• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

चरम राजनीतिक चपेटा र महंगीको मारमा प्रहरी, पाँच वर्षमा ५ हजार प्रहरीले जागिर छाडे !

  •  
  • २०८१ पुष १४, आईतवार ०८:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    कुनै बेला सान र मानको जागिर थियोे नेपाल प्रहरीको जागिर । बर्दीमै शक्ति, नियमित तलब अनि अवकासपछिको पेन्सनका कारण प्रायः युवाहरुको रोजाइमा पथ्र्यो पुलिसको जागिर । तर, अहिले अवस्था फेरिएको छ । हुँदाखाँदाको जागिर चटक्कै छाडेर भाग्ने क्रम बढ्न थालेको छ । माथिल्ला पदमा हुनेलाई राजनीतिको मार अनि तल्ला पदमा हुनेलाई महँगीको भार । पछिल्लो समय मुख्यगरी यिनै दुई कारणले प्रहरीको जागिरप्रति आकर्षण घट्न थालेको छ ।

    नागरिकको जीउ धनको रक्षा गर्ने पहिलो सुरक्षा अंग हो प्रहरी । देशमा शान्ति सुरक्षा कायम गर्नेदेखि अपराधको अनुसन्धान गर्ने निकाय पनि प्रहरी नै हो । यस्तो लाग्छ कि, प्रहरीको उपस्थितिले मात्रै राज्यको उपस्थिति दर्शाउँछ । आम नागरिकलाई सुरक्षित महसुस गराउँछ । कुनै समय थियो, प्रहरी देख्नासाथ मानिस डराउँथे । प्रहरीमा जागिर खान पढेलेखेकादेखि थोरै पढेकाहरुसम्म लालायित हुन्थे । यसको कारण हो– प्रहरीसँग भएको पावर अनि मान । तर, प्रहरीमा विगतमा देखिने आकर्षण अचेल घट्दो छ । कतिपय युवा प्रहरीमा जानै चाहँदैनन् । प्रहरीमा भर्ती भएकाले पनि बिचमै जागिर छाड्ने ट्रेन्ड बढेको छ । यस्तो अवस्था किन आयो ? कुनै समय माओवादीको सशस्त्र संघर्षले तर्साएको प्रहरीलाई अहिले राजनीतिक हस्तक्षेपले थिलथिलो पारेको छ । प्रहरीमा राजनीतिक हस्तक्षेप कसरी थोपरिएको छ ।

    अहिले प्रहरीमा कर्मचारी भर्ती गर्ने मौसम छ । गएको मंसिरदेखि आउँदो माघसम्ममा प्रहरीले कार्यालय सहयोगीदेखि –प्रहरी निरीक्षक इन्स्पेक्टरसम्म ३ हजार ३ सय ९९ जना भर्ती गर्दैछ । त्यसअघि यही आर्थिक वर्षमा मात्रै प्राविधिक र जनपदतर्फ गरी ४ सय ३३ जना प्रहरी नायब निरीक्षक सई र प्रहरी सहायक निरीक्षक असई भर्ती गरिसकेको छ । पुलिसलाई यसरी किन भर्तीको चटारो पर्यो त ? यसको खास कारण छ । नेपाल प्रहरीमा अहिले ७९ हजार ५ सय ४१ स्वीकृत दरबन्दी छ र योमध्ये करिव ७ हजार दरबन्दी रिक्त छ । नियमित अवकासमा जानेहरु त छँदैछन्, बीचमै जागिर छाड्नेहरुका कारण प्रहरी अहिले दबाब छ । अहिले प्रहरीमा १५ दर्जा छन् तर, प्रहरीको जागिरमा इन्ट्री गेट जम्मा चार वटा छन् । कार्यालय सहयोगी, प्रहरी जवान, प्रहरी सहायक निरीक्षक, असघ र प्रहरी निरीक्षक इन्स्पेक्टर । अहिले प्रहरीले यी चारवटै पदमा धमाधम भर्ती लिइरहेको छ । प्रहरी निरीक्षक अर्थात् इन्स्पेक्टरभन्दा माथिका सबै पदमा आन्तरिक बढुवाबाट पदपूर्ति गरिन्छ । गएको साउनदेखि कात्तिकसम्ममा मात्रै ५ सय ९ जना प्रहरीले बीचमै जागिर छाडे । यो राजीनामा दिनेहरुको मात्रै संख्या हो । राजीनामासमेत नदिई जागिरमा गयल हुने प्रहरीसमेत छन् । केही प्रहरी कारबाहीमा परेका छन् र जागिरबाट निकालिएका पनि छन् । प्रहरीले बीचमै किन जागिर छाड्छन् अनि कहाँ जान्छन् ? केहीबेरमा भन्छु । गएको पाँच वर्षमा मात्रै करिव ५ हजार प्रहरीले जागिर छाडेका छन् । यसरी जागिर छाड्नेहरु सबैभन्दा बढी तल्लो दर्जाका छन् । माथिल्लो दर्जाका पनि छन् । माथिल्लो दर्जाका प्रहरी अधिकारीमध्ये धेरैजसो आफूले भनेजस्तो बढुवा नपाएर जागिर छाडेका छन् भने तल्लो दर्जाका प्रहरीले घर चलाउनै नसकेर तथा अझ राम्रो आम्दानी हुने ठाउँ देखेर जागिर छाड्नेहरु छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा मात्रै ७९२ जनाले राजीनामा दिए । तीमध्ये प्रहरी निरीक्षकभन्दा माथिका जम्मा १२ जना थिए भने बाँकी सबै त्योभन्दा तल्लो दर्जाका । जबकि त्यही समयमा जम्मा ५ सय ४४ जनाले अनिवार्य अवकास पाएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ६३३ जना र त्यसअघि २०७८–०७९ मा ४९९ जनाले राजीनामा दिएका थिए । प्रहरीमा सेवा अवधि ३० वर्ष र उमेर हद ५८ वर्ष तोकिएको छ । तर, पेन्सन भने १८ वर्षदेखि नै लिन पाइन्छ । एकातिर पेन्सन पाइने, अर्कोतिर नयाँ काम गरेर थप कमाइ गर्न सकिने भएकाले पनि पेन्सन अवधि पुगेका अधिकांश तल्लो दर्जाका सुरक्षाकर्मीले राजीनामा दिइहाल्छन् । नेपाल प्रहरीमा जस्तो छ, सशस्त्र प्रहरी र नेपाल आर्मीमा पनि अवस्था उस्तै छ । नेपालमा रोजगारीको अभाव छ । रोजगारीकै खोजीमा दैनिक ३ हजारको हाराहारीमा नेपाली युवा विदेशिन्छन् । यसरी जागिर छाड्दा नयाँले अवसर पाउँछन् । तर, हेक्का राख्नुपर्ने कुरा चाहिँ के हो भने एकजना दक्ष प्रहरी अधिकृत तयार पार्न राज्यको कम्तीमा १४–१५ लाख रुपैयाँ खर्च हुन्छ, पढाइ, तालिम र सीप विकासमा । त्यसरी खर्च गरेर तयार पारिएका अधिकृत तथा सुरक्षाकर्मीले बीचमै जागिर छाड्दा राज्यकोषमा समेत असर पर्ने सुरक्षाविज्ञहरुले भन्ने गरेका छन् ।

    प्रहरीले जागिर छाड्ने मुख्य कारण

    अब प्रश्न उठ्न प्रहरीका सिपाहीदेखि ठूला अधिकारीसम्मले किन यसरी जागिर छाड्छन् त ? यसका केही कारण छन् । दर्जा अनुसार कारण पनि फरक छन् । जति–जति माथिल्लो दर्जाका अधिकारी हुन्छन्, उनीहरुले जागिर छाड्नुमा व्यक्तिगत स्वार्थ र राजनीतिक हस्तक्षेप मुख्य कारण हुन् । केही अधिकृतहरु त आफ्नै गलत धन्दाका कारण पनि राजीनामा दिन बाध्य हुन्छन् । जस्तो कि, डेढ वर्षअघि डीआईजी अशोक सिंहले राजीनामा दिए । आईजीपीकै दाबेदारका रुपमा हेरिएका सिंहले जन्ममिति विवाद सार्वजनिक भएपछि राजीनामा दिएका थिए । रमेश खरेल र नवराज सिलवाल लगायत प्रहरी अधिकृतहरुले पनि राजीनामा दिए । उनीहरुले राजीनामा दिनुको कारण थियो, आईजीपी बन्न नपाउनु । यो ठूला अधिकृतहरुको कुरा भयो । अब तल्लो दर्जाका प्रहरीहरुले राजीनामा दिनुको कारण खोजौं । तल्लो दर्जाका अधिकृत तथा सिपाहीले राजीनामा दिनुको पहिलो कारण हो, तलब नै कम हुनु । महँगीको तुलनामा तलब नबढेको र तलबले जीवन धान्नै गाह्रो हुने गरेको उनीहरुको बुझाइ छ । ‘काम बढी पैसा कम’ अधिकांश प्रहरीको मुखबाट यही निस्किन्छ । त्यसैले उनीहरु उमेर छँदै वैदेशिक रोजगारीमा जान खोज्छन् वा देशमै अन्य क्षेत्रमा काम गर्न खोज्छन् । प्रहरीमा बस्दाभन्दा बाहिर निस्किँदा अवसर देख्नेहरुले जागिर छाडिहाल्छन् । प्रहरीको जागिरमा आकर्षण कम हुनुको अर्को एउटा कारण हो, यूएन मिसनमा जान नपाउनु । पछिल्ला केही वर्षयता यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता उपस्थितिमा मात्रै सीमित छ । नेपाल प्रहरी सन् १९९२ देखि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुँदै आएको छ । तर अहिले यूएन मिसनमा नेपाल प्रहरीबाट जम्मा २५ जना मात्रै सहभागी छन् । नेपाल प्रहरीले सिट नै थोरै पाउँदा थोरै अधिकृतले मात्रै अवसर पाउने गरेका छन् । जसले मौका पाए त्यो पनि ठुलाका नजिक भएर मात्रै त्यस्तो मौका पाउँछन अन्यथा संभव छैन ।

    कति छ प्रहरीको तलब ?

    तल्लो तहका प्रहरीले जागिर छाड्नुको मुख्य कारण तलब थोरै हुनु नै हो । घरपरिवार भन्दा टाढा बस्नुपर्ने र पाउने तलबले आफ्नो र घर खर्च चलाउन पनि धौधौ हुने अधिकांशको गुनासो छ । प्रहरीमा मुख्यगरी पन्ध्र दर्जा छ र दर्जाअनुसार तलब स्केल पनि फरक छ । पछिल्लो तलब स्केल अनुसार प्रहरी महानिरीक्षक–आईजीपी र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको तलब ७६ हजार ८ सय ८८ रुपैयाँ छ । आईजीपी र एआईजीको तलब समान भए पनि आईजीपीले निवास, अतिथि सत्कार, सन्चार लगायत विषयमा अतिरिक्त सुविधा पाउँछन् । प्रहरी नायव महानिरीक्षक– डीआईजीको तलब ६७ हजार ४६, प्रहरी वरिष्ठ उपरीक्षक–एसएसपीको ६४ हजार ३ सय ५९, प्रहरी उपरीक्षक–एसपीको ६० हजार ९ नौसय ९४, प्रहरी नायब उपरीक्षक– डीएसपीको ५६ हजार ८ सय ६२ र प्रहरी निरीक्षक– इन्स्पेक्टरको तलब ५५ हजार ३ सय ३७ रुपैयाँ छ । यसैगरी प्रहरी वरिष्ठ नायब निरीक्षक– सिनियर सईको ४३ हजार ७ सय ३२ रुपैयाँ, प्रहरी नायब निरीक्षक–सईको ४३ हजार ९ सय ९४ र प्रहरी सहायक निरीक्षक असईको तलब ४० हजार ५ सय २१ रुपैयाँ छ । प्रहरीमा इन्स्पेक्टरभन्दा माथिकालाई सिनियर अफिसर र वरिष्ठ सई, सई र असईलाई जुनियर अफिसर भन्ने गरिन्छ । अनि प्रहरी वरिष्ठ हवल्दारले ३४ हजार २ सय २६, प्रहरी हवल्दारले ३३ हजार ६ सय ३४, सहायक हवल्दारले ३३ हजार ६ सय ३४, प्रहरी जवानले ३३ हजार ३४ र प्रहरी कार्यालय सहयोगीले २६ हजार ३ सय ४८ रुपैयाँ तलब पाउँछन् । प्रहरीमा सबैभन्दा बढी जनशक्ति वरिष्ठ हवल्दारदेखि जवान अर्थात सिपाहीसम्मको छ र सबैभन्दा कम तलब उनीहरुकै छ । यो तलबले घर धान्न, छोराछोरी पढाउन तथा जीवनस्तर सुधार्न नसकिने उनीहरुको गुनासो छ । यो त तलबको कुरा भयो । प्रहरीले दैनिक रुपमा रासन खर्च पनि पाउँछन् तर, सरकारले दिने रासन खर्चले महिनाभर खाना खानै नपुग्ने उनीहरु नै बताउँछन् । मुलुकमा तीन वटा सुरक्षा अंग छन्, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी । यी तीनमध्ये सबैभन्दा कम दैनिक रासन भत्ता प्रहरीको छ । सशस्त्र प्रहरी र आर्मीको भन्दा बढी दैनिक ड्यूटी हुने भए पनि प्रहरीको रासनभत्ता सशस्त्रको भन्दा कम छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने रासनभत्ता जिल्लापिच्छे फरक हु्न्छ । एउटै जिल्लामा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि पनि तोकिएको रासनभत्ता फरक छ । जस्तै काठमाडौं उपत्यकामा कार्यरत सशस्त्र प्रहरीले दैनिक २ सय ३ रुपैयाँ रासनभत्ता पाउँछन् भने नेपाल प्रहरीले २ रुपैयाँ कम अर्थात २ सय १ रुपैयाँ मात्रै पाउँछन् । सबैभन्दा बढी फरक अछाममा छ, जहाँ नेपाल प्रहरीको एक दिनको रासन भत्ता २५८ रुपैयाँ ७५ पैसा छ भने सशस्त्र प्रहरीको ३४३ रुपैयाँ ८५ पैसा छ । अझै भनौं, यो दररेट पनि २०७८ सालको हो । यी तीन वर्षमा महँगी कहाँबाट कहाँ पुगिसक्यो, प्रहरीको रासन खर्च ज्युँका त्युँ छ । यो खर्चले तोकिएको क्यालोरीको त के कुरा, अठार घण्टा ड्युटी गर्ने प्रहरीलाई पेटभरी खानसमेत नपुग्ने उनीहरुको गुनासो छ ।

    जागिर छाडेर विदेसिन्छन प्रहरी ?

    नियमित वा अनिवार्य अवकास पाउनेभन्दा बढी प्रहरीले बर्सेनि जागिर छाड्छन् । आर्मी र सशस्त्र प्रहरीतर्फ पनि यस्तै छ । जागिर छाडेका सुरक्षाकर्मी कहाँ जान्छन् त ? आफ्नै छुट्टै पेशा व्यवसाय गर्ने अत्यन्त कम हुन्छन्, अधिकांश वैदेशिक रोजगारीमा जान्छन् । केही देशभित्रै खुलेका निजी सुरक्षा कम्पनीमा भर्ना हुन्छन् । नेपाल आर्मीमा तीन वर्ष जागिर खाएका स्याङ्जाका हरि अर्याल गत वर्ष रुस पुगे । रुसी सेनामा भर्ती भएका उनी केही महिनामै युक्रेनसँगको युद्धमा मारिए । उनीजस्तै, आर्मी र पुलिसको जागिर छाडेर रुस पुग्नेहरु थुप्रै रहेको रुस पुगेर फर्केकाहरुले बताउने गरेका छन् । नेपालका सुरक्षा निकायमा काम गरिसकेकाले विदेशमा कम्तीमा सुरक्षागार्डको जागिर सजिलै पाउने उनीहरुकै अनुभव छ । हिजोआज नेपालमै पनि निजी सुरक्षा कम्पनी खोल्ने होड बढेको छ । स्कुल, कलेज, हस्पिटल, उद्योग, कलकारखाना निजी व्यावसायिक कम्पनी लगायतले सुरक्षा गार्ड राख्छन् र ती सुरक्षा गार्ड निजी कम्पनीहरुले उपलब्ध गराउँछन् । यसरी निजी कम्पनीमा काम गर्ने अधिकांश सुरक्षागार्ड भूपू प्रहरी वा आर्मी हुन्छन् । उच्च अधिकृतबाट निस्केका वा अवकास पाएकाहरुले त आफैंले पनि निजी कम्पनी सन्चालन गरेका छन् । केही अधिकृतहरु युरोप, अमेरिका, अस्ट्रेलिया पुगेका छन् ।

    प्रहरीको जागिर छाडेर राजनीति

    तत्कालीन सरकारले सर्वेन्द्र खनाललाई आईजीपी नियुक्त गरेपछि उनका प्रतिस्पर्धी डीआईजी रमेश खरेलले राजीनामा दिए । खरेलको दाबी थियो– राजनीति हाबी भयो, योग्यताको कदर भएन । संयोग पछि यी दुवै राजनीतिमा होमिए । रमेश खरेलको पार्टीको नाम हो, नेपाल सुशासन पार्टी । २०७९ सालको चुनावमा खरेल काठमाडौं १ मा उम्मेदवार बने । काठमाडौंमा हारेका खरेल उपचुनावमा पार्टी फेरेर रास्वपाबाट बारा २ मा उम्मेदवार बने, त्यहाँ पनि हारे । पहिले कांग्रेस पृष्ठभूमिका सर्वेन्द्र खनाल २०७९ कै चुनावमा एमालेबाट काठमाडौं ६ मा उम्मेदवार बने । खनाल पनि हारे । एमालेले उपचुनावमा खनाललाई तनहुँमा उम्मेदवार बनायो । तनहुँ उनकै गृहजिल्ला पनि हो । तर, त्यहाँ पनि हारे । खनालले एमाले त छाडिसकेका छैनन् तर, नयाँ वैकल्पिक शक्तिको खाँचो औंल्याइरहेका छन् । सायद अर्को नयाँ दल खोल्ने उनको भित्री योजना छ ।
    उता, आईजीपी हुन नपाएरै प्रहरी छाडेका नवराज सिलवाललाई २०७४ को चुनावमा एमालेले ललितपुर १ मा उम्मेदवार बनायो, सिलवालले जिते । २०७९ को चुनावमा पनि सिलवाल उम्मेदवार थिए । अघिल्लो चुनावमा सिलवालले कांग्रेसका उदयशमशेर राणालाई हराएका थिए, पछिल्लो चुनावमा राणाले सिलवाललाई हराए । त्यसो त पुलिसबाट रिटायर्ड भएर वा छाडेर राजनीतिमा होमिएका थुप्रै व्यक्ति छन् । पूर्वआईजीपी ध्रुवबहादुर प्रधान अहिले राप्रपाबाट सांसद छन् । उनी यसअघि पनि पटक पटक सांसद र मन्त्री भइसकेका छन् । पूर्वआईजीपी रविन्द्रप्रताप शाहलाई त माओवादीले नै संविधानसभा सदस्य बनायो । जतिबेला माओवादी युद्धमा थियो, त्यतिबेला शाह प्रहरीको उच्च पदमा थिए । डीआईजीबाट रिटायर्ड भक्तिनाथ माझी अहिले कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

    प्रहरीमा राजनीतिक हस्तक्षेपको शृंखला

    दुःखका साथ भन्नुपर्छ, नेताको दौराको फेरो समातेर प्रहरीको नेतृत्वमा पुग्न चाहने र आफ्नो इशारामा मात्रै काम गर्नेलाई प्रहरीको नेतृत्व सुम्पन खोज्नेहरुका कारण प्रहरीमा राजनीतिक हस्तक्षेप मौलाएको हो । पार्टी नयाँ हुन् कि पुराना, प्रहरीमा हस्तक्षेप नगर्ने कोही छैनन् । खासगरी जब नेपालमा बहुदल आयो, नेताहरुको ध्यान प्रहरीमा केन्द्रित भयो । २०४९ मा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले रत्नशमशेर जबरालाई हटाएर मोतीलाल बोहोरालाई आईजीपी बनाए । २०५३ सालमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले त अच्युतकृष्ण खरेलको फुली खोसेर ध्रुवबहादुर प्रधानलाई लगाइदिए । २०६२, ६३ को आन्दोलनपछि रोलक्रममा रहेका राजेन्द्रबहादुर सिंहलाई पाखा लगाउँदै ओमविक्रम राणालाई महानिरीक्षक बनाइयो । २०७३ पछि त प्रहरीको बढुवा प्रकरण सर्वोच्च अदालत नै पुग्न थाल्यो । रवि लामिछाने पछिल्लो पटक गृहमन्त्री बन्दा त बहालवाला आईजीपी हटाएर अर्कोलाई आईजीपी बनाउने खेल चलेको थियो । लामिछानेले आईजीपी वसन्त कुँवर विदेश भ्रमणमा रहेकै बेला उनलाई हटाएर श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउन खोजेका थिए । त्यतिबेलाका सत्तासाझेदार माओवादी र एमालेले सहमति नदिएकाले लामिछानेको योजना विफल भएको थियो । अहिले गृहमन्त्री छन्, रमेश लेखक । लेखकले पनि प्रहरीको सरुवा बढुवामा चासो देखाइरहने प्रहरी अधिकारीहरु बताउँछन् ।

    हस्तक्षेपले प्रहरी बदनाम

    नागरिकसँग जोडिने पहिलो सुरक्षा अंग हो, नेपाल प्रहरी । सडकमा ट्राफिक व्यवस्थापनदेखि सिंगो मुलुकको शान्ति सुरक्षा व्यवस्थापनको दायित्व प्रहरीकै हो । तर, यही प्रहरी सरकारको तजबिजमा चलिरहेको छ । वर्षौंदेखि नियमावलीका भरमा प्रहरीको खटनपटन चलेको छ । सत्तामा पुग्नेहरुले आफूअनुकूल प्रहरी परिचालन गरिरहेका छन् । आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि प्रहरीले नेता, मन्त्री र प्रधानमन्त्रीको मुख ताक्नु परेको छ । आफ्नो स्वार्थअनुसार परिचालन गरेर प्रहरीलाई बदनाम गर्ने काम अब रोकिनुपर्छ । भर्ना, तालिम, सरुवा तथा बढुवामा राजनीतिक हस्तक्षेप रोकिनुपर्छ, मुलुकमा कानुनी शासन कायम गरिनुपर्छ । यो सामाग्री टफटक स्प्लेनरबाट लिइएको हो ।

    Post Views: 328
    प्रकाशित मिति: २०८१ पुष १४, आईतवार ०८:१६
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.