उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका एक किशोर विगत चार दिनदेखि वेपत्ता भएपछि परिवार र आफन्तजनहरु चिन्तित भएका छन् । उनीहरुले खोजीकार्य अघि बढाउनका लागि सरकारी निकाय तथा संघसंस्थाहरुसँग आग्रह गरेका छन् ।

विदुर नगरपालिका डेउडी घर भएर हाल काठमाडौं गोलढुङ्गाका कुशल अर्याल टेक्ससको फोर्टवर्थबाट बिहीबारदेखि हराएका छन् । केही महिना अघिमात्र युटाह राज्यबाट टेक्सस सरेका अर्याल के कारणले बेपत्ता भए ? कहाँ छन् ? भन्ने बारेमा सँगै बसेका साथी र परिवारका सदस्यहरु समेत बेखबर छन् ।
नजिकका साथीसँग रुम शेयरिङ्गमा बस्दै आएका उनी साथी घरमा नभएको मौका पारेर निस्किएको बताइएको छ । स्रोतका अनुसार केही दिनदेखि तनावमा देखिएका र नेपालमा रहेकी दिदी र परिबारसँग पनि त्यस्तै व्यबहार गर्दै आएको बताईन्छ । २० बर्षिय अर्याल अर्भिङ्गस्थित नर्थलेक कलेजमा एसोसियट डिग्री अध्ययनरत थिए ।





