आखिर देश के हो र आफ्नो जन्मभुमिको महत्व कति छ भन्ने कुरा यदि कसैलाई महसुश भएको छ भने यतिखेर अमेरिकामा रहेका नेपाली भाषी भुटानीलाई भएको हुनुपर्दछ । नेपाली भाषा बोलेकै आधारमा भुटानबाट लखेटिएका नेपाली भाषी भुटानीहरु देश छोडेर नेपालमा शरण लिन बाध्य भए । नेपालीमा पनि शरणार्थी जीवन सजिलो कहाँ हुन्छ र नरकीय जीवन बिताएका भुटानीहरु अन्तराष्ट्र्रिय सहयोगका कारण अमेरिका पुगे । अमेरिका पुगे पनि उनिहरु पुर्ण रुपमा स्थापित नहुँदै विभिन्न अपराध कर्म गरेको नाममा अमेरिकी सरकारले दुई दर्जनभन्दा बढी पक्राउ गरिसकेको छ भने केहिलाई डिर्पोट पनि । केहि अझै डिर्पोटको प्रक्रियामा रहेको बताईन्छ । तर स्मरणीय कुरा डिर्पोट गर्ने कहाँ गर्ने भन्ने विषय जटिल थियो । अमेरिकी सरकारले भुटानलाई पत्र लेख्यो र डिपोर्ड गरिदियो । भुटानले डिपोर्ट गरिएकाहरु आफ्नो नागरिक नभएको भन्दै अस्वीकार गरेपछि फेरी जुन शरणबाट अमेरिका आएका थिए उनिहरु त्यहि शरण लिन बाध्य भएका छन ।

विभिन्न समाचार माध्यमहरुका अनुसार अमेरिकी अध्यगमनले भुटानको न्यूयोर्कस्थित कन्सुलेटमा तीनवटा इमेल र पाँचवटा फोन कलहरू गरेर अमेरिकामा रहेका भुटानी शरणार्थीहरु डिपोर्ट गर्ने जानकारी गराउँदा भुटानको कन्सुलेटबाट कुनै जवाफ नआउँदै डिर्पोट गरिएको डब्लुआईतिएफ डट ओआरजीले जनाएको छ । यसको मतलव भुटानले आफ्नो नागरिक नभएको कारण डिपोर्ट अस्वीकार गरेको थियो । तैपनि अमेरिकाले भारतको नयाँ दिल्ली हुँदै भुटानको पारो विमानस्थलमा झारिदियो । भुटानपक्षले सम्बद्ध समाचार श्रोतका अनुसार त्यहाँ बस्न नमिल्ने भन्दै सिमानामा लगेर छोडेपनि उनिहरु नेपाल प्रवेश गरेको बताइएको छ ।
नेपाली भाषी भुटानी शरणार्थीहरूको भुटान पुग्दा कसरी व्यवहार गरिनेछ भन्ने डर डिपोर्ट हुने सुचना पाएसंगै नभएको होईन । अमेरिकाले डिपोर्ट गरेका भुटानी शरणार्थीलाई भुटान सरकारले भारतीय सीमाबाटै फर्काएपछि दमकको बेलडाँगी शिविरमा पुगेपछि प्रहरीले पक्राउ गरेको छ । भारतको दिल्ली हुँदै भुटानको पारो विमानस्थलमा अवतरण गरेका उनीहरू शनिवार दिउँसो झापा दमकको शिविरमा भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् ।
भुटानले तीन दशकअघि देश निकाला गरेका नागरिकलाई देशमा बस्न अनुमति दिएको छैन । पक्राउ परेका उनीहरूले भुटानमा बस्न नदिएपछि भारतीय भूमि हुँदै नेपाल आएको बयान प्रशासनलाई दिएका छन् । अमेरिकाबाट डिपोर्ट गरिएका भुटानी शरणार्थीले भारतको दिल्ली हुँदै भुटानको पारो विमानस्थलमा ओर्लिएको बयान दिएका छन् ।
भmपामा पक्राउ परेकाहरु ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई काँकडभिट्टा लगेर उतै फिर्ता पठाउने झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले जानकारी दिएका छन । अमेरिकाबाट चार जना भुटानी शरणार्थी डिपोर्ट भएका थिए । चार मध्ये तीन जना पक्राउ परे पनि अर्का एक जनाको खोजी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालय झापाले शुक्रवारदेखि नै निगरानी बढाएको थियो ।
भुटानी अधिकारीहरूले डिपोर्ट भएका शरणार्थीहरूलाई भारतको सीमावर्ती सहर जयगाउँमा पु¥याएर देश निकाला गरेपछि उनिहरु नेपाल गएको बताईन्छ । भारतीय सुरक्षा बलहरूले उनीहरूलाई नेपाल–भारत सीमामा रहेको सहर पानीट्याङ्कीमा ल्याईदिएको बताइएको छ । वैध यात्रा कागजात नभएका कारणले नेपाली सीमा अधिकारीहरूले उनीहरूलाई प्रवेश गर्न दिएनन् । यो मुख्य प्रश्न भन्दा पनि अब अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरुबीच त्राहिमाम बढेको छ । कारण जानीनजानी गरिने गल्तीहरुबाट अमेरिकी सरकारले डिपोर्ट गर्न थालेपछि आफ्नो गन्तव्य कहाँ हो अनिश्चित छ । लाखको हाराहारी रहेका भुटानीहरु अमेरिका आएको दशक वितिसके पनि कतिपयसंग अझै ग्रीन कार्डसमेत छैन । कारण उनिहरुले जुन प्रक्रियाबाट अमेरिका आए त्यसको नियमत एक बर्षभित्रमा गरेका कानुन उल्लंघनका कारण अझै स्थायी बसोबास नपाएका हुन । शरणार्थी भएर आउनेहरुलाई आउने वित्तिकै वर्क परमिट दिईन्छ र एकबर्षचित्र ग्रीन कार्ड प्रक्रियामा लैजान्छ । त्यहि परिक्षणकालमा अमेरिकी कानुन उल्लंघन गर्नेहरुले कार्ड पाएका छैनन । ग्रीन कार्ड भएकाहरु पुराना गल्तीमा सजाँय भोगी सकेपनि डिर्पोर्ट हुन थालेका छन । यसबाट के देखिन्छ भने आखिर देश विहिनहरुको देश कहि कतै छैन । यो एकाईसो शताब्दि हो । हामी भन्छौ ग्लोबलाईजेसनका कारण सम्पुर्ण पृथ्वी एउटै देश भन्ने बेलामा संसारभरका एक तिहाई मानिसको आफनो देश छैन ।
संसारभर आप्रवासन एक विकास चुनौती हो । विश्वको कुल जनसंख्याको २.३ प्रतिशत, अर्थात् लगभग १ एक अर्ब ८४ करोड भन्दा व्यक्ति, आफ्नो राष्ट्रियताको देश बाहिर बसोबास गर्दैछन् । तीमध्ये आधा भन्दा बढी व्यक्ति कम–राष्ट्रिय र मध्य–आय भएका देशहरूमा छन् । त्यसमा पनि पछिल्लो दशकमा शरणार्थीहरूको संख्या दुई गुणा भन्दा बढी वृद्धि भएको सयूक्त राष्ट्रसंघको एक अध्ययनले देखाएको छ । २०२२ को मध्यसम्म, विश्वभर लगभग ४० करोड मानिसहरु शरणार्थी जीवन यापन गरिरहेका छन । युद्ध वा जलवायू परिवर्तनका कारण यो क्रम झन बढ्दो छ । विश्व अर्थतन्त्रका असंतुलनहरू, भिन्न–भिन्न जनसांख्यिकी प्रवृत्तिहरू र जलवायु परिवर्तनसँग जुझिरहेको बेला आगामी दशकीय अवधिमा सबै आय स्तरका देशहरूका लागि यो गंभीर चुनौति बन्ने छ । त्यसमा पनि संसारभर शक्तिसम्पन्न मुलुकहरुले राष्ट्रिवादी नारा लिएर आप्रवासन कडाई गरी रहेको बेला शरणार्थी जस्तो विषय कष्टकर बन्ने निश्चित छ ।


