फिफा विश्वकप २०२६ छनोटअन्तर्गत सुरुवाती खेलमै चार पटकको विश्व च्याम्पियन जर्मनी स्तब्ध बन्नुपरेको छ । ब्रातिस्लाभामा भएको समूह ए को खेलमा जर्मनी घरेलु टोली स्लोभाकियासँग २–० ले स्तब्ध भयो ।

डेभिड ह्यान्कोले पहिलो हाफको अन्त्यतिर गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाए । ५५औं मिनेटमा डेभिड स्ट्रेलेकले शानदार गोल गर्दै अग्रता दोब्बर पारेका थिए । अन्त्यसम्म यही नतिजा भएपछि जर्मनीमाथि स्लोभाकियाको जित सम्भव भयो । स्लोभाकियाले सन् २०१० पछि विश्वकपमा स्थान बनाउन सकेको छैन ।
जर्मनीको प्रदर्शन पछिल्ला दुई विश्वकपमा निकै खराब थियो । २०१८ र २०२२ का विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । पूर्व र पश्चिम जर्मनीको एकता भएपछि १९९० र २०१४ मा विश्वकप उपाधि जितेको थियो भने एकता हुनअघि पश्चिम जर्मनीले १९५८ र १९७४ मा विश्वकप उपाधि जितेको थियो । जर्मनीले मंगलवार उत्तरी आयरल्यान्डविरुद्ध घरेलु मैदानमा खेल्नेछ ।
२०२६ को फिफा विश्वकप उत्तर अमेरिका महादेशअन्तर्गत अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा ४८ टोलीको सहभागिता हुनेछन् । यस विश्वकपका लागि आयोजकको रूपमा अमेरिका, क्यानडा र मेक्सीको पहिले नै छनोट भइसके भने प्रतिस्पर्धा गरेर छनोट हुनेमा एसियाबाट जापान, दक्षिण कोरिया, अस्टे«लिया, उज्वेकिस्तान, जोर्डन र इरान हुन् ।
यसै गरी दक्षिण अमेरिकाबाट पाँच पटकको विजेता ब्राजिल, तीन पटकको विजेता अर्जेन्टिनासहित कोलम्बिया, उरुग्वे, पाराग्वे र इक्वेडर छनोट भए । ओसियानाबाट न्युजिल्यान्ड आगामी विश्वकपमा छनोट भएको छ ।