तीन दिवसीय सिड्नी आध्यात्मिक महोत्सव सम्पन्न भएको छ। महोत्सवको अन्तिम दिन आइतबार बरउड पार्कमा भक्तजनहरू र दाताहरूको बाक्लो उपस्थिति थियो। महोत्सवको क्रममा १ सयभन्दा बढी दाताबाट २५ लाखभन्दा बढी अस्ट्रेलियन डलर संकलन भएको जिएसएनएमसीका अध्यक्ष विष्णु हमालले जानकारी दिए।

न्यु साउथ वेल्स राज्यका अवैतनिक नेपाली वाणिज्यदूत सन्जिव शर्मा, शर्मिला लुइँटेल, तथा एक्स्पर्ट एजुकेशन तथा भिसा सर्भिसका निर्देशक बद्री अर्याल र सम्झना अर्यालले संयुक्त रूपमा २ लाख १ हजार डलर प्रदान गरेका छन्। यो रकम नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियानमा हालसम्मको सबैभन्दा ठूलो दान हो।

यस्तै, साउथ वेल्स राज्यका पूर्ववाणिज्यदूत दीपक खड्का र उनकी श्रीमती लिसा खड्काले १ लाख १५ हजार १०० डलर दान गरेका छन्। एन्टा अष्ट्रेलियाका निर्देशक सुभांश साहले १ लाख ११ हजार १११ डलर सहयोग गरेका छन्। त्यसैगरी, घनश्याम चापागाईं र संगीता चापागाईंले १ लाख ६ हजार ६६६ डलर, डा। प्रविण पाठक र सुनिता गिरीले १ लाख १ हजार १११ डलर, जिएसएनएमसीका अध्यक्ष बिष्णु हमाल र सपना हमाल, उपाध्यक्ष उमेश पन्त र सिर्जना पन्तले आ–आफ्नो परिवारबाट १ लाख–१ लाख डलर योगदान गरेका छन्। साथै, किङ्सपर्ट इन्टरनेशनल स्कुलका सञ्चालक राज खनाल र लक्ष्मी खनालले १ लाख ५ सय १ डलर दान गरेका छन्।
तीन दिनसम्म चलेको महोत्सवमा अष्ट्रेलियाका विभिन्न पेसा र व्यवसायमा संलग्न नेपालीहरूले खुलेर योगदान गरेका थिए। संकलित रकमबाट बहुसांस्कृतिक केन्द्रले एक वर्षभित्र जग्गा खरिद गर्ने योजना रहेको आयोजकहरूले बताएका छन्। योसँगै,महोत्सवको अवसरमा एक हजारभन्दा बढीले आजीवन सदस्यता पनि लिएका छन्। सहयोग संकलन अभियानलाई निरन्तर जारी राखिने बताइएको छ।





