विश्वव्यापी रूपमा युवा बेरोजगारीदर सन् २०२५ मा बढेर १२.४ प्रतिशत पुगेको छ । कमजोर आर्थिक वृद्धि, भू–राजनीतिक तनाव र रोजगारी सिर्जनाको सुस्त गतिका कारण १५ देखि २४ वर्ष उमेर समूहका युवाका लागि जागिर पाउन कठिन भएको हो । यो दर सन् २०२३ मा १२.३ प्रतिशत थियो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल इम्प्लोयमेन्ट ट्रेन्ड्स फर युथ २०२६ : ब्याक टु द फ्युचर’ प्रतिवेदनले यस्तो जानकारी दिँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले आगामी दिनमा श्रम बजारमाथिको दबाब अझ बढाउन सक्ने चेतावनी दिएको छ ।
आईएलओका अनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवाले गरिरहेका ६.१ प्रतिशत रोजगारी एआईका कारण हुने परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने श्रेणीमा छन् ।
यसैबीच आईएलओले रोजगारीको अभावबाट उत्पन्न आक्रोश राजनीतिक अशान्तिमा परिणत हुन सक्ने चेतावनी दिएको छ ।
नेपाल, बंगलादेश र श्रीलंकाको सन्दर्भलाई उद्धृत गर्दै आईएलओले रोजगारीको सम्भावनालाई लिएर युवाहरूमा बढ्दै गएको निराशाको सन्दर्भमा चर्चा गरेको छ । नेपाललाई यस्तो व्यापक प्रवृत्तिको उदाहरणका रूपमा प्रतिवेदनमा प्रस्तुत गरिएको छ । प्रतिवेदनले यसलाई सन् २०२४ र २०२५ मा केन्यामा भएका ‘जेनजी’ विरोध प्रदर्शनसँग रूपमा तुलना गरेको छ ।
युवाका लागि उपलब्ध रोजगारीको संख्यासँगै त्यसको गुणस्तरमा पनि गिरावट आएको बताइएको छ । करिब २० प्रतिशत युवा न त रोजगारीमा छन्, न अध्ययनमा र न कुनै तालिममा नै संलग्न छन् । कम तथा निम्न–मध्यम आय भएका देशमा करिब १० मध्ये ९ जना युवा कामदार अनौपचारिक रोजगारीमा संलग्न छन् ।
अरब देशहरूमा युवा बेरोजगारीदर सबैभन्दा बढी २६.२ प्रतिशत रहेको छ भने उत्तरी अफ्रिकामा यो दर २२.६ प्रतिशत छ ।
विकसित अर्थतन्त्र भएका देशमा पनि स्थिति बिग्रिएको छ । उत्तरी अमेरिकामा युवा बेरोजगारी दर सन् २०२३ को ८.३ प्रतिशतबाट बढेर सन् २०२५ मा ९.८ प्रतिशत पुगेको छ । यस्तै, उत्तरी, दक्षिणी र पश्चिमी युरोपमा यो दर १५ प्रतिशत रहेको छ । भारतमा भने युवा बेरोजगारी दर १६.०२ प्रतिशत रहेको छ । प्रतिवेदनले नेपालका लागि छुट्टै युवा बेरोजगारीको तथ्यांक भने दिएको छैन ।





