरिकतालाई थप अधिकार सम्पन्न बनाउने नीति लिने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । ‘गैरआवासीय नेपालीको ज्ञान, सीप र आर्जनलाई राष्ट्र निर्माणमा लगाउने नीति लिइनेछ । प्रवासी नेपाली नागरिकको श्रमसम्बन्धी हकलगायत अन्य हकको सुरक्षाका लागि प्रभावकारी पहल गरिनेछ,’ नेकपाको प्रतिबद्धतापत्रमा लेखिएको छ, ‘गैरआवासीय नेपालीबाट स्वदेशमा लगानी भित्र्याउनका लागि संघीय सरकारले विशेष महत्त्वका साथ योजना बनाउन लगाइनेछ । गैरआवासीय नेपाली नागरिकतालाई थप अधिकार सम्पन्न बनाउन आवश्यक कानुन बनाइनेछ ।’

    यस्तै रास्वपाले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ नारा लगाउँदै दोहोरो नागरिकताको पक्षमा उभिने बताएको छ । बहुमत प्राप्त भएको खण्डमा संविधानमा नै दोहोरो नागरिकताको व्यवस्था गर्ने रास्वपाले वाचा गरेको छ । सुर्खेतमा बिहीबार सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतले सार्वजनिक गरेको ‘वाचापत्र’ मा दोहोरो नागरिकताको पक्षमा उभिने प्रतिज्ञा गरिएको हो ।

    रास्वपाको प्रतिज्ञापत्रको बुँदा नम्बर ९९ मा लेखिएको छ, ‘रास्वपाले प्रवासका नेपालीलाई देशको आर्थिक रूपान्तरणको मुख्य आधार स्तम्भका रूपमा हेर्दछ । विदेशमा रहेका नेपालीका लागि मतदानको अधिकार प्रदान गर्नुका साथै गैरआवासीय नेपालीको एक पटकको नेपाली, सधैंको नेपाली भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिँदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटलाई तत्काल अन्त्य गर्ने छौं ।’

    रास्वपा वाचापत्र लेख्ने समितिका संयोजक वाग्लेले पार्टीले बहुमत प्राप्त गरेमा दोहोरो नागरिकता स्वीकार गर्न संविधान र कानुनी सुधार गर्ने बताए । उनले भने, ‘एक पटकको नेपाली सधैंको नेपालीका आधारमा हामी तपाईंहरूको नागरिकताको निरन्तरताका लागि पैरवी गर्ने छौं, उल्लेख्य संख्या र सामर्थ्य पुगेको दिन हामी त्यसलाई कानुनी स्वरूप प्रदान गरेर अगाडि बढ्ने छौं ।’

    राप्रपाले गैरआवासीय नेपालीको सम्बन्धमा एउटा बुँदामा मात्र उल्लेख गरेको छ । संकल्प पत्रमा उसले वंशजको नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले विदेशी नागरिकता लिए पनि नेपाली नागरिकता पनि निरन्तरता हुने लेखेको छ । ‘गैरआवासीय नेपाली समुदायले आर्जन गरेको सीप र पुँजीलाई देश विकासमा उपयोग गर्न वंशजको नागरिकताको निरन्तरता कायम गरेर एक पटकको नेपाली सधैंको नेपाली सुनिश्चित गरिनेछ,’ राप्रपाको संकल्प पत्रमा लेखिएको छ, ‘विदेशमा रहेका नेपालीको सीप, ज्ञान तथा अनुभवलाई ‘ब्रेन गेन’ का रूपमा प्रयोग गरी राष्ट्रिय प्रगतिमा योगदान दिलाइनेछ ।’

    नेपालको संविधानले गैरआवासीय नागरिकताको व्यवस्था गरेको छ । तर गैरआवासीय नेपालीले राजनीतिक अधिकार प्राप्त नगर्ने नेपालको कानुनमा उल्लेख छ । गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र प्राप्त गर्न पाउने व्यवस्था छ । नेपालको वंशजको नागरिकता प्राप्त गरेको व्यक्तिले भने आर्थिक, सामाजिक, सांस्कृतिक हित र राजनीतिक अधिकार पनि प्राप्त गर्दछ । नेपालको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुख, प्रशासन सेवाका प्रमुखलगायत सबै अधिकार राजनीतिक अधिकार प्राप्त व्यक्तिले प्राप्त गर्दछन् ।

    संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्था छ । ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ,’ संविधानमा भनिएको छ ।

    Post Views: 28
    प्रकाशित मिति: २०८२ फाल्गुन १०, आईतवार ०५:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.