संसार धेरै सानो भइसक्यो । हामी घर परिवारबाट पनि यो कुरा अनुभव गर्न सक्छौँ । हाम्रै घर परिवारका बालबच्चा, इष्टमित्र, नातेदारहरू देशबाहिर छन् । हाम्रो जुन भौगोलिक अवस्था छ, त्यसले हाम्रो समाजलाई समेटिरहेको देखिँदैन । यतिखेर सबैभन्दा ‘फन्डामेन्टल डिफरेन्सेस’का रूपमा त्यो अवस्था आएको छ ।

हामी मेरो परिवार, मेरो समाज भन्दाभन्दै पनि मेरो परिवार मसँग मात्रै पनि छैन । मभन्दा बाहिर पनि छ, त्यो भूमिका रूपमा, बसोबासका रूपमा, जमिनी रूपमा ।
त्यसरी हेर्दा हिजो समाज निश्चित समुदाय, निश्चित ठाउँमा बसेको, निश्चित रहन–सहन, निश्चित भौगोलिक सीमाभित्र हुन्थ्यो । जस्तो यतिखेर म आफैँलाई हेर्छु, गुल्मीको जुहाङबाट आए । अनि जुहाङ भन्नेबित्तिकै एउटा भौगोलिक सीमा थियो, त्यहाँभित्र खोला–नाला, चाडपर्व सबैबाट मिश्रित हुँदै आएका थियौँ ।
काठमाडौं आइसकेपछि के बुझिन्छ भने यहाँको रहनसहन के हो ? चाडपर्व के हो ? यहाँ को मान्छे कहाँ बस्छ ? हामीलाई सबै थाहा छ, समुदाय त्यसरी बन्छ । तर, नेपाली समाजलाई कुनै भौगोलिकताभित्र बाँध्न सकिन्छ कि सकिँदैन ? सबभन्दा ठूलो चिन्ता त्यो छ । कसै–कसैले नेपाली नेपालभन्दा बाहिर धेरै भइसकेको स्थिति छ भन्छन्, त्यो गुणात्मक रूपमा ।
अब नेपाली समाजलाई कसरी हेर्ने भन्ने सवालमा अर्थ–राजनीतिको दृष्टिकोण एउटा हुन सक्छ, सामाजिक–राजनीतिक दृष्टिकोण अर्काे हुन सक्छ । दुवैमा राजनीति छ । किनभने हामी को हौँ ? कहाँबाट आयौँ ? कहाँ जाँदै छौँ ? भन्ने चाहिँ हाम्रो समयमा त्यसलाई राजनीतिले परिभाषा गर्छ ।
राजनीतिको परिभाषा भनेको पनि राष्ट्र के हो ? देश के हो ? समाज के हो ? हाम्रो ‘बिलोगिङ’ अर्थात् हाम्रो सम्बन्धहरू एक–अर्कासँगको कस्तो छ ? के ले परिभाषित गर्छ त ?
त्यो राजनीतिक व्यवस्थाले, राजनीतिक सदस्यताले हामी कहाँका नागरिक हौँ, कहाँ बस्छौँ भन्ने कुराले हामीलाई परिभाषित गर्छ ।
त्यसकारण आजभन्दा ३० वर्ष अगाडिको नेपाल, नेपाली, नेपाली समाज, धेरै पर नजाऔँ ३० वर्षयता अझ व्यापक सामाजिक चर्चा–परिचर्चामा ‘३५ वर्ष’ ? ‘३५ वर्ष’ ? भनिरहेका छन्, त्यही हेर्दा हुन्छ ।
३५ वर्षलाई लियौँ भने हालको पुस्ताले किन ३५ वर्ष भन्दै कसैलाई किन लाञ्छना लगाइरहेको छ अथवा देखाइरहेको छ त ? यो ३५ वर्षलाई हेर्यौँ भने एउटा अचम्मको समाज विकासका क्रममा केही राजनीतिक घटना, आर्थिक घटना र केही दैवी घटनाहरूले पनि परिभाषित गर्दो रहेछ ।
दैवी घटनाबाट के सिक्यौँ त ?
नेपाली समाजलाई तीन–चारवटा दैवी घटनाहरूबाट परिभाषित गर्न सकिन्छ ।
२०७२ को भूकम्प, त्यसपछि ‘कोभिड प्यान्डेमिक’, यसबीचमा टेक्नोलोजीकल परिवर्तनहरू, सामाजिक सन्जालका जुन परिवर्तनहरू भएका छन्, हालको समाजलाई त्यसले परिभाषित गर्छ जस्तो लाग्छ ।
त्यत्रो भूइँचालो आयो । तर, हाम्रो सार्वजनिक स्मरण अथवा सार्वजनिक स्मृति या सामूहिक स्मृति कति क्षीण भइसकेको रहेछ भने भूकम्प प्रतिरोधात्मक व्यवस्था गर्ने जुन किसिमका सामाजिक र राजनीतिक प्रतिबद्धता आएका थिए, त्यो यतिखेर कहीँ पनि देखिँदैन ।
कोभिड महामारीले पनि हामीलाई त्यही किसिमले परीक्षण गर्यो । त्यसबाट हामीले के सिक्यौँ भन्ने कुरा पनि फर्केर हेर्दा बडो अनौठो लाग्छ । काठमाडौँमा केही समययता ‘एच वान, एन वान’बाट मानिसहरू बिरामी हुँदै छन् ।
हिजो अस्ति मलाई आफैँ पनि सञ्चो भएन, म जँचाउन गएँ । डाक्टर मसँग भन्दैथिए, ‘जति पनि रुघाखोकीका बिरामी आउँछन्, त्यसमा आधा ‘एच वान, एन वान’बाट आउँछन्, त्यसमा आधा कोभिड छ ।’
त्यसो भन्दै गर्दा महामारीले पनि हामीलाई ‘सेभ’ गर्दो रहेछ नि त । हामीहरू मास्क नलगाइकन कुरा गरिरहेका छौँ । तर मास्कले हामीलाई बचाएको केही समय त थियो नि, होइन र ? घटनाहरूले समाजलाई कुनै न कुनै किसिमको ‘प्याथोलोजी’ छाडेर जाँदो रहेछ । त्यही भएर ‘बडी प्याथोलोजी’ भनिन्छ ।
समाजमा केही घटना मञ्चन हुन्छ, राजनीतिक हुन्छ, आर्थिक हुन्छ । कुनै न कुनै किसिमका दैवी प्रकोप पनि हुन्छ । त्यसले हाम्रो व्यवहारमा कस्तो किसिमका परिवर्तन ल्याउँछ, सोचमा परिवर्तन ल्याउँछ भन्ने हुन्छ ।
मैले भर्खर भने ३–४ वटा ठुला ठुला घटनाहरू, तिनबाट हामीले के सिक्यौँ भन्नेमा चाहिँ बडो ठूलो विस्मय हुन्छ ।
कुरा ‘सिरियस’ हुन्थ्यो । तर, मैले त्यसलाई अलि मजाकको रूपमा भन्ने गरेको थिएँ कि मान्छेको सोच्ने क्षमता क्षणिक हुँदोरहेछ । समाजमा सबैले लामो सोच्दा रहेछन्, केही मानिसले मात्र लामो समय सोच्दा रहेछन् । नेतृत्वले हैन, संस्थाहरूले लामो समयको सोच राख्ने हुँदोरहेछ । तर व्यक्तिले त दिनानुदिन बाँच्नुपर्छ, खानुपर्छ, सोच्नुपर्छ ।
समाज र मसान वैराग्य
त्यसमा मैले के भन्ने गरेको थिएँ भने ‘मसान वैराग्य’ जस्तो छ, हाम्रो समाज । घाटमा गएपछि जलिरहेको मानिस, आफन्तहरू देखेपछि हामीमा तत्क्षण एकदिन जानु नै छ भनी ‘वैराग्य’ पलाएर आउँछ ।
त्यहाँबाट फर्किदै गौशाला पुग्दा नपुग्दै दिनानुदिनका तनाव, चेष्टा, काम गर्नुपर्ने, बाँच्नुपर्ने, कुरा गर्नुपर्ने, सामाजिक प्रक्रिया सुरु हुन्छ । कतिपय ठाउँमा हामी त्यस्तो ठाउँमा गएपछि के खाने, के गर्ने, के चलन छ भन्नेतिर जान्छौँ ।
नेपाली समाजको सन्दर्भमा हाम्रो सामूहिक स्मृति चाहिँ क्षीण छ, छोटो छ ।
‘अब त्यो किन छ त ?’ एकदम आज म अलि ‘प्रोभोकेटिभ’ कुरा गर्छु । यो परिचर्चा मानिसलाई चित्त नबुझ्न सक्छ । के नेपाली समाज साँच्चिकै आधारभूत रूपमा एक ठाउँमा आउने तत्वहरू पाइसकेको छ कि छैन ? समाज बन्ने तत्वहरू हुन्छ, त्यो भइसक्यो कि छैन ? चार–पाँच घटनाहरूबाट मेरो मनमा यस्ता प्रश्न आउँछन् ।
एक त हामीले अनेक राजनीतिक आन्दोलनहरूका क्रम हेर्यौँ भने नेपाली राज्य थिग्रिँदै छ, थिग्रिँदै छ र अब यो ‘कन्सोलिडेट’ हुँदै छ, लोकतन्त्र ‘कन्सोलिडेट’ हुँदै छ, राज्य लोकतान्त्रिक हुँदै छ भनिरहेका छौँ । तर, यो भन्न थालेको पनि ७५ वर्षभन्दा भइसक्यो ।
अनि यसो झट्ट सम्झिन्छु कि कुनै समय परिस्थिति यस्तो थियो कि हाम्रो आफ्नै जग्गा कति छ भन्ने पनि थाहा हुँदैन थियो । किनभने खेती–किसानी गर्ने मान्छेले नै जमिनको कुरा बुझ्थ्यो । हाम्रो ठाउँमा खेती किसानी गर्नेहरूको जग्गाप्रतिको दृष्टिकोण कस्तो थियो भने कति मुरी धान फल्ने खेत हो ? यति बिघा, यति रोपनी भनी मापन गर्न नसक्ने हामीहरू होइनौं र ?
त्यसको ऐतिहासिक पक्षलाई हेर्दै गयौँ भने पृथ्वीनारायण शाह अथवा उनका सन्ततिका पालामा नेपाल बिस्तार गर्ने क्रममा डाँडा–डाँडा कुँदेर हिँडे कहाँ रोकिने भन्ने थाहा थिएन भनी इतिहासकार फादर लुडविग एफ. स्टिलरको ‘दी साइलेन्ट क्राइ’मा उनले लेखेका छन् । त्यो नेतृत्वलाई थाहा थिएन, कहाँ पुगेर रोकिने ?
पृथ्वीनारायण शाहको समयमा मानिसहरू नेपाल एकीकरण निम्ति किल्ला काँगडासम्म पुगे । त्यसरी लडाइँ लड्दै त्यहाँ पुग्दा काठमाडौँमा ‘एलिट’हरू कलहमा थिए, त्यसले गर्दा उनीहरूसँग सम्पर्क नै भएनछ ।
त्यसरी सम्पर्क नभएपछि के भएछ भने तिनीहरूले त्यहीँ लुटलाट गर्न थालेछन् । वीर गोर्खालीहरू कुमाउ–गढवालमा पुग्दासम्म लुटेरा भइसकेछन् । अनि त्यसपछि नेपाल एकदम ‘इन्वार्ड लुकिङ’ भयो, अमरसिंह थापाको पतन, भिमसेन थापाको उदय भयो । सुगौली सन्धि भइसकेपछि नेपाली राज्य एकीकृत राज्यको स्वरूप बनेको हो भनी इतिहासकारहरू भन्छन् । त्यस मानेमा के हो भने ऐतिहासिकता पनि बुझ्न जरुरी छ ।
तर, अब यो समयमा पृथ्वीनारायण शाह के थिए, भिमसेन थापा को थिए, नेपाल कहिले बन्यो, नेपाली समाज के हो ? भन्ने सवालको तानाबाना बुन्दा के लाग्छ भने हामी समाज बन्ने क्रममा र राज्य बन्ने क्रममा अझै छौँ जस्तो छ ।
किनभने राजनीतिक आन्दोलनहरूलाई सम्झ्यौँ भने हिजो केही भएको थिएन, आज केही गर्छौँ भन्ने छ । तर, हाल भएका कुराहरूलाई ‘कन्सोलिडेट’ गर्ने हामीले त्यसमा धेरै कुरो गरेछौँ ।
चञ्चल समाज कि राज्य ?
त्यो बडो अनौठो संयोग हामीहरूको छ त ? त्यो हाम्रो हालको समाजको सबैभन्दा ठूलो चरित्र भनेको समाजको कुरा आयो त्यो राज्यको चरित्रसँग मिल्छ । म त्यसलाई चञ्चल छ भन्छु ।
समाज चलायमान हुनुपर्छ ठिकै छ, तर राज्य चलायमान हुनु हुँदैन । राज्य त स्थिरताको प्रतीक हो नि त हैन र ? तर, राज्य नै चलायमान जस्तो देखिन्छ, आज एउटा नियम छ भोलि अर्को नियम आउँछ ? एउटा लागु भएको थिति–रिति बस्न नसकेको समयमा समाज यति चञ्चल छ, त्यसमाथि यो टेक्नोलोजीदेखि मानिसहरूका इच्छा आकांक्षा यति बढेको छ कि संसार साँघुरो भएको छ ।
जेनजी आन्दोलनका बेला अचम्मको परिस्थिति सिर्जना भयो त्यो के भने जेनजीहरू अथवा त्यसको अर्को नाम नेपालमा प्रचलनमा आएको छैन, कसैले नवयुवा भने, कसैले के ? त्यस्तो आन्दोलन कुनै समयमा विद्यार्थीले गर्थे । तर, विद्यार्थी भन्न नहुने, जेनजी नै भन्नुपर्छ भनिरहेका छन् ।
उनीहरू ९ः३०–१० बजेतिर माइतीघर मण्डलामा जम्मा हुन्छन्, ११–११ः३० बजेसम्म त आन्दोलन त एउटा थितिमा पुगिसक्छ । विगतमा अनेक आन्दोलन देखेको पुस्ता भएकाले त्यो बुझ्न एकदम गाह्रो भयो ।
महिनौँ दिनसम्म घण्टाघर, रत्नपार्क आन्दोलन गरेपछि मात्रै राजासँग संवादको बाटो खुलेको आन्दोलन देखेका हाम्रो पुस्ता छ । माइतीघर मण्डलामा मानिस जम्मा हुँदैछन् भनेको एक छिनमा त भटाङभुटुङ सबै सिद्धिएछ ।
अनि मैले यो कुरा बुझिनँ ? म अचम्म परेँ । अनि मैले भारतमा ‘सोसियल मुभमेन्ट’मा काम गर्ने एकजना साथीसँग सोधेँ, ‘ये देखो क्या हुवा यार, ये कैसे हुवा ?’
उसले भन्यो, ‘तुम बताओ यार, तुम इतने सालोसे नेपाल मे स्टडी कर रहे हो, सब लोग तुमको पुछते भी है ।’
उसले उल्टो मलाई सोध्यो । अनि कुरा गर्दै जाँदा उसले भन्यो, ‘ये तो रिल्स रिभोलुसन है ।’ मैले ‘रिल्स रिभ्योलुसन’ सुनेको थिइनँ । उसले भन्यो, ‘फेसबुकको तल एउटा सानो रिल हुन्छ, जो सेकेन्डभर चल्छ, संसारमा त्यही चलिरहेको छ, रिल रिभोलुसन ।’
जेनजी आन्दोलनलाई त्यो साथीले मलाई भन्यो कि ‘क्विक रिभोलुसन ।’ यति चाँडो भएको छ ।
जेनजी अभियन्ताहरूसँग कुरा गर्दा म उनीहरूको धैर्यताको परीक्षण गरिरहन्छु । म लामो ऐतिहासिक कुरा गर्छु उनीहरूमा सुन्ने फुर्सद छैन, बुझ्ने धैर्यता पनि छैन । आज एकथोक भन्छन्, भोलि अर्कै कुरा गर्छन् । मलाई अचम्म के लाग्छ भने हाम्रो मन स्वभावतः चञ्चल छ, किनभने हाम्रो हातमा मोबाइल छ । त्यो मोबाइलमा हामीलाई धेरै बेर टिक्न पनि मन लाग्दैन, हामी घरी–घरी त्यो चेन्ज गरिराख्छौँ ।
टाइम–स्पेसको कम्प्रेसन
हामी यस्तो युगमा बाँचिरहेका छौँ कि समाजमा त्यसको ठूलो प्रभाव छ । जहाँ ‘टाइम’ र ‘स्पेस’ अर्थात् धरातलीय दूरी एकदम ‘कम्प्रेसन’ हुँदै एक ठाउँमा आएको छ । म बाह्रखरीसँग कुरा गर्दैछु, यो कुरा हेर्न चाहे भने मेरा साथीहरू वा मेरो बच्चाबच्ची जो अमेरिकामा छन्, तत्क्षण हेर्न सक्छन् ।
हामी चाहिँ यस्तो समयबाट गुज्रेका मानिसहरू कि २०१५ सालको निर्वाचन पूरा गरी सरकार बनिसकेपछि मात्रै जुम्लाले थाहा पाए । यो ‘टाइम’ र ‘स्पेस’को ‘कम्प्रेसन’ बुझ्न जरुरी छ । यो केले ‘कम्प्रेस’ गर्यो भने टेक्नोलोजीले ।
हामी बोल्दा बोल्दै, त्यो परीक्षण नहुँदा नहुँदै सूचना यसरी बाहिर जान्छ । मान्छेले त्यसमा आनन्द लिने, कुरा काट्ने, क्षुब्ध हुने परिस्थितिको सिर्जना हुन्छ । त्यसले गर्दा एक त समाज अधैर्य भयो, राज्य अस्थिर छ ।
राज्य भनेको ‘हिस्टोरिकल्ली’ पनि र ‘थियोरिटिकल्ली’ पनि किन चाहिन्छ भन्दा सुरक्षाका निम्ति चाहिन्छ । ‘प्रेडिक्टेबिलिटी’ का निम्ति राज्य चाहिन्छ ।
‘अब यसपछि के आउँछ ?’ जस्तो म जन्मिँदा नै म यो देशको नागरिक हुन्छु भन्ने जन्मेको दिनै थाहा हुन्छ । म बाँचेका दिनसम्म म नागरिक हुन्छु, मेरो अधिकार यो हुन्छ, राज्यले यसरी हेर्नुपर्छ भन्ने तय हुन्छ । हामीलाई हाम्रो आफ्नो भौतिक सुरक्षादेखि दैनिकी जीवनदेखि सबैखाले सुरक्षाका लागि राज्य चाहिएको हो । म एउटा पोलिटिकल साइन्सको विद्यार्थीको हैसियतले सोसियल कन्ट्रयाक्टहरू किन विकसित भए ? मलाई राज्य किन आवश्यक पर्छ ? राज्यका संयन्त्रहरू मलाई किन आवश्यकता पर्छ ? बुझेकै हुन्छु ।
म यहाँबाट १५ मिनेट हिँडे भने वडा कार्यालय भेटिन्छ । बाटो–घाटोदेखि घरमा कोही जन्मियो, कसैको निधन भयो भने जन्म, मृत्यु दर्ता हुँदै खानेपानीका निम्ति मलाई वडा चाहिन्छ । त्यसमा मेरो अपनत्व होस् भनी मतद्वारा प्रतिनिधि चुन्छु । त्यो एउटा लामो प्रक्रिया हो ।
मेरो प्रतिनिधि को हुने ? मैले परख गर्नुपर्ने हुन्छ । एकचोटि देखेर वा सोसल मिडियामा देखेर, नाम सुनेर मात्रै हुँदैन भन्ने परम्पराबाट हुर्केको एउटा जेनेरेसन छ । चुनाव चिह्न मात्रै देख्ने, उमेदवार नचिन्ने किसिमका निर्वाचन पद्धति वा थिति देखिएको छ । यो पनि ‘टाइम एन्ड स्पेस’ कै ‘कम्प्रेसन’ हो ।
मेरो पुस्ताले त कल्पनै गर्न सक्दैन कि २७–२८ मिनेट बोलेर पनि देशैभरि चुनाव जित्न सकिन्छ र प्रधानमन्त्री भइन्छ भन्ने । त्यो मानिसलाई कसरी बुझ्ने ? देशमा संसदीय व्यवस्था छ, संसद्मा उ देखिन चाहँदैन, बोल्न चाहँदैन ।
अन्यथा, यसलाई ‘क्रिटिसिजम’का रूपमा नलिइयोस्, प्रधानमन्त्री न्युयोर्क प्रस्थान गरेका छन् । म सुन्दैछु, जनरल सेक्रेटरीलाई मात्रै भेटेर फर्कदैछन् । मलाई लाग्छ, उनी त्यहाँबाट फर्केपछि भन्न सक्छन्, ‘त्यो त यहीँबाट जुममा भेटेको भए पनि हुन्थ्यो, यत्रो दुःख गरेर त्यहाँ जानैपर्ने थिएन ।’ संस्थाहरूको आवश्यकता, विचारको विचलनमा त्यस किसिमका अधैर्यता वा अस्थिरता आएको छ, नेपाली समाजमा ।
यसो हेर्यौँ भने थुप्रै सामाजिक मूल्य–मान्यताहरू भत्केको देखिन्छ । अस्ति एकजना साथी जनकपुर घुमेपछि कथा सुनाउँदै थियो, धेरै घटना ‘चेक बाउन्स’का केस रहेछ । चेक भनेको त एउटा सुनिश्चितताको ‘इन्स्टिच्युसन’ हो ।
उनले मलाई के भन्दै थिए भने सबैभन्दा बढी ‘चेक बाउन्स’ हुनेबित्तिकै त आर्थिक लेनदेन र कारोबारमा बैङ्कको भूमिकाप्रति मान्छेलाई सन्देह हुने भयो । तर, मान्छेले बदमासी गरेपछि पक्रिनुपर्यो, थुन्नुपर्यो ।
त्यस्तैगरी पुस्ताको ‘माइग्रेसन’का कारणले विस्थापन प्रक्रिया बढेको छ । त्यसले पनि समाज अस्थिर देखिएको छ । मानिस अमेरिका गएको छ, खाडी–मलेसिया काम गर्न गएको छ । उसले त्यहाँबाट फोन गर्छ र भन्छ, ‘यहाँ त यस्तो छ त्यहाँ त उस्तो छ, यहाँ त छैन त्यहाँ छ ।’
हामी तुरुन्तै लालायित हुन्छौँ कि त्यही कुरा प्राप्त गर्न, जुन हाम्रो परिस्थिति र आर्थिक परिस्थितिले सम्भव छैन । हाम्रो समाजमा परिवार विखण्डनको समयमा पनि छ । हिजो हाम्रो आर्थिक व्यवस्था, जग्गा जमिनको बनोट, घरको बनोट संयुक्त परिवारमा थियो । अब परिवारहरू सानो सानो हुँदै न्युक्लियर हुँदै गएको छ । त्यसमा पनि व्यक्तिगत महत्वकांक्षा, व्यक्तिगत सम्बन्धका कारणले परिवारहरू टुक्रिने, भत्किएका हामी पढिरहेका छौँ, सुनिरहेका छौं ।
धेरै अगाडि नजाऔँ, ३० वर्षयता हेर्दा कस्तो किसिमको परिवार भन्ने कुनै पनि टेक्स्टबुकमा हामीले देखेका छैनौँ । पहिला–पहिला टेक्स्टबुकमा ‘सानो परिवार सुखी परिवार’ भनेको देखेको थिए ।
अब मलाई के लाग्छ भने सानो परिवार दुःखी परिवार पो हो कि ! समाजमा बुढाबुढीको संख्या बढ्दै गएको देखिँदै छ । कुनै जमाना थियो, हामीले टेक्स्टबुकमा एउटा रिबन बाँधेका, काखको एउटा, अरु दुई बच्चा आमाबाबुले समातेको फोटो देखिन्थ्यो । त्यो बेला पनि मेरो घरमा मेरो हजुरआमाले भन्नुहुन्थ्यो, ‘खोइ यसमा त हामी छैनौँ नि ?’
मेरी छोरीहरूले स्कुल पढ्दै गर्दा ‘इन माइ फेमिली’ बाबा–ममी–दिदी भन्थे । त्यो मेरी आमाले सुन्नुहुन्थ्यो । बिट्रिस आर्मीमा बसेको हुँदा मेरी आमाले अलि अलि अंग्रेजी बुझ्नुहुन्थ्यो, भन्नुहुन्थ्यो, ‘खै हामी त छैनौँ ?’
परिवारबारे आजभोलि टेक्स्टबुकमा के पढाइएको छ ? त्यो पनि जरुरी ठानेको पाइँदैन । एक त, सामाजिक शिक्षा धेरै कम भइसक्यो भन्छन् । मैले भन्न खोजेको के हो भने परिवारमा परिवर्तन आएको छ, सामाजिक चरित्रमा परिवर्तन आएको छ, सूचना आदान–प्रदानमा परिवर्तन आएको छ । संस्थाहरू सबै बन्दै छ बन्दै छ भनी हामीले ३०औँ वर्षदेखि भनिरह्यौँ । त्यो बन्नेको अन्त्य कहाँ हो ? हामीले हालसम्म देखेका छैनौँ ।
समाज विभाजन गर्ने तत्व
अब पहिला परम्पराग शैलीमा हेरौं । हरेक समाजको आ–आफ्नै विभाजन रेखाहरू हुँदोरहेछ । जस्तो भारतको विभाजन रेखा हिन्दु–मुस्लिम हो । त्यो बन्दै हिन्दु–मुस्लिम भएर जन्मियो । अमेरिकाको विभाजन रेखा भनेको ‘ह्वाइट’ र ‘ब्ल्याक’ हो, त्यहाँ जतिसुकै लोकतन्त्र आओस् ।
अब यो पनि बडो विवादास्पद जस्तो लाग्छ, तर म भन्नैपर्ने हुन्छ । किनभने नभनीकन कुरा खुल्दैन । हाम्रो पनि नेपालको सन्दर्भमा, सबैभन्दा ठूलो विभाजन रेखा कुनै समयमा हामीले पहाड–तराई भन्ने गर्थ्यौं । गाउँ–सहर भन्ने गर्थ्यौं ।
पहिला नेपाल गाउँमै बस्छ भनिन्थ्यो । अब त नेपाल गाउँमा भन्दा सहरमा बस्ने धेरै भइसक्यो, त्यो परिवर्तन आइसकेको छ । नेपाल अब राजमार्गका किनारमा बस्छ, साना–साना सहरहरूमा बस्छ ।
हामी महेन्द्रनगरबाट झापासम्म हिँड्यौँ भने केही जङ्गलका ‘स्ट्रिप’बाहेक राजमार्गका दुवैतिर बस्तीले जोडिसकेको छ । त्यो पनि एउटा अर्थ–राजनीति के हो भने मान्छे पहाडबाट तल खोँचमा सर्यो । स्कुलहरू त्यतै बन्न थाल्यो ।
मानिसहरू बाहिर रोजगारीमा जान थालेपछि केटाकेटी पढाउनुपर्छ धारणा बढ्यो ।
राजमार्गका किनारा हेर्नुभयो भने धेरैजसो ‘बोर्डिङ स्कुल’ देख्नुहुन्छ, झन्डा टाँगिएका हुन्छन्, केटाकेटी खेलिरहेका हुन्छन् । त्यो ठाउँमा राम्रै किसिमले व्यापार पनि चलेको देखिन्छ । पहिला पनि माथिबाट तल बसोबास सरेको थियो । पहिलाका बसोबास खेतीपाती लागि सुगमता तल सर्दथ्यो । अब सामान्य जीवनयापनका लागि मात्रै सरेको देखिन्छ । यी बसोबास पहुँच र अवसरका निम्ति सरेको देखिन्छ ।
बसाइँसराइ : अपर्चुनिटी, एक्सेसिबिलिटी
हाम्रो समाज जाँदै छ कहाँ ? नेपालको फल्ट लाइन अझै पनि मधेस र पहाड रै’छ । ‘जात’ पनि आफ्नो ‘फल्ट लाइन’ हो । तर, कास्ट धेरै ‘मेडिएट’ देखिन्छ । देवानगञ्जको धार्मिक द्वन्द्वको जुन ‘ट्रेलर’ देख्यौँ, त्यसको पृष्ठभूमिमा त खुला बोर्डर पनि हो । भारतमा उदाउँदै गरेको हिन्दुत्ववादीको अतिवादको राजनीति पनि त छ ।
अब यो समाजको सबैभन्दा ठूलो बदलिँदो चरित्र के हो भने ठूलो ‘आइडियोलोजी’बाट टाढिँदै जानु । हिजो कांग्रेस थियो, कम्युनिस्ट थियो, पञ्च थियो भन्नेमा छैन अब समाज । आइडियोलोजीबाट नेपाली समाज ‘डी–आइडियोलाइज्ड’ हुँदै गएको छ ।
‘आइडियोलोजी’ त हुन्छ, तर पुरानो ‘फल्ट लाइन’ जसरी थियो, जुन अब त्यो लाइनमा छैन । पञ्चायतले ‘अराष्ट्रिय तत्व’ भन्दाभन्दै पनि बाटोमा अनायास देख्ने मान्छेले ‘जय नेपाल’ भन्यो भने त्यो ‘कांग्रेसी’ हुन्थ्यो । अब ‘जय नेपाल’ भन्ने भेट्न गाह्रो भइसक्यो । ‘मित्र लाल सलाम’ भन्ने मान्छे पनि सुन्न गाह्रो भइसक्यो ।
राजनीतिक सिद्धान्तले के गर्थ्यो भने समाजलाई संगठनात्मक संरचनामा राख्थ्यो । त्यो राजनीतिक प्रयोजनका निम्ति प्रयोग गर्ने बाटो थियो ।
यतिखेर समाजको अर्को चरित्र यो कुनै सैद्धान्तिक विचारधाराहरूमा बाँडिएको छैन । त्यसको एउटा कारण के हो भने सहरहरूमा आउनु हो । सहरहरूमा आउने बित्तिकै प्रतिस्पर्धा हुन्छ, त्यहाँ नयाँ किसिमबाट बाँच्ने आधार खोज्नुपर्ने हुन्छ । सहरमा सामूहिकताको कमी हुन्छ ।
तर, नयाँ बसेका सहरहरूमा सामूहिकता देखिन्छ । सरसफाइ विलक्षण छ किनभने एक भेगका मान्छेहरू आएका छन्, हामीलाई ‘पाखे भन्छन्’ कि भावनाले सफा गर्न थाल्छ । त्यो तात्कालिक हुन्छ । तर अलि समयपछि सहरमा मान्छे एकाङ्की हुन्छ । उसलाई समुदायको त्यति आवश्यकता पर्दैन । अब घर बनाउन सकिँदैन, त्यहीकारण पार्टी प्यालेसको जरुरी पर्छ, पार्टी प्यालेसमा समूह जरुरी पर्दैन, पैसा तिरे पुग्छ । सबैले मिलेर पकाएर खानु पर्दैन ।
त्यो भन्ने बित्तिकै समाज एक किसिमले बाँधिनुपर्छ, विचारले बाँधिनुपर्छ, धर्मले बाँधिनुपर्छ, जातले बाँधिनुपर्छ भन्छौँ । तर बाँधिनु त पर्छ नै । त्यसकारण सजिलो गरी अब भेगको कुरा आएको छ । बीचमा गोत्र पनि चल्यो । तर, यतिखेर गोत्र चलिरहेको त्यति देखेको छैन । कुनै बेला वैचारिक सामीप्यले चल्थ्यो भने अब वैचारिक सामीप्यता कमी हुँदै गएको छ ।
वैचारिक सामीप्यताको अभावमा के ले बाँध्छ त ?
वैचारिक सामीप्यता कम हुँदै गएपछि मानिसलाई आवश्यकताले बाँध्छ । त्यो आवश्यकता के हो भने म के पाउँछु भन्ने हो । नेपाली समाजको सबैभन्दा अर्को परिवर्तन देखेको स्वरूप के हो भने हिजो हामीले गरिबी, दुःखलाई अलिअलि ‘रोमान्टिसाइज’ पनि गथ्र्यौँ । अब कसैले त्यसलाई ‘रोमान्टिसाइज’ गर्न चाहँदैन । किन चाहँदैन भने त्यो जपेर के गर्ने भन्ने वर्ग आइसकेको छ । यतिखेर नयाँ राजनीतिक वर्गको ‘डिस्कोर्स’ हेर्यो भने त्यसले गरिबीको कुरै गर्दैन ।
तर, हाम्रो समाजमा गरिबी र असमानता अझै छ । त्यसलाई ‘कस्मेटिक’ शैलीमा छोप्दै अगाडि बढ्दैछ । त्यो पनि बडा अचम्मको ‘प्याराडक्स’ छ किनभने सोसाइटी भनेकै ‘प्याराडक्स’ रहेछ, यो विरोधाभासभित्रै बढ्दो रहेछ । यो विरोधाभासबाटै चल्दो रहेछ, माक्र्सले भनेझैँ द्वन्द्व समाज चल्दो रहेछ । एकोहोरो तरिकाले हेरेर ‘ब्लाक एन्ड ह्वाइट’मा समाजलाई बुझिँदैन रहेछ ।
नेपालमा कुनै समयमा यति धेरै ‘लेफ्ट रोमान्टिसाइजेसन’ थियो । लेफ्ट भनेको कम्युनिस्ट भनेको होइन कि वामपन्थ भनेको हुँ । सार्वजनिक शिक्षा चाहिन्छ, गरिबीलाई यो गर्नुपर्छ ऊ गर्नुपर्छ भन्दै थिए । तर, सबै निजी स्कुलमा पढाउनेतिर गए । सबैलाई राम्रो चाहिने रहेछ, गरिबीको कुरा कसैले गर्दाे रहेनछ ।
त्यसमा ब्रिटिस रिभोलुसनको एउटा भनाइ छ, ‘वि अल वान्ट द पावर अफ द राइट एन्ड द प्रेस्टिज अफ द लेफ्ट ।’ लेफ्ट हुनु जहिले पनि ‘प्रेस्टिजियस’ हो । किनभने गरिबका लागि बोलेको खण्डमा नेतृत्व गर्न पाइने भएपछि । नेपाली सोसाइटीको एउटा ‘प्याराडक्स’ त्यो पनि धेरै वर्षसम्म रह्यो । अब त्यो मलाई लाग्छ, अलिकता कम हुँदै गएको हो कि ?
त्यो देख्दा मलाई चिन्ता लाग्छ, किनभने समाजमा गरिबी, असमानता, जात, छुवाछुत छ । फरक जातसँग विवाह गर्यो भने समाजमा अझै विग्रह छ । तर मानिस यो विषयमा कुरै गर्न चाहँदैनन् । नयाँ वर्गले यसलाई झमेला भनेको छ । नेपालमा गरिबी हुनु झमेला हो । यत्रो वर्षसम्म हटाउन सकेनन् भने यिनैमा किन रुमल्लिने अघि बढौं भन्ने सोच बढेको छ ।
अबको समाज कहाँ जान्छ त ?
अबको समाज प्रविधिमैत्री हुन्छ भनिँदै थियो, प्रविधि छिटो अघि बढाउँछ भनिँदै छ । अस्ति भर्खर एआईमा काम गर्नेहरूले भने, ‘यसले त मान्छे नै मार्छ ।’ यो बहस खुब ‘इन्टरेस्टिङ’ छ ।
हामी त्यो चरण पुग्ने समयसम्म प्रविधि र समयको जुन ‘कम्प्रेसन’ हुन्छ, त्यहाँ कुनै किसिमका नयाँपन आउँछ कि त ?
अब नेपालको समाज अझ विशृङ्खल हुन्छ । नेपालको समाज अझ ‘इन्डिभिज्युअल’ हुन्छ ।
हामीकहाँ अराजकता पहिल्यै थियो । किनभने ‘इन्स्टिच्युसन’ जुन अघि मैले भने नि त्यो कमजोर हुँदै गएको छ । अराजकता नियन्त्रण गर्ने सामाजिक तत्व पनि कम हुँदै छ राजनीतिक सिद्धान्तबाट नियन्त्रित हुने चरित्र पनि कम हुँदै छ । त्यहीकारण त्यसको अर्को ‘प्याराडक्स’ छ, कसैले ‘कन्ट्रोल’को कुरा गर्यो भने हामीलाई कताकता अन्तरकुन्तर मनमा त फेरि डर छ । त्यहीकारण हामी फेरि त्यसलाई मन पराउँछौँ ।
हामीलाई उम्किन पनि मन लागेको छ, कन्ट्रोल हुन पनि मन छ । यो बडो अनौठो छ । यो कहाँबाट देखिन्छ भने हालको नेतृत्वबाट देखिन्छ । यसले अलिकति कन्ट्रोल गर्न खोज्यो भने समाजमा प्रतिक्रिया आउँछ, ‘ठिक गर्यो ।
त्यसरी छाडा भएर हिँड्न पाइन्छ, ३५ वर्ष छाडा भएको होइन र ?’
समाज तानाशाहमोहित हुँदै हो ?
हो, ‘कमान्ड एन्ड कन्ट्रोल सिस्टम’ त उसैको हातमा छ । जसले प्रविधिको संसारमा कमान्ड गर्छ, उसले त्यो पाउँछ त ? त्यसले तिनलाई प्रश्न गर्दैन । यतिखेर ‘टु फेस कन्भर्सेसन एआई’सँग हुन थाल्यो । उसले जुन कमान्ड दियो, त्यही कमान्ड अनुसारको पाउँथ्यो ।
म के सुन्दै थिएँ भने कुनै सचिवकहाँ मन्त्रीले एक युवालाई लगेछन्, भनेछन्, ‘अबदेखि तपाईँलाई उहाँले सहयोग गर्नुहुन्छ ? एउटा डकुमेन्ट बनाउनुछ, यिनैले बनाउँछन् ।’
त्यसपछि सचिवले भनेछन्, ‘त्यो डकुमेन्ट बनाउन अन्तर मन्त्रालय समन्वय गर्नुपर्छ । यो डकुमेन्ट बनाउँदा अरू मन्त्रालयसँग पनि सम्बन्धित हुन्छ, त्यसमा परामर्श गर्दा १०–१२ दिन लाग्छ ।’
मन्त्रीसँग गएका नवयुवाले भनेछन्, ‘कहाँ १०–१२ दिन लाग्छ र ? दुई घण्टामा तयार हुन्छ यो, म बनाउँछु ।’ उसले ‘प्रम्प्ट’कै आधारमा डकुमेन्ट बनाउने सोच्यो ।
ती कर्मचारी मलाई सुनाउँदैथिए, ‘न त्यो नव युवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग देख्यो, न पार्लियामेन्ट्री कमिटी भोगेको छ । हामी कहाँ इन्स्टिच्युसनका यत्रो जम्माल छ । मन्त्रीजीलाई डकुमेन्ट चाहिएको थियो, उसले दियो । तर, डकुमेन्ट पढ्दा अनगिन्ती छिद्र देखिन्थ्यो । तर, उ यति विश्वस्त थियो, किनभने जुन प्रविधिले ‘प्रोड्युस’ गरेको हो ।’
च्याटजिपिटी, क्लाउड अथवा जेमिनाइले डकुमेन्ट तयार गर्ने भनेपछि मानवीय सम्बन्ध, संस्थागत सम्बन्ध कहाँ आउँछ ? जे ‘फिड’ गर्यो या जे कमान्ड गर्यो, त्यही आउने भयो । त्यसो हुँदा हालको पुस्ता एकातिर स्वतन्त्रतासँग मोहित छ भने अर्कातिर ‘कन्ट्रोल’ छ । किनभने ऊ ‘कमान्ड एन्ड कमान्ड’बाटै चलिरहेको छ ।
म कहिलेकाहीँ कफीसपतिर जान्छु । वरिपरि सँगै रहेर पनि एक–अर्काबीच कुरा गरिरहेको देखिँदैन । कानमा लगाएर अन्यत्रकै साथीसँग कुरा गरिरहेको भेटिन्छ । कस्तो समय आएछ भने ‘यु आर विथ देम बट यु आर अलोन ।’
एयरपोर्ट जाँदा मानिसहरू एक–अर्काबीच कुरा गर्ने, किताब पढिरहेको देखिन्थ्यो । अब एयरपोर्टमा कोही किताब पढेको या कसैसँग कुरा गरेको देखिँदैन, सबै मोबाइलमा व्यस्त । अर्थात्, ‘यु आर विथ अल अफ दिज क्राउड्स फेलो ट्राभलर्स बट यु आर अलोन ।’
त्यसले मानिसको मनस्थितिमा के भाव पैदा गर्छ त ? त्यसबारे राम्रो ‘साइकोलोजिकल स्टडी’ पश्चिमा संसारमा त भएको छ । त्यही किताबका आधारमा न्युजिल्यान्ड, अस्ट्रेलिया र अमेरिकामा पनि निश्चित विद्यालयमा मोवाइल चलाउन नदिने ‘पब्लिक पोलिसी’ बनाउनेसम्म पुगेछन् । हामी त यसको ‘अमेजिङ’ चरित्र त भर्खर मात्रै बुझ्दै छौं ।
हामीकहाँ केपी शर्मा ओलीले सामाजिक सन्जाल बन्द गरेर बदमासी नै गरेका हुन् ।
अब सामाजिक सञ्जालका क्रियाकलाप बन्द भयो भने हामी धान्न सक्ने स्थितिमा छौं त ? अर्काे त जे कुरा पनि ‘ग्य्राजुल्ली’ आउँदो रहेछ । ‘एनालग’बाट ‘डिलिटल’मा जसरी तीव्र गति भएकै कारण प्रविधि र ‘कम्प्रेसन’को कुरा गरेको हुँ ।
नेपाली समाजको अर्को विडम्बना भनेको हामीले यो प्रविधि सिर्जना गरेको होइन, हामी उपयोगकर्ता या उपभोगकर्ता मात्रै हौँ । उपभोक्ता शैली चाहिँ नयाँ–नयाँ कुराहरू खोज्दो रहेछ । तर त्यसको ‘इसेन्स’ के हो ? त्यो कसरी बन्छ ? त्यसले के इम्प्याक्ट गर्छ ? त्यसमा कुरै गर्दैन ।
अब राजनीतिक दलहरूको व्यवहार कस्तो हुने ?
अबको राजनीति भनेको समुदाय आधारित हुनुपर्छ । ठूलो क्षेत्र (कन्स्सीचुएन्सी) सम्भव छैन जस्तो लाग्न थालेको छ । किनभने हरेक मान्छेसँग गुनासो मात्रै छ, त्यसले राजनीतिक प्रणाली चल्दैन । न यति धेरै अपेक्षा छ कि त्यो पनि व्यवस्था पनि गर्न नै सकिँदैन ।
मलाई के लाग्छ भने नेपालको जुन संघीय सन्दर्भ र चरित्र छ, त्यसबारे राम्रोसँग बुझेर स्थानीय सरकार नै ‘कन्सोलिडेट’ हुनुपर्छ ।
लोकतन्त्रको आधारभूमि भनेको स्थानीय सरकार हो । अबको नेतृत्वले प्रविधि प्रयोग गरेर राजनीतिलाई अधिक मानवीय गराउनुपर्छ र त्यो पहुँचयोग्य हुनुपर्यो ।
सबभन्दा ठूलो कुरो ‘रिमोट’ र ‘डिस्टेन्स’ भयो भने त्यो प्रविधि पनि त ‘रिमोट’ र ‘डिस्टेन्स’ हुन्छ । तर, त्यसले भोलि दुःख परेको बेलामा सुन्दैन । कतिपय बेला प्रविधिले मात्र काम गर्दैन, मानवीय सेवा–संवेदना पनि चाहिन्छ ।
अब यसमा अलिकता बुद्धि आयो भने केही पुरानो पार्टीले गर्न सक्लान् । नयाँ पार्टी त ‘टेक्नोलोजी’कै ‘हाइ–हाइ’मा छन् । किनभने उसले कन्ट्रोल देखेको छ ।
तर, आजको दिनमा भाष्य त पुराना पार्टीहरूले सबै बिगारे या ध्वस्तै बनाए भन्ने छ । त्यही त ३५ वर्ष यत्रो परिवर्तन भयो ?
त्यत्रो भोटेकोसी प्रलय भयो, हामी कहाँ संस्थाहरू त रहेनछन् त ?
गृहमन्त्री आफैँ सुरुङमा आफैँ हेर्न गएपछि उसले जिम्मेवारी लिन्छ कि लिँदैन ? बरु पुराना मानिसहरू त्यसरी जान डराउँथे । त्यो ठाउँ विज्ञहरूको हो भन्थे । जनताले भोलि के प्रश्न गर्छ भन्थे ।
२०५० सालमा बाढी आउँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दश जना मन्त्री त्यहीँ खटाउनुभएको थियो । तर, मन्त्रीहरू बाढीमा बुट लगाउँदै उभिन त पुगेनन् । त्यो प्रकोपको व्यवस्थापन गर्ने हो ।
यतिखेर कसैले बोलिरहेका छैनन्, यो त बडा विडम्बनाको परिस्थिति हो । कसैले रोक्न सक्ने स्थिति पनि थिएन, त्यसरी बाढी उरालिएर आएपछि । तर, उद्धारका बेला प्रारम्भिक चरणमा सरकारले भन्यो, ‘हामी कसैलाई त्यहाँ जान दिन्नौँ ।’ त्यो त ‘रङ प्रिमाइसेस’ भयो ।
मलाई त्यो साह्रै खटपटी भयो । त्यो ‘हिस्टोरिकल अन्डरस्ट्यान्डिङ’ नहुँदाको परिस्थिति हो ।
पहिला काम गरेको हुनाले परराष्ट्र मन्त्रालयका मानिसहरूसँग कुरा गरे । भूकम्पका बेला सबभन्दा बढी समस्या परेको गोंगबु र गोर्खामा ‘इन्टर्याप’मा परेको मानिस निकाल्ने ‘हेल्पिङ समूह’मा को थिए भन्दा टर्किसहरू थिए । टर्किसहरू किन थिए त ?
मैले परराष्ट्र मन्त्रालयका मानिसहरूसँग भने, ‘टर्किसहरू किन आएका थिए, बुझ्नुस् ।’
किन थिए भने विश्व युद्धपछि जर्मनीको पूरै पुनःनिर्माण ‘टर्किस गेस्ट वर्कर’हरूले गरेका हुन् । उनीहरूसँग प्रविधि र अनुभव धेरै छ । अनुसन्धान नै गर्दा हुन्छ, विश्वभरका ९० प्रतिशतभन्दा बढी अमेरिकी दूतावास तिनै टर्किस ठेकेदारहरूले बनाएका हुन् । त्यो ‘टेक्नोलोजीकल टेम्पेरामेन्ट’ हो ।
नेपालमा पनि तिनै टर्किसहरूले काम गरेका थिए । मैले परराष्ट्रका अधिकारीहरूसँग भने, ‘टर्किसलाई किन आउन नदिनु भएको हो ? बोलाउनुस् । उद्धार निम्ति जहाज चढ्न लागेका कोरियन किन आउन नदिएको हो ? अझ उसैको कम्पनीले निर्माण गरिरहेको जलविद्युत् आयोजना छ । त्यो तीन–चार दिन पछि आयो ।’
त्यो के हो भने दक्षिण कोरिया त २४सै घण्टा बङ्करमा बस्न सकिन्छ भन्ने मानसिकता बोकेको मुलुक हो, उत्तर कोरियाले कतिखेर हान्छ भनेर ।
त्यो विपत्ति र संकटका निम्ति तयार रहे/भएको मुलुक हो । यो ‘हिस्टोरिकल मेमोरी’ त हुनु पर्यो नि ।
अर्को कुरा यतिखेर त्यत्रो गाजाको विध्वंश देखिएकै छ, त्यो ‘डेब्रिस’ कसले सफा गरिरेहेको छ त ? त्यो पनि टर्किसहरूले नै । टर्किसको ठूलो लगानी छ, ‘ह्युमन रिसोर्सेस’मा ।
टर्किसहरू हाम्रो भूकम्पमा आइसकेका हुन् । त्यहीकारण मैले प्रारम्भमै भने नि ‘हिस्टोरिकल सेन्स’ छैन ।
हामीहरू सबैमा त्यो मसान वैराग्य छ, केही भयो भने रुने, त्यहीँ अगाडि जाने, नसके पनि यसो गरेर घाटमा उठाउन जान्छन् । तर पछि केही पनि गर्न सक्दैनन् । त्यहीकारण समाजमा ‘इन्स्टिच्युसनल मेमोरी’ एकदम जरुरी हुन्छ ।
३५ वर्षलाई ‘ब्लेम’ गरिरहँदा यिनीहरूले हामीलाई कहाँ पुर्याए भन्ने पनि त एकदम प्रमुख उदाहरण । यो कसैको विपत्तिमा खुसी हुने ठाउँ त छैन । हाम्रै मानिस परेका छन् ।
अर्काे त यिनीहरूले मानवीयताविपरीत ठूलो ‘ब्लन्डर’ गर्या छन् । पश्चिमा मुलुकमा जहाँ दुर्घटना हुन्छ, पछि आउने गाडीका मानिसले दुर्घटनामा परेका मानिसलाई छाडेर हिँड्न पाउँदैन । यदि छाडेर गयो भने केस लाग्छ ।
उसलाई बचाउन अस्पताल लगिदिनुपर्छ । त्यो नागरिकको ‘रेस्पोन्सिबिलिटी’ पर्छ । उद्धार गर्नु सबैको धर्म हो । त्यहीकारण स्काउटमा पनि त्यो सिकाउँछ, स्कुल कलेजमा त्यो सिकाइन्छ । कोही मान्छे चोरी गरी भाग्दैछ भने कम्युनिटीलाई ‘अलर्ट’ गर्ने, बटम दबाइदिने धर्म हो । त्यत्रो विपत्तिमा उद्धारमा ‘मोबिलाइज’ गर्नु पनि धर्म हो ।
सरकारले जसरी किसिमले रोक्यो, त्यहीकारण भीष्म आङदेवेले संसद्मै भने, ‘यो मृत्यु हो कि हत्या हो ?’
‘यो के हो त ?’ त्यो विपत्तिमा मानिस मर्ने थिए होला, तर उद्धार निम्ति ‘एफर्ट’ खै त ?
त्यो ‘गुडविल’, त्यो ‘रिसोर्सेस’ हाम्रो समाजमा नभएको होइन । नेपालको ‘इन्टरनेसनल गुडविल’ र नाम छ । उनीहरू भन्छन् नै ‘दिज आर गुड मिनिङ पिपल ।’ हो, यहाँ मानिस बदमास छन्, त्यो थाहा छ, हामीलाई । तर बाहिरका मानिसमा अलि ‘रोमान्टिसाइजेसन’ छ के ‘नेप्लिज आर गुड मिनिङ पिपल ।’ नेपालप्रति राम्रो ‘गुडविल’ भएका मानिसहरू संसारभर छन् ।
त्यो विपत्तिमा त्यही दिन हामीले उद्धारमा मिल्न सक्ने अवसर गुमाएकै हौं । त्यो कहाँबाट ‘मिस’ भएको भने त्यो विपद् प्राधिकरण ‘एक्टिभेट’ नै भएन । एउटा त हाम्रो ‘इन्स्टिच्युसन’प्रतिको नकारात्मक धारणा छ । जबसम्म हामीले स्कुल–युनिभर्सिटीमा पढाइ हुन्छ, मिडिया स्वतन्त्र–निष्पक्ष हुन्छ भन्ने विश्वास सिर्जना गर्दैनौं भने कसरी मुलुक चल्छ र ? कहीँ न कही त टिकाउनु पर्यो नि ।
नत्र यो दौडिरहेको तरल समाज हुन्छ, जुन ‘फ्लुइड’ भनिन्छ । यो ‘फ्लुइड सोसाइटी’ कहीँ न कहीँ अडिन त पर्यो । अर्को कुरा गाडी जतिखेर पनि ‘फोर्थ गियर’मा त चल्दैन, ‘यु निड टु ब्याक वान, टु, थ्री’ गर्नुपर्छ । अझ कतिपय बेला न्युट्रल ल्याउनुपर्छ । समाजलाई यस्तै दौडाएर त कहीँ पनि पुर्याउन सकिँदैन ।
वड्सवर्थ भन्छन्, ‘इट्स अ टाइम टु स्ट्यान्ड एन्ड स्टेयर ।’ उकालो चढ्दा पनि एकछिन टक्क ठाउँमा अढेर तल भ्याली हेर्दा रमाइलो हुन्छ । अनि ओरालोमा झर्दा पनि घुँडा दुख्छ, यसो टक्क रोकिएर हेर्दा शरीरले सुकुन पाउँछ ।
यो समाज यति दौडिरहेको छ कि हाम्रो समाज के का लागि दौडिरहेको छ । यो एकदम ‘मेटेरियल’ लागि दौडिरा’छ । यहाँ केही हुँदैन विदेश जाने भन्या छ जतिखेर पनि ।
‘अब हामी कहाँ जाँदै छौँ ?’ एउटा त संस्थाहरूप्रति विश्वास कसरी बढाउनेमा भन्ने हुनुपर्छ ।
हामीले जति सक्यो चाँडो स्थानीय सरकार ‘कन्सोलिडेट’ गर्नुपर्छ । नेपालीहरूको सबभन्दा अर्को चिन्ता के छ भने आफ्नो वरिपरि तल नहेर्ने, हामीसँग माथि–माथि मात्रै हेर्छाैं ।
हुन पनि यो संसद्ले केही पनि गर्दैन । एउटा कानुन पनि राम्रोसँग बनाउँदैन ।
त्यसमा गर्ने काम राजनीतिक दलहरूले नै हो । हो, राजनीतिक दलहरू केही हदसम्म ‘डिस्क्रेडिटेड’ छन्, उनीहरूले आफूप्रति विश्वास बढाउन समुदायमै जानुपर्छ, स्थानीय तहको चुनाव आउँदै छ । दलहरूलाई यो पनि अवसर छ कि हामीले यहाँनेर ‘मिस्टेक’ गर्यौँ हामी ‘आत्मालोचना’ गर्छौँ ।
अरूका हकमा त भन्न सक्दिनँ, नेपाली कांग्रेसलाई त भनी पनि रहेकै छु, ‘बेरुजु भएका जनप्रतिनिधिहरूलाई हामी अब टिकट दिँदैनौँ भन्न त सक्नुपर्छ ।’
त्यसपछि पार्टी नेतृत्वले भन्न सक्नुपर्छ, ‘तपाईँ जनप्रतिनिधि भएर सेवा गर्ने हो कि पार्टी संगठनमा काम गर्ने हो छुट्याउनुस् । सबै जनप्रतिनिधि हुनुपर्छ भन्ने त छैन ।’ जनप्रतिनिधि हुन के–के ‘स्किल सेट’ चाहिन्छ, जस्तो अब वडाध्यक्ष हुन कम्तीमा कम्प्युटरमा ‘क्लिक’ गर्न त जान्नुपर्यो ।
बायोमेट्रिक्समा फोटो हेरेर सही गर्ने जान्नु त पर्यो । वडाध्यक्ष प्रत्यक्ष रूपमा कार्यकारी पदमा जान्छ । नगरपालिकामा चुनाव लड्ने मानिसहरूमा ‘स्किल सेट’ लगानी गर्नुपर्छ भन्नेमा कांग्रेस सभापति धेरै सकारात्मक छन् ।
पार्टी भनेको ‘पोलिटिकल भेइकल’ हो । यसको ऐतिहासिक उद्देश्य के हो ? भविष्यका चुनौती के हो ? प्रविधिको चुनौती भनेको के हो ? संस्थाहरू बन्छ कसरी ?
पार्टी संगठनमा जाने र जनप्रतिनिधि हुन्छु भन्ने मानिसले धेरै कुरा बुझ्नुपर्छ । कतिपयमा विधेयक पढ्न जान्ने मानिससमेत भेटिँदैन । अबको पुस्तामा एकातिर डिमान्ड छ, ‘प्रविधिसँग खेल, पढ, छलफल गर, विधि विधानमा काम गर ।’
अब हिजोको जस्तो जमाना रहेन । हो, लोकतन्त्रमा पढ्न नजान्ने मानिसले पनि ठाउँ पाउनुपर्छ, त्यो आफ्नो ठाउँ छ । तर अत्यधिक मानिस बुझ्ने नै खोज्नपर्यो । मलाई कताकता ‘टेक्नाक्रेटिक सोलुसन टु डेमोक्र्याटिक कोइसन’ जस्तो लाग्छ ।
त्यहीकारण पोलिटिकल सेक्सनले काम गरिरहनुपर्छ कि पार्टी भनेको के हो ? फरेन पोलिसी भनेको के हो ? डेमोक्रेसी भनेको के हो ? स्थानीय सरकार भनेको के हो ? हाम्रो ध्येय के हो ? हामी कहाँ जाने हो ? बहस गराउने एउटा समूह चाहिन्छ ।
त्यसलाई मैले भन्छु त्यो अब महासमितिमा प्रतिस्पर्धा गरोस् या महाधिवेशनमा वा केन्द्रीय कमिटीमै । माथि संसद्मा त पछि जाने हो ? तल दुई ‘सेक्सन’ हुनुपर्छ । पार्टीको संगठन तरिका पनि परिवर्तन गर्नुपर्छ । कांग्रेसका यति धेरै मानिस स्थानीय सरकारमा छन्, तिनको पार्टीले मूल्यांकन गर्नुपर्यो त ? तिनीहरूलाई फेरि उठाउने हो भने त कुनै अर्थ रहँदैन ।
पार्टी नेतृत्वले भन्न सक्नुपर्यो, ‘हामी सङ्कटमा छौँ, तपाईँहरूलाई हामी प्रशस्त भेटिङ गरेर मात्रै त्यहाँ पठाउँछौँ ।’ हुन सक्ला एउटा चुनाव खेर जाला । तर त्यसले पार्टीलाई बेफाइदा गर्दैन ।
बाह्रखरी अनलाईनले लिएको अन्र्तवार्ता साभार गरिएको हो ।





