किरीबास नामको एक टापु देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो देशसंग कूटनीतिक सम्बन्ध स्थापना गरेपछि नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या एक सय ८३ पुगेको संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बताए । किरिबास प्रशान्त महासागरको मध्यभागमा अवस्थित रहेको देश हो । जुन देशमा अष्ट्रेलियन डलर प्रयोगमा आउँछ ।


न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा उक्त नियोगमा आयोजित एक संक्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गरेका हुन ।
साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गरेका छन । त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुुलुकका विकासका विषय, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गरेको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। किरीबास १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको सदस्य भएको देश हो यसको जनसङ्ख्या एक लाख १९ हजार छ भने यो टापु राष्ट्र हो ।




