सन् २०२६ संयुक्त राज्य अमेरिकाका लागि केवल एउटा वार्षिकोत्सव होइन, इतिहासको एउटा महत्त्वपूर्ण मोड पनि हो। जुलाई ४ मा अमेरिकाले स्वतन्त्र राष्ट्रका रूपमा स्थापना भएको २५० वर्ष पूरा गर्दैछ। विश्व इतिहासमा निकै कम राष्ट्रहरूले यति छोटो अवधिमा यति ठूलो राजनीतिक, आर्थिक, वैज्ञानिक र सैनिक प्रभाव स्थापित गर्न सफल भएका छन्। १३ वटा ब्रिटिश उपनिवेशबाट सुरु भएको राष्ट्र आज विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रहरूमध्ये एक, सबैभन्दा प्रभावशाली सैन्य शक्ति, प्रविधि र नवप्रवर्तनको केन्द्र तथा अन्तर्राष्ट्रिय कूटनीतिक व्यवस्थाको प्रमुख स्तम्भ बनेको छ।

अमेरिकाको इतिहास केवल सफलताको कथा होइन। यो आदर्श र यथार्थबीचको संघर्ष, स्वतन्त्रता र विभेदबीचको द्वन्द्व, लोकतन्त्र र ध्रुवीकरणको परीक्षण तथा निरन्तर आत्मसुधारको यात्रा पनि हो। त्यसैले २५०औँ स्थापना दिवस अमेरिकाका लागि उत्सव मात्र होइन, विगतको समीक्षा र भविष्यको मार्गचित्र तयार गर्ने अवसर पनि बनेको छ।
अमेरिकाको औपचारिक इतिहास सन् १७७६ जुलाई ४ बाट सुरु हुन्छ। त्यस दिन १३ वटा ब्रिटिश उपनिवेशले बेलायतबाट स्वतन्त्रताको घोषणा गर्दै मानव इतिहासकै प्रभावशाली राजनीतिक दस्तावेजमध्ये एक सार्वजनिक गरेका थिए । त्यस घोषणाले एउटा क्रान्तिकारी सिद्धान्त अघि सार्यो—सबै मानिस जन्मजात समान हुन् र उनीहरूलाई जीवन, स्वतन्त्रता तथा सुखको खोजी गर्ने अधिकार प्राप्त हुन्छ।
यो विचारले त्यसबेलाको राजतन्त्रात्मक विश्व व्यवस्थालाई चुनौती दियो। त्यसपछि सम्पन्न स्वतन्त्रता युद्धले अमेरिकी राष्ट्र निर्माणको आधार तयार गर्यो। केही वर्षपछि जारी गरिएको संविधानले शक्तिको सन्तुलन, संघीय शासन प्रणाली, स्वतन्त्र न्यायपालिका र नागरिक अधिकारलाई संस्थागत गर्यो। आज पनि अमेरिकी संविधान विश्वकै सबैभन्दा पुरानो कार्यान्वयनमा रहेको लिखित संविधानमध्ये एक मानिन्छ।
अमेरिकाले स्वतन्त्रताको घोषणा गर्दा समानताको सिद्धान्त प्रस्तुत गर्यो, तर व्यवहारमा त्यो सबैका लागि लागू भएको थिएन। लाखौँ अफ्रिकी मूलका मानिस दास थिए। महिलाहरू राजनीतिक अधिकारबाट वञ्चित थिए। आदिवासी समुदायहरू आफ्नो पुर्ख्यौली भूमिबाट विस्थापित भइरहेका थिए। यो विरोधाभासले अमेरिकी इतिहासलाई लामो समयसम्म पछ्यायो। सन् १८६१–१८६५ को गृहयुद्ध अमेरिकी इतिहासकै सबैभन्दा रक्तपातपूर्ण युद्ध बन्यो। युद्धपछि दासप्रथा अन्त्य भयो, तर समानताको संघर्ष समाप्त भएन। त्यसपछि पनि करिब एक सय वर्षसम्म जातीय विभेद कानुनी तथा सामाजिक संरचनामा कायम रह्यो।
बीसौँ शताब्दीको नागरिक अधिकार आन्दोलनले अमेरिकी लोकतन्त्रलाई नयाँ दिशा दियो। विद्यालय, सार्वजनिक सेवा, मतदान अधिकार र रोजगारीमा रहेको कानुनी विभेद हटाइयो। तर आज पनि प्रहरी हिंसा, आय असमानता, शिक्षा तथा स्वास्थ्य सेवामा देखिने जातीय अन्तरले अमेरिकी समाजमा समानताको बहस समाप्त नभएको स्पष्ट पार्छ।
अमेरिकालाई राष्ट्रहरूको राष्ट्रू पनि भनिन्छ। युरोप, एशिया, अफ्रिका र ल्याटिन अमेरिकाबाट आएका करोडौँ आप्रवासीहरूले अमेरिकी समाज, संस्कृति र अर्थतन्त्र निर्माण गरेका छन्। रेलमार्ग निर्माणदेखि आधुनिक कृत्रिम बुद्धिमत्ता विकाससम्म, आप्रवासीहरूको योगदान उल्लेखनीय छ। विश्वका धेरै नोबेल पुरस्कार विजेता, वैज्ञानिक, चिकित्सक, उद्यमी र प्रविधि कम्पनीका संस्थापकहरू आप्रवासी वा आप्रवासी परिवारका सदस्य हुन्।
नेपाली समुदाय पनि यस यात्राको हिस्सा बनेको छ। पछिल्ला तीन दशकमा हजारौँ नेपाली विद्यार्थी, स्वास्थ्यकर्मी, इन्जिनियर, वैज्ञानिक, व्यवसायी तथा उद्यमीहरूले अमेरिकी समाजमा आफ्नो स्थान बनाएका छन्। नेपाली मूलका निर्वाचित जनप्रतिनिधिहरूको संख्या पनि विस्तारै बढ्दै गएको छ। तर आप्रवासन अमेरिकाको सबैभन्दा विवादास्पद राजनीतिक विषय पनि बनेको छ। सीमा सुरक्षा, अवैध आप्रवासन, शरणार्थी नीति र विदेशी विद्यार्थीसम्बन्धी नियमहरूमा हुने परिवर्तनले अमेरिकी राजनीतिलाई गहिरो रूपमा प्रभावित गर्दै आएको छ।
उन्नाइसौँ शताब्दीको अन्त्यतिर अमेरिका तीव्र औद्योगिकीकरणतर्फ अघि बढ्यो। रेलमार्ग, इस्पात उद्योग, तेल, विद्युत् र उत्पादन क्षेत्रमा भएको विस्तारले केही दशकभित्रै अमेरिकालाई विश्वकै प्रमुख औद्योगिक अर्थतन्त्र बनायो। दोस्रो विश्वयुद्धपछि यो शक्ति अझ विस्तार भयो। युरोप युद्धबाट थाकेको थियो। जापान पुनर्निर्माणको चरणमा थियो। यस्तो अवस्थामा अमेरिकाले आर्थिक सहायता, सुरक्षा साझेदारी र अन्तर्राष्ट्रिय संस्थाहरूको निर्माणमार्फत नयाँ विश्व व्यवस्था निर्माणमा नेतृत्व गर्यो। आज पनि संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार प्रणाली र अन्तर्राष्ट्रिय सुरक्षा संरचनामा अमेरिकी प्रभाव स्पष्ट देखिन्छ।
दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघबीच सुरु भएको शीतयुद्धले लगभग आधा शताब्दी विश्व राजनीतिलाई नियन्त्रण गर्यो। यो प्रतिस्पर्धा केवल सैनिक शक्ति वा परमाणु हतियारमा सीमित थिएन। अन्तरिक्ष अनुसन्धान, विज्ञान, प्रविधि, खेलकुद, अर्थतन्त्र र विचारधारामा पनि प्रतिस्पर्धा भयो। सन् १९६९ मा चन्द्रमामा पहिलो मानव अवतरण अमेरिकाको वैज्ञानिक नेतृत्वको प्रतीक बन्यो। त्यस उपलब्धिले विज्ञान र अन्तरिक्ष अनुसन्धानमा नयाँ युगको सुरुवात गर्यो।
यदि बीसौँ शताब्दी अमेरिकाको औद्योगिक शक्तिको युग थियो भने एक्काइसौँ शताब्दी डिजिटल शक्तिको युग बनेको छ। विश्वका प्रमुख प्रविधि कम्पनीहरू, कृत्रिम बुद्धिमत्ता अनुसन्धान, जैविक प्रविधि, अन्तरिक्ष व्यवसाय, क्लाउड कम्प्युटिङ, सामाजिक सञ्जाल र डिजिटल वित्तीय प्रणालीमा अमेरिकाले अग्रणी भूमिका खेलेको छ। विश्वभरका उत्कृष्ट प्रतिभाहरू अमेरिकी विश्वविद्यालय र अनुसन्धान केन्द्रतर्फ आकर्षित हुनुको प्रमुख कारण खुला अनुसन्धान वातावरण, लगानी र उद्यमशीलताको संस्कृति हो।





