• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

साइबर अपराधमा चिनियाँ तस्करसंग नेपाली युवाको संलग्नता

  •  
  • २०८१ श्रावण १८, शुक्रबार ०४:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली र चिनियाँ तस्करहरूले नेपाली युवाहरूलाई आफ्नो पासोमा पारेर दक्षिण पूर्वी एसियाली देशहरूमा बन्धक बनाई अनलाइन र आर्थिक ठगीमा संलग्न गराइरहेका छन् । तस्करहरूले सबैभन्दा पहिला नेपाली युवाहरूलाई आइटी सम्बन्धी आकर्षक रोजगारीको प्रलोभन देखाउँछन् । त्यसपछि दक्षिण पूर्वी एसियाली देशहरूमा पुराएर  उनीहरूलाई यातना दिँदै साइबर ठगी, आर्थिक घोटाला र साइबर यौन गतिविधिहरूमा स‌ंलग्न गराउन बाध्य पारिने गरेको खुल्न आएको छ ।  उक्त कार्य गर्न अस्वीकार गरेको खण्डमा तिनीहरूलाई चिनियाँ गिरोहहरूले दास र बन्धक बनाउने गरेका छन् ।

    हाल कम्बोडिया, म्यानमार र लाओसमा सयौँ नेपाली युवाहरू चिनियाँ कम्पनीमा दासको रूपमा विभिन्न अनलाइन अपराधको काममा सक्रिय रहेको समाचार बाहिर आएको छ । तीमध्ये २० वर्ष नाघेका दुई युवाको अवस्था भने  अहिलेसम्म पनि अज्ञात रहेको छ ।

    राजु तामाङ

    आफ्नो परिवारलाई हातमुख जोड्न पनि सङ्घर्ष गरेको देखेका धादिङका राजु तामाङले सधैँ समृद्ध जीवन बिताउने सपना देखेका थिए। जागिरको लागि भौँतारि रहेका तामाङले एक स्थानीय एजेन्टलाई भेटे जसले उनलाई विदेशमा आइटी क्षेत्रमा आकर्षक काम दिने प्रलोभन देखायो । अफर पाएपछि तामाङ उत्साहित भए र अन्य केही सोचेनन् । उनी एजेन्टद्वारा मिलाइएको भिजिट भिसामा थाइल्यान्ड पुगे र त्यसपछि त्यहाँबाट म्यानमार पुगे । केही महिना उनी आफ्नो परिवारका सदस्यहरूसँग सम्पर्कमा रहे। तर  सन् २०२३ मे ६ देखि तामाङ बेपत्ता छन् ।

    पूरन बहादुर गुरुङ

    तामाङजस्तै नुवाकोटका पूरन बहादुर गुरुङ पनि निम्न मध्यम वर्गीय परिवारमा जन्मे हुर्केका हुन् । स्थानीय एजेन्टहरूद्वारा आकर्षक आइटी जागिरको लागि विश्वस्त भएर गुरुङ एजेन्टहरूकै सहयोगमा सन् २०१९ फेब्रुअरी १५ मा थाइल्यान्ड पुगे। पुगेको दुई दिनपछि उनको अवस्थाबारे केही थाहा हुन सकेन ।

    नेपाल प्रहरीले सन् २०२४ जुन १६ मा उनीहरूको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत पहेँलो सूचना जारी गरेको थियो । यद्यपि  उनीहरूको अवस्थाबारे प्रहरीले अहिलेसम्म कुनै जानकारी पाउन सकेको छैन ।

    नेपाली र चिनियाँ तस्करहरूले आइटी क्षेत्रमा काम गर्न चाहने शिक्षित तर बेरोजगार नेपाली युवाहरूलाई लक्षित गरी उनीहरूलाई सिकार बनाउँछन् ।  यी तस्करहरूले युवाहरूलाई छलकपटमा पारी दक्षिण पूर्वी एसियाली देशहरूमा ल्याएर जबरजस्ती फिरौती, यातना, दुर्व्यवहार र बन्धक बनाइ अवैध साइबर गतिविधिमा संलग्न हुन बाध्य पार्ने कुरा त्यहाँबाट भाग्न सफल भएका पीडितले बताए ।

    चिनियाँ साइबर तस्करहरूले नेपाली युवाहरूलाई ओसारपसार गर्न दुई वटा मार्ग प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । पहिलो नेपालबाट थाइल्यान्ड हुँदै म्यानमार, कम्बोडिया, लाओस् जस्ता देशहरूमा । र अर्को, नेपालबाट भारत हुँदै म्यानमार, कम्बोडिया, लाओस् जस्ता देशहरू।

    चीनमा नेपाली युवतीको तस्करी, विवाह र बिलासी जीवनको आसमा नर्कको बास भन्ने कथा प्रकाशित भएपछि नेपाली-चिनियाँ तस्करहरूको सिकार भएर दक्षिण पूर्वी एसियाली देशहरूमा पुगेका केही पीडितहरूको डरलाग्दो कथाहरू बाहिर आएका छन् ।

    प्रसन्ना

    प्रसन्ना आफ्नो जीवन पूरा गर्न सुँगुर पाल्दै नेपालको पूर्वी भाग मोरङमा आफ्ना तीन छोरीहरूसँग सादा जीवन बिताइरहेकी थिइन् । आर्थिक चुनौतीको बाबजुद उनले आफ्ना छोरीहरूसँग  गाउँमा आनन्दको जीवन बिताइरहेकी थिइन् ।

    एक दिन प्रसन्नलाई किशन राई नामका व्यक्तिबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । राईसँग छिट्टै उनको परिचय भयो । यही परिचयले उनको जीवनमा नाटकीय मोड लिँदै छ भनेर उनलाई थाहासमेत थिएन।

    अनलाइनमा भेटेको राईले सुँगुर फार्म भन्दा धेरै राम्रो जीवनको तिमी बिताउन सक्छौ भन्दै प्रसन्नालाई लोभ्यायो । कुराकानीमा  राईले सधैँ कम्बोडियाको कुरा गर्थ्यो । प्रसन्ना भन्छिन् –“मलाई महिनामा तीन लाख रुपैयाँ कमाउन सकिन्छ भनिएको थियो । त्यही कुराले आफूलाई उज्यालो भविष्यको आशा पलायो”।

    कम्बोडिया पुगेपछि एक लाख कमाउने आश्वासन दिएका राईले सुरुमा भिसा शुल्क सहित यात्रा खर्च चार लाख पचास हजार लाग्ने कुरा प्रसन्नालाई बतायो । कम्बोडिया आएपछि राईले आफ्नै मानिसहरूले प्रसन्नाको हेरचाह गर्ने ग्यारेन्टी रहेको कुरा पनि बतायो। साथै राईले वाचा अनुसार जागिर नपाए वा कुनै अप्ठ्यारोले घर फर्किनु परेमा उनले सबै पैसा ब्याजसहित फिर्ता गर्ने दाबी गर्‍यो ।

    सन् २०१९ डिसेम्बरमा राईले प्रसन्नालाई फोन गरेर भिसा प्रक्रिया सुरु गर्न राहदानी र फोटो लिएर काठमाडौँ आउन आग्रह गर्‍यो। विश्वास गर्दै उनी काठमाडौँ पुगिन् र गोङ्गबु बसपार्क नजिकै राईले मिलाएको होटेलमा बसिन् । भोलिपल्ट राईले उनको राहदानी, फोटो र २ लाख ५० हजार नगद लिएर गयो । मोरङ फर्केपछि राईले मागेको थप २ लाख रुपैयाँ प्रसन्नाले इटहरीस्थित न्यू आइएमई मनी ट्रान्सफरमार्फत पठाइन् ।

    एक हप्ता पछि किसन राईले प्रसन्नालाई उनको कागजात र उडान टिकट तयार भएको जानकारी दिए। उनलाई काठमाडौँ फिर्ता बोलाएर चप्पल कारखानाको अर्को होटेलमा राखियो । पर्याप्त कागजात नभएका कारण उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट दुई पटक फिर्ता गरिएको थियो । अविचलित किसन राई र उनको समूहले उनलाई भारतको मणिपुर सिमाना हुँदै म्यानमार र त्यसपछि थाइल्यान्डबाट कम्बोडियाको राजधानी नोम पेन्ह पुराए।

    सुरुमा प्रसन्नलाई पसलमा काम गर्ने, खाना पकाउने र १४ जनालाई खाना खुवाउने काममा लगाइएको थियो । आफूलाई वाचा गरेको काम होइन भन्ने महसुस गर्दै उनले विरोध गरिन् । उनलाई कम्बोडियामा उनले भेटेका केदार राईले यो भन्दा राम्रो कामको पर्खाइमा रहेको आश्वासन दिए ।  उनलाई सहरको अर्को भागमा लगियो चार चिनियाँ पुरुष भएको घरमा काम गर्न बाध्य पारियो। त्यहाँ उनको दुखका दिन सुरु भयो । उनी घरको सबै काम गर्न बाध्य भइन् । उनी चिनिया पुरुषहरूको यौन शोषणको सिकार भइन् ।बन्धक बनेकी प्रसन्नाको घर फर्किने आग्रहलाई बेवास्ता गरियो। आँखाभरि आँसु पार्दै प्रसन्ना भन्छिन्  – “यदि मैले उनीहरूसँग यौन सम्पर्क गर्न अस्वीकार गरेँ भने उनीहरूले मलाई जबरजस्ती गर्थे” ।

    पन्ध्र दिनको मानसिक, शारीरिक र यौन दुर्व्यवहार पछि प्रसन्नाले भाग्ने मौका पाइन् । कुनै संयोगले प्रसन्ना एनआरएन कम्बोडियाको सम्पर्कमा आउन सफल भइन् र सन् २०२० अक्टोबर २० मा नेपाल फर्किन सफल भइन् ।

    अस्लेषा

    सन् २०२१ फेब्रुअरीमा आफ्ना साथीहरूसँग वैदेशिक रोजगारीका अवसरहरू बारे परामर्श गरिरहेकी अश्लेषाको भेट एक एजेन्टसँग भयो । एजेन्टले आफूले सयौँ युवाहरूलाई कम्बोडिया पठाइसकेको दाबी गर्‍यो।

    एजेन्टले उनलाई कम्बोडियामा कम्प्युटर अपरेटरको खोजीमा रहेको भारतीय कम्पनीसँगको अवसरको बारेमा जानकारी गरायो। यो अवसरको लागि अश्लेषाले कुल ३ लाख ८० हजार तिर्नुपर्ने बताइयो । एजेन्टले अश्लेषालाई कम्बोडियामा काम गरेर मासिक ९०० देखि १००० अमेरिकी डलर कमाउने सक्ने कुरा भन्यो ।

    एजेन्टले भनेझैँ अश्लेषाले तीन किस्तामा जम्मा ३ लाख ८० हजार रुपैयाँ  तिरिन् । कम्बोडियामा राम्रो करियरको लागि उत्सुक अश्लेषाले मार्चमा आफ्नो राहदानी र फोटोहरू एजेन्टलाई दिइन् ।

    सन् २०२२ अप्रिल ९ मा एजेन्टले अश्लेषालाई राहदानी, युएईको भिजिट भिसा, हवाई टिकट, होटेल बुकिङ र अन्य कागजातहरू तयार भएको जानकारी गरायो । अर्को दिन अप्रिल १० मा अस्लेशा शारजाह एयरपोर्ट आइपुगिन् । त्यहाँ उनको भेट राम नामका नेपाली नागरिकसँग भयो र रामले उनलाई आफ्नो बास स्थानमा लिएर गयो। सिंगापुर हुँदै कम्बोडिया जानुअघि उनी चार दिन रामसँगै बसेकी थिइन् ।

    अस्लेशा कम्बोडियाको  नोम पेन्ह एयरपोर्टमा अवतरण गरेपछि उनलाई मिथु अहमद नामका बङ्गलादेशी नागरिकले भेटे। मिथुले अश्लेषालाई अज्ञात व्यक्तिको हातमा सुम्पियो । त्यसपछि उनलाई सात-आठ घण्टाको बस यात्रा पछि कम्बोडियाको सहर सिहानोकभिलमा लगियो।

    सिहानोकभिलमा अश्लेषालाई चिनियाँ कम्पनीमा लगियो, जहाँ एक चिनियाँ नागरिकले उनको अन्तर्वार्ता लियो। उनले अन्तर्वार्ता पास गरेपछि उनलाई संयुक्त राज्य अमेरिका, क्यानडा र युरोपका पुरुषहरूसँग कुराकानी गर्नु पर्ने जानकारी दिइयो। अश्लेषाले भनिन् -“मलाई फेसबुक, इन्स्टाग्राम, डेटिङ एप्स, टेलिग्राम र हेलो वर्ल्डमा पुरुषहरूलाई टेक्स्ट गर्न भने। उनीहरूले मलाई उनीहरूसँग अश्लील कथाहरू सुनाउन निर्देशन दिए”।अस्लेषालाई विदेशी पुरुषहरूलाई यसको वशमा पारेपछि उनीहरूलाई क्रिप्टोकरेन्सी, विदेशी मुद्रा व्यापार र अन्य इन्टरनेट क्षेत्रमा लगानी गर्न प्रलोभन दिन लगाउँथे।

    जब अश्लेषाले कुरा गरेका पुरुषहरूले भने अनुसार पैसा पठाउनासाथ उनले सबै सामाजिक सञ्जाल र प्लेटफर्महरूमा उनीहरूलाई ब्लक गर्नुपर्थ्यो। चार महिनासम्म यसरी नै चल्यो । तर जब जब उनले प्रतिरोध गरिन् चिनियाँ पुरुषहरूले उनलाई शारीरिक र मानसिक यातना दिए । त्यसपछि मात्र अश्लेषालाई नेपाली एजेन्टले चिनियाँ गिरोहलाई ३ हजार ५५० अमेरिकी डलरमा  आफूलाई बेचेको थाहा पाइन् ।

    केही उपाय गरी अस्लेशा थाइल्यान्डस्थित नेपाली दूतावाससँग सम्पर्कमा आउन सफल भइन् र सन् २०२० सेप्टेम्बर २२ मा उनलाई सफलतापूर्वक उद्धार गरी नेपाल ल्याइयो।

    प्रसन्ना र अस्लेशा दुवैले मानव बेचबिखनमा संलग्न नेपाल एजेन्टविरुद्ध मुद्दा दायर गरिसकेका छन् ।

    नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा मात्रै मानव बेचबिखन नियन्त्रण ब्युरो मा यस्ता आठ वटा उजुरी परेका छन् । कम्तीमा ५३ जना नेपाली र चिनियाँ तस्करहरू (४१ पुरुष र १२ महिला) अझै फरार छन् ।

    मानव बेचिखन नियन्त्रण ब्युरोका प्रवक्ता एसपी गौतम मिश्र भन्छन् – “नेपाली युवाहरूलाई प्रलोभनमा पारेर कम्बोडिया, म्यानमार र लाओसमा मानव तस्करी गर्ने गरेको विषय जानकारीमा आएको छ । चिनियाँहरूले नेपाली युवा युवतीहरूलाई बन्धक बनाएर गैर कानुनी गतिविधिमा संलग्न गराउँछन्”।

    लागत गुम्ने  र तस्करको  धम्कीको डरले धेरै पीडितहरूले अझै पनि घटनाबारे जानकारी गराउने आँट गरेका छैनन् । यस्ता धेरै घटनाहरू अझै पनि गुपचुप  रहेको प्रहरीको अनुमान छ । सामान्यतया चरम यातना र अमानवीय व्यवहार भोग्ने पीडितहरू मात्र प्रहरीमा आउने  प्रवक्ता मिश्र भन्दछन् ।

    प्राय हाम्रो अनुसन्धान सतहमा देखिने कुरामा मात्रै केन्द्रित हुने प्रवृत्ति रहेको नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारीले बत्ताउँछन् । यस विषयमा एआइजी भण्डारी भन्दछन् – “दर्ता गरिएका केसहरूलाई यी मानव तस्करीको सञ्जालहरू कसरी सञ्चालन भइरहेका छन् भनी विश्लेषण गर्न यसलाई एउटा नमुनाको रूपमा लिनुपर्छ। कुनै पनि प्रकारको सङ्गठित अपराधमा जस्तै वास्तविक स्थिति झनै खराब र जटिल हुन सक्छ”।

    एआइजी भण्डारी  थप्छन् – “अन्तर्राष्ट्रिय र सङ्गठित प्रकारका अपराध नियन्त्रण गर्न राज्यले सक्रिय कदम चाल्नुपर्छ  । साइबर दासत्व नेटवर्कहरूले स्पष्ट रूपमा अपराधका तीन प्रमुख बिन्दुहरू देखाउँछन्: उत्पत्ति बिन्दु, ट्रान्जिट बिन्दु र गन्तव्य बिन्दु”। एआइजी भण्डारीका अनुसार एक देशको भूमि प्रयोग गरेर अपराध योजना बनाउने र तस्करी गरी लैजाँदा अर्को  देशको भूमि प्रयोग गर्नाले अपराधलाई अझ जटिल बनाउँछ।

    पछिल्लो समय यस्ता सङ्गठित अपराधमा चिनियाँ नागरिकको संलग्नता नेपालको लागि चिन्ताको विषय बनेको छ । एआइजी भण्डारी यस्तो अवस्थामा नेपालले सम्भावित अपराध नियन्त्रण गर्न र विद्यमान  तस्करीका सञ्जालहरूलाई तोड्न आफ्नो निगरानी संयन्त्रलाई सक्षम र सबल बनाउनुपर्ने कुरामा जोड दिन्छन् ।

    एआइजी भण्डारी नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध न्यूनीकरणका लागि आफ्नो कार्यक्षमता बढाउनुपर्ने बताउँछन् । उनका अनुसार यस्ता अपराध योजना र डिजाइन हुने देशमा प्रहरी सम्पर्क टोली परिचालन गर्नुपर्छ । साथै उनी नयाँ नयाँ उदीयमान प्रवृत्तिबाट भइरहेको साइबर दासत्व र मानव बेचबिखनका घटनाहरूको विरुद्ध अन्य सरोकारवालाहरूसँग मिलेर जनतामाझ बृहत् सामाजिक चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राख्दछन् ।

    सीमा वारपार साइबर अपराधमा चिनियाँ नागरिकहरूको संलग्नता नेपालको राष्ट्रिय सुरक्षाको लागि बढ्दो चिन्ताको विषय बनेको छ ।

    सन् २०१९ डिसेम्बर २३ मा सामाजिक सञ्जाल र अन्य अनलाइन प्लेटफर्महरू प्रयोग गरी नेपालबाट जबरजस्ती गिरोह चलाएको शङ्कामा कम्तीमा एक सय बाइस चिनियाँ नागरिकहरू  पक्राउ परेका थिए  ।  नेपाल प्रहरीले उक्त समूहलाई आर्थिक रूपमा सबल व्यक्तिबाट जबरजस्ती पैसाको ठगी गर्ने, अवैध रूपमा अनलाइनमा जुवा खेलाउने, अवैध हुन्डी कारोबार योजना सञ्चालन गर्ने लगायतका गतिविधिमा संलग्न रहेको आशङ्का गिरफ्तार गरेको थियो । सरकारले  सन् २०२० जनवरी ८ मा एक सय बाइस चिनियाँ नागरिकलाई देश निकाला गरेको थियो।

    नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी नेपालमा पक्राउ गरिएका हुनाले पक्राउ परेकाहरुलाई नेपाली कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने बताउँछन् ।  पूर्व नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी भन्दछन् – “पर्याप्त अनुसन्धान बिना नै पक्राउ परेका सबै चिनियाँ नागरिकहरूलाई देश निकाला गर्ने निर्णयले नेपाल सरकारको मौन बस्ने वा चीनसँगको सम्बन्धलाई हानी नपुराउने अडानको सङ्केत गर्दछ।”

    नेपाल सरकारले सन् २०२४ को मार्चमा सूचना प्रविधिसम्बन्धी जागिरको आश्वासनमा म्यानमारमा बेचबिखन भएका १३ नेपालीको उद्धार गरेको थियो ।

    (पीडितहरूको  नामहरू परिवर्तन गरिएको छ।)

    (डेमोक्रेसि मिडिया नेटवर्कमा प्रकाशित लेखबाट ) श्रोत: आइएनएस-स्वतन्त्र समाचार

    Post Views: 89
    प्रकाशित मिति: २०८१ श्रावण १८, शुक्रबार ०४:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    • ५. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.