अमेरिकाको कोलम्बिया विश्वविद्यालयले मे २०२५ को सुरुमा भएको प्रोप्यालेस्टेनी समर्थनमा पुस्तकालय प्रदर्शनमा संलग्न दर्जनौं विद्यार्थीहरूलाई कारबाही गरेको जनाएको छ । प्रदर्शनपछि विश्वविद्यालयले नियम उल्लंघनबारे अनुसन्धान गर्दै सहभागीहरूलाई क्याम्पसबाट निष्कासन गरी अस्थायी रूपमा निलम्बन गरेको थियो । मंगलबार सार्वजनिक गरिएको निर्णयअनुसार कारबाहीमा प्रोबेसन (परीक्षणकाल), १ देखि ३ वर्षसम्मको निलम्बन, डिग्री रद्द, र विश्वविद्यालयबाट निष्कासनसम्म रहेका सिएनविसि र गार्जियन समाचारले जनाएको छ ।

उक्त विरोध प्रदर्शनपछि कम्तीमा ८० जना पक्राउ परेका थिए । तर, कोलम्बिया विश्वविद्यालयले कुनै पनि विद्यार्थीको व्यक्तिगत अनुशासनात्मक नतिजा सार्वजनिक नगर्ने बताएको छ । तर, बटलर लाइब्रेरीबाट हुने दण्डात्मक कदमहरूमा प्रतिबन्ध निलम्बन एक वर्षदेखि तीन वर्षसम्म, डिग्री रद्द र निष्कासन समावेश भएको बताइएको छ ।
यसबारे जानकार स्रोतले एनबीसी न्यूजलाई बताएअनुसार निलम्बित विद्यार्थीहरूमध्ये दुई तिहाइलाई दुई वर्षका लागि निलम्बन गरिएको छ । विद्यार्थी समूहले कारबाहीको पत्रहरूमा निलम्बित विद्यार्थीलाई क्याम्पसमा फर्कन विश्वविद्यालय सामु माफी माग्नुपर्ने बताइएको दाबी गरेको छ । अन्यथा निष्कासनको सामना गर्नुपर्ने बताएको छ । “हाम्रो संस्थाले हाम्रो समुदायको लागि शैक्षनिक मिसन पूरा गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ,” मंगलबारको आफ्नो विज्ञप्तिमा कोलम्बिया विश्वविद्यालयले भनेको छ “शैक्षिक गतिविधिहरूमा अवरोध विश्वविद्यालयको नीति र नियमहरूको उल्लंघन हो र यस्ता उल्लंघनहरूले अनिवार्य रूपमा परिणामहरू निम्त्याउनेछ ।” यो अनुशासनात्मक कारबाही ट्रम्प प्रशासनले विश्वविद्यालयलाई सयौँ मिलियन डलरको संघीय अनुसन्धान अनुदान कटौती गरेको केही महिनापछि आएको हो ।





