गतहप्ता भेनेजुएलामा भूकम्पमा परी बेपत्ता हुनेहरुको सख्या ५१ हजारभन्दा बढी अनुमान गरिएको छ । साथै मृत्यु हुनेको संख्या ९२० पुगेको स्थानी सरकारले जनाएको छ । गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९ सय २० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेसले जनाएको छ। भूकम्पमा परी ५१ हजार भन्दा बढी मानिसहरू बेपत्ता भएको पनि एपीले जनाएको छ। त्यो सख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्पमा ठुल्ठूला भवनहरू भग्नावशेषमा परिणत भएको छ। सरकारी उद्धार टोलीको अभाव हुँदा नागरिकहरू आफै भग्नावशेष पन्छाएर आफन्तको खोजीमा जुटेका छन्। उद्धार कार्यमा ढिलाइ हुँदा अझै भग्नावशेषमा जीवित फसेका मानिसहरूलाई बचाउने सम्भावना घट्दै गएको स्थानीयलाई उद्धृत गरेर एपीले लेखेको छ।
शुक्रबार राति सरकारले सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा प्रवेशमा कडाइ गरेको छ। उद्धार कार्यमा भीडभाड र ट्राफिकले अवरोध पुर्याउन थालेपछि सरकारी अनुमति बिना उक्त क्षेत्रमा प्रवेश गर्न नपाइने घोषणा गरिएको छ। ला गुआइरामा आफ्ना परिवारका सदस्यहरूको खोजी गरिरहेकी नाजारेथ जिमेनेजले सरकार र अन्तर्राष्ट्रिय समुदायसँग भारी उपकरण उपलब्ध गराइदिन आग्रह गरेकी छन्।
‘हामी सरकार र विश्वका सबै देशसँग सहयोगको अपिल गर्छौं। भत्किएका संरचना हटाउन सक्ने मेसिन चाहिएको छ। त्यहाँ अझै मानिसहरू जीवित छन्,’ उनले भनिन्।
सरकारले प्रभावित क्षेत्रमा खाना, पानी र अन्य राहत सामग्री वितरण भइरहेको जनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले जीवित उद्धारलाई प्राथमिकता दिइएको बताउँदै विश्वभरबाट उद्धार टोली र मानवीय सहायता आइरहेको जानकारी दिइन्। उनले ला गुआइरामा सुरक्षा बल परिचालन गरिएको र थप सहायता बाटोमै रहेको पनि बताइन्। तर स्थानीय बासिन्दाले उपलब्ध सहयोग आवश्यकताको तुलनामा निकै कम रहेको बताएका छन्। भूकम्पपछि घाइते हुनेको संख्या ३ हजार ३०० नाघेको छ भने हालसम्म २४३ जनाको जीवित उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्। यद्यपि बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।




